
इलाम : इलामको माङसेबुङ गाउँपालिकामा सञ्चालित १६ औं संस्करणको पवित्रहाङमा गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधि दारिम्बा फुटबल क्लब पाँचथरले जितेको छ ।
आज (शनिबार) माङसेबुङ गाउँपालिका-५ स्थित प्रस्तावित आत्मानन्द रङ्शालामा भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन जनता सेभेन स्पोर्ट्स क्लब इलामलाई ४-२ गोलको अन्तरले पराजित गर्दै दारिम्बाले उपाधि हात पारेको हो ।
दारिम्बाका लागि स्मिता लिम्बूले दुई तथा सलिना कोइराला र सुजिता तामाङले एक-एक गोल गरिन् । जनता सेभेनका तर्फबाट रेखा विष्ट र कल्पना जिम्बाले समान एक-एक गोल फर्काइन् ।
खेलको दोस्रो मिनेटमै जनता सेभेनकी रेखा विष्टले पेनाल्टी क्षेत्रबाट गोल गर्दै टिमलाई अग्रता दिलाइन् । तर त्यो अग्रता धैरै समय टिक्न सकेन । सातौं मिनेटमा दारिम्बाकी स्मिता लिम्बूले हेडमार्फत गोल गरी खेल १-१ को बराबरीमा ल्याइन् । १४ औं मिनेटमा सलिना कोइरालाले गोल गर्दै दारिम्बालाई २-१ को अग्रता दिलाइन् । कमजोर रक्षापङ्तिको फाइदा उठाउँदै २२ औं मिनेटमा पुन: स्मिता लिम्बूले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर ३-१ बनाइन् । २९ औं मिनेटमा जनता सेभेनकी कल्पना जिम्बाले रिबाउन्ड बललाई सदुपयोग गर्दै अन्तर ३-२ मा झारिन् ।

पहिलो हाफमा एक गोलले पछि परेको जनता सेभेन दोस्रो हाफमा पनि लयमा फर्कन सकेन । ५३ औं मिनेटमा दारिम्बाकी गोलकिपर सुजिता तामाङले फ्रिकिकमार्फत गोल गर्दै टीमलाई ४-२ को अन्तरमा जित सुनिश्चित गरिन् ।
सुरुवाती अग्रता लिएपनि जनता सेभेन खेलअवधिभर दबाबमा रह्यो । दारिम्बाले निरन्तर आक्रमण गर्दै विपक्षी पोष्टमा बल पुर्याएको थियो भने जनता सेभेनका खेलाडीलाई बल नियन्त्रण र पास वितरणमा कठिनाइ परेको देखिन्थ्यो ।
उपाधिसँगै विजेता दारिम्बाले नगद तीन लाख ७० रुपैयाँसहित ट्रफी हात पार्यो । उपविजेता बनेको जनता सेभेनले नगद दुई लाख ७० रुपैयाँमा चित्त बुझायो ।
प्रतियोगिताको उत्कृष्ट गोलकिपर विजेता दारिम्बाकी सुजता तामाङ, उत्कृष्ट डिफेन्डर दारिम्बाकै मनिता तामाङ, उत्कृष्ट खेलाडी उपविजेता जनता सेभेनकी रेखा विष्ट, उदयीमान खेलाडी जनता सेभेनकै नविना श्रेष्ठ र सर्वाधिक गोलकर्ता जनता सेभेनकै सरिता नाथ (४ गोल) घोषित भइन् । उनीहरुले जनही नगद पाँच हजार ७० रुपैयाँसहित ट्रफि प्राप्त गरेको आयोजक आत्मापवित्र खेलकुद समितिका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।
स्थानीय किरात धर्मगुरुआमा पवित्रहाङमा साँवा (लिङदेन) को ७० औं जन्मोत्सवको अवसरमा माघ २५ गतेदेखि सञ्चालित प्रतियोगितामा नेपालको इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी एवम् भारत दार्जिलिङका गरी ८ महिला टोलीको सहभागिता रहेको थियो ।
भिडियो हेर्नुहोस् :



















































