माईभ्याली गोल्डकप : संकटालाई हराउँदै सिक्किम क्‍वाटरफाइनलमा

राम योङहाङ

इलाम : सिक्किम युनाइटेड क्लब भारत इलाममा जारी चौथो अन्तरराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फूटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छ ।

शनिबार इलामको ठूलो टुँडीखेलमा भएको खेलमा संकटा क्लब काठमाडौंलाई १–० को कठिन जित निकाल्दै पाहुना टिम सिक्किमले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

प्रतिष्पर्धात्मक खेलमा ३१ औं मिनेटमा नै सिक्किमका सञ्जय क्षेत्रीले गोल गरी अग्रता दिलाएका थिए । पहिलो हाफमा विपक्षीलाई दवावमा राख्न सफल सिक्किमको उत्कृष्ठ प्रहार संकटाका गोलरक्षक विनय श्रेष्ठले बचाउ गरेका थिए ।

दोश्रो आफमा संकटा खेलमा फर्कन कोसिस गरेको थियो । उसले आक्रमक शैलीमा खेल प्रदर्शन गर्यो । विपक्षीलाई दवावमा राख्न सफल संकटाले दर्जन बढि अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो चरणबाटै बाहिरिन बाध्य बन्यो ।

खेलमा सिक्किमका गोलरक्षक उर्गेन पिनेसो शेर्पा म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ र चाँदीको मेडल प्राप्त गरे ।

सिक्किमले अब १२ वैशाखमा विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको सामना गर्नुपर्नेछ ।

प्रतियोगिता अन्तरगत आईतबार दुर्गापुर स्टिल टिएसवाई क्लब भारत र विभागीय टिम नेपाल पुलिस क्लब क्लबबीच प्रतिष्पर्धा हुनेछ ।

१७ वैशाखसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत र बंगलादेशकाका गरी १२ टोलीको सहभागिता छ । माइभ्याली फुटबल क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताका विजेताले नगद ६ लाख ६६ हजार ६ सय ६७ र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

२०७१ सालमा सुरु माईभ्याली गोल्डकप पुरस्कार र धनराशिका हिसाबले पूर्वी पहाडकै प्रतिष्ठित प्रतियोगिता हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार