परिवार नियोजनका साधनले बाँझोपन निम्तन्छ ?

केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ३० वर्ष भित्रै तीन वटा बच्चा जन्माउन सुझाव दिए। प्रधानमन्त्रीले यस्ता सुझाव दिए पनि कुनै पनि दम्पतीले कति बच्चा जन्माउने भन्ने निर्णय स्वयम्ले गर्ने गर्छन् ।

बच्चा जन्माउन नचाहने दम्पतीले परिवार नियोजनका अस्थायी र स्थायी साधन प्रयोग गरेर आफ्नो परिवारको योजना बनाइरहेका हुन्छन् । तर परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्दै गर्दा महिलाहरूमा विभिन्न समस्या देखिने गरेको छ ।
Shivam Cement
  • परिवार नियोजनको साधनले स्वास्थ्यमा केही असर गर्छ ? 

परिवार नियोजनको साधन प्रयोग गर्दा स्वास्थ्यमा कुनै पनि दीर्घकालीन असर गर्दैन ।

तपाईंले परिवार नियोजनको साधन पाँच वर्षसम्मको लागि डिपो वा इम्प्लान्ट लगाउनुभएको छ भने :

  • पाँच वर्षसम्म तपाईँको महिनावारी पाँच वर्षसम्मको लागि गडबड हुन सक्छ ।
  • महिनावारी हुन पनि सक्ने/नहुन सक्ने समस्या देखिन सक्छ ।
  • तीन महिनामा एक पटक मात्रै महिनावारी हुने लगायतका समस्या देखिन सक्छ ।
  • महिनावारी भयो भने लामो अवधिसम्म रगत बगिरहने हुन सक्छ ।

 

  • धेरै रगत बगेको अवस्थामा के गर्ने ? 

धेरै रगत बगेको अवस्थामा स्वास्थ्य संस्थामा तत्कालै जानुपर्छ । यदि एक घण्टामा दुई वटा र दुई घण्टामा चारवटा प्याड भिज्ने गरी रगत बग्यो भने तुरुन्त स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा जानुपर्ने हुन्छ । तर थोरै थोरै रगत देखा परेको छ भने यो सामान्य हो भन्ने बुझ्नु पर्छ ।

  • परिवार नियोजनका कुन-कुन साधन प्रयोग गर्दा मोटोपन बढ्न ?

डिपो, इम्प्लान्ट, पिल्स जस्ता परिवार नियोजनका साधन प्रयोग गर्दा तपाईँमा मोटोपन बढ्न सक्छ । तर कपर्टी राख्नुभयो भने मोटाइँदैन, तर कपर्टीले महिनावारी भएको समयमा बढी रगत बग्ने, वा महिनावारी भएको देखा पर्ने तर चार दिनपछि बढी रगत जाने जस्ता समस्या देखिन सक्छ । कसैलाई आठ दिन मात्रै महिनावारीमा रगत देखिने हुन्छ भने १२ दिनसम्म पनि रगत बग्ने समस्या हुन सक्छ । यो सामान्य हो । तर धेरै रगत बगेको खण्डमा जहाँबाट व्यक्तिले परिवार नियोजनको साधन प्रयोग गरेको छ त्यही गएर जाँच गराउनुपर्छ ।

  • परिवार नियोजनको साधन जहाँ प्रयोग गरेको छ, केही समस्या भएमा त्यहीँ जानुपर्छ ? 

पर्छ । किनभने कतिपय महिला मैले परिवार नियोजनको साधन प्रयोग गरेको छु भन्न लाज मान्ने गर्छन् । चिकित्सकहरूले किन समस्या भइरहेको छ भनेर थाहा पाइराखेका हुँदैनन् । जसका कारण अनावश्यक खर्च र औषधीको प्रयोग भइरहेको हुन्छ । त्यसैले परिवार नियोजन जुन स्थानमा गरेको त्यही गएर आफूलाई परेको समस्या राख्नु राम्रो हुन्छ ।

  • महिलाहरूले मात्रै परिवार नियोजनको साधन प्रयोग गरिरहेका हुन्छन् । पुरुषहरूले पनि परिवार नियोजनको साधन प्रयोग गरे अझै सहज हुन्थ्यो नि होइन ? 

नेपालमा महिलाहरूले प्रयोग गर्ने परिवार नियोजनको साधन बढी छ । पुरुषका लागि अस्थायी साधन भनेको कन्डम नै हो । कि त स्थायी परिवार नियोजन नै गर्नुपर्ने हुन्छ । जुन भनेको बन्ध्याकरण नै हो । पुरुष पार्टनरहरूले सुरक्षित तवरले कन्डम प्रयोग गर्दिनु भयो हर्मोनल परिवार नियोजनको साधन प्रयोग गर्न नमिल्ने महिलाहरूलाई सहज हुन्छ ।

  • परिवार नियोजनको साधनको विषयमा पुरुषले बुझ्नै पर्ने कुरा के हो ? 

कन्डम लगाएर सम्पर्क राख्यो भने यौन सम्बन्धमा सन्तुष्टि आउँदैन भन्ने भ्रम छ । तर त्यो गलत हो । यदि पुरुषहरूले कन्डमको प्रयोग गर्ने गरिदिनुभयो भने यौन जन्य सङ्क्रमणबाट जोगिन, महिला गर्भवती हुनबाट जोगिन सहयोग मिल्छ ।

  • परिवार नियोजनको साधनले अन्य के-के समस्या भयो भन्ने गुनासो आएको हुन्छ ? 

हर्मोनल परिवार नियोजनका साधन प्रयोग गर्नेहरूले महिनावारी गडबड भयो भन्ने समस्या लिएर आउनुहुन्छ । कतिपयले बाँझोपनको समस्या भएर समेत आउनुहुन्छ । तर कुनै पनि परिवार नियोजनको अस्थायी वा स्थायी साधनले बाँझोपना ल्याउँदैन र दीर्घकालीन रोगहरू निम्ताउँदैन ।

प्रत्येक परिवार नियोजनको साधनको धेरै फाइदा छ भने सामान्य साधारण असरहरू देखिन्छन् । तर पछिसम्म जटिलता भने निम्ताउँदैन । परिवार नियोजनको साधन प्रयोग गरेपछि केही समय भने बच्चा बस्न समय लाग्ने हुन सक्छ ।

कुन परिवार नियोजनको साधन प्रयोग गर्दा कति समयसम्म गर्भ बस्दैन ? 

तीन महिने डिपो लगाएका महिलाको गर्भ बस्न १२ देखि १८ महिना लाग्न सक्छ । किनभने डिपोले हर्मोनल परिवर्तन गरेको हुन्छ ।

  • इम्प्लान्ट प्रयोग गर्नुभएको छ भने गर्भ बस्न ३ महिना ढिलो हुन्छ ।
  • पिल्स प्रयोग गर्नुभएको छ भने गर्भ बस्न ९ देखि १२ महिना ढिलो हुन सक्छ ।
  • कपर्टी प्रयोग गर्नुभएको छ भने कपर्टी निकाल्ने बित्तिकै गर्भ बस्छ ।

त्यसैले महिलाले परिवार नियोजनको साधन प्रयोग गरेको छ भने मैले चाहेको बेला गर्भ बस्न समय लाग्छ भन्ने बुझ्नु पर्छ त्यही अनुसार आफूलाई तयार गर्नुपर्छ, आत्तिनु हुँदैन । तर लामो समयसम्म पनि गर्भ बसेन भने चिकित्सकको जानु भने आवश्यक छ ।

परिवार नियोजनका लागि अन्य विधिहरू पनि छन् ।

 

मालाचक्र विधि 

  • मालाचक्र विधिमा महिलाले महिनावारी चक्र र आफ्नो महिनावारी चक्रमा गर्भ रहन सक्ने/नसक्ने दिनहरूको पहिचान गर्न सक्छन् ।
  • यो विधिमा गर्भवती हुनबाट बच्न गर्भवती हुन सक्ने सम्भावित दिनहरूमा दम्पतीहरूले यौन सम्पर्क राख्न हुन्न वा कन्डमको सही तरिकाले प्रयोग गर्नुपर्छ ।
  • मालामा भएका १२ वटा सेतो रङका गेडीहरूले महिनावारी चक्रको ८औँ दिनदेखि १९औँ दिनसम्म गर्भधारण हुनसक्ने दिनहरूलाई जनाउँछ । यी दिनहरूमा कन्डमको प्रयोग गर्नु पर्छ वा यौन सम्पर्क नराखी बस्नु पर्छ ।
  • यो विधि नियमित महिनावारी (महिनावारी चक्र २६ देखि ३२ दिन) हुने महिलाहरूको लागि उपयुक्त छ ।

स्तनपान विधि 

स्तनपान विधि प्राकृतिक गर्भनिरोधको विधि हो । जुन बच्चा जन्मिने बित्तिकै प्रयोग गरिन्छ । यो यस्तो विधि हो जुन निश्चित प्रक्रिया अपनाए मात्र काम गर्छ ।

जब महिलाले पूर्ण रूपमा स्तनपान गराउँछिन् उनको अण्डाशयबाट अण्डा निष्कासन हुँदैन र गर्भवती हुनबाट बचाउँछ । प्रसूति पश्चात्का महिलाहरूले पूर्णरुपमा स्तनपान गराएमा, बच्चाको उमेर छ महिनाभन्दा कम छ भने,  सुत्केरीपछि महिनावारी सुरु भैसकेको छैन भने यो विधिले पनि गर्भ रहनबाट जोगाउँछ ।

स्तनपान विधिको पूर्ण प्रभावकारिताको लागि बच्चालाई ठोस आहार र पानी पनि नदिई स्तनपान मात्र (४–६ घण्टा भन्दा बढी फरक नपर्ने गरी २४ घण्टामा कम्तीमा ८–१० पटक साथै बच्चाले मागेको बेला) गराई राख्नुपर्दछ ।

यदि स्तनपनमा कमी आयो भने महिनावारी सुरु हुन सक्छ । महिनावारी सुरु हुनु भनेको शरीरले गर्भ निरोध गर्न नसक्ने सङ्केत पनि हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार