घुर्विसे पञ्चमी : सिजनमा ढकमक्क फुल्ने रातो र कतै-कतै सेतो गुराँसहरु देखिन्छ । वरिपरि मगमग सुगन्धले भरिरहने सेतो फुल्ने चापको वास्ना, चुत्रो र रङ्ग बनिने बनस्पतिका दृष्यका साथमा रमणीय वस्तीहरुले सजिसजाउ । पूर्वतर्फ इलाम फाकफोकथुम-४, फुएतप्पा, दक्षिण पाँचथरको मिक्लाजुङ-४, रवि बजार, पश्चिम पाँचथरका सुन्दर गाउँहरु बलने, आरुबोटे दशमी र उत्तरमा सप्तमी बजार र साराङ्डाँडा जस्ता ठाउँहरुको संगमस्थल । रवि बजारदेखि २ किमी उत्तरी भाग महाभारतडाँडामा अवस्थित थामडाँडा । यसै ठाउँमा प्रशिद्ध बेहुलीढुंगा देवी रहेकी छिन् । सरकारको कालोपत्रे (पक्की) सडक बनाउन उच्च प्राथमिकतामा परेको निर्माणाधिन राँके- रवि-भेडेटार सडक पनि यही बाटो भएर जान्छ ।
किम्वदन्ती अनुसार बेहुलीलाई अन्माएर डोली चढाई जन्तीका साथ बेहुलाको घरमा जाँदै गर्दा बेहुलीलाई थामडाँडामा आइपुगेपछि पिसाब लागेकाले पाखा गएकी बेहुली फर्किनन् । बेहुलीलाई यता उता सबै ठाउँ खोजी गर्दा कही कतै भटिइनन् । त्यहीँ विलीन भइन् सायद । बेहुलासहित जन्ती र घरगाउँलेले खोजेपछि बेहुलीलाई २/३ दिन पछि भेटियो तर, निर्जीव रुपमा एक शिलापत्थरको आकारमा बदलिसकेकी थिइन्- बेहुली। पश्चिम उत्तरतर्फ घोप्टो परेर बसे जस्तो अवस्थामा भेटियो उनलाई । यसै किम्वदन्तीका आधारमा यस पत्थर,शिला ढुंगालाई नारीको रूपमा मान्ने गरिन्छ ।
उनको निर्जीव स्वरुप अनि पीडाबारे कसैलाई थाह नभएको र बेहुलीको आँखाबाट अविरल निक्लेको आँशुजल बग्दै जाँदा हाल पाँचथरतर्फ बग्ने नुवाखोलाको उत्पत्ति भएको हो भन्ने विश्वास रहेको छ। यो नदी तमोर नदीमा पुगेर सप्तकोशीमा मिसिएको हो भन्छन् स्थानीय सप्तमीबासी बुढापाका । सोही पत्थरलाई बेहुली ढुंगा भनिन्छ । र, ढुंगाको दर्शन गर्न आउँदा मानिसहरुले बेहुली घुम्टी, माला, चुरा, अङ्गारका सामान र महिलाले प्रयोग गर्ने वस्त्र पनि चढाउने चलन छ ।
दर्शन गर्नाले चिताएको पुग्ने, ग्रहदशा अन्त्य हुने, आत्मशान्ति मिल्ने, सत्यतर्फ मन जाने, सद्बुद्धि आउने आदि धार्मिक विश्वास रहेको छ। कुनै युवायुवतीको विवाह गर्न खोज्दा एक अर्काले चाहे जस्तो वरवधु नपाइएमा र बालबच्चा नहुने दम्पत्तिले पनि यस स्थलमा आइ माग गर्ने चलन छ। केही समय पहिला यस ठाउँमा एकादशी तिथिको दिन मेला पनि लाग्ने गरेको थियो। किराँत धर्मावलम्बीहरु उधौली र उभौली पर्वमा यस ठाउँ आइ पूजा गर्ने गरेको स्थानीयको भनाइ छ । बेहुलीढुंगा अवस्थित थामडाँडा पुग्दा प्रकृतिका अनेकौ सुन्दर र आकर्षक अग्ला डाँडाकाँडासहित मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । जसले कैयौंको मन लोभ्यएरै छोड्छ, यस ठाउँको वर्णन मरेर साध्यै छैन । पर्यटकीय गन्तव्य बन्न सक्ने धार्मिक तीर्थ स्थलको प्रचारप्रसार अधि बढाई बेहुली दुगाको महिमालाई प्रवर्द्धन गर्नुपर्ने स्थानीयको माग छ। हाल मिक्लाजुङ गाउँपालिकाले यसै नजिकै जडिबुट्टे पार्क निर्माण गरी विश्वकै ठुलो धातुद्वारा निर्मित बुद्धको मुर्ती बनाएर पर्यटकीय पार्क संचालनमा ल्याएको छ । यो ठाउँ आसपास पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने उदेश्यले विभिन्न संरचना निर्माणमा लगानी गरिन्दै आएको गाउँपालिका अध्यक्ष अमर माखिमको भनाई छ ।
यसै नजिकै सप्तमी बजारको शिरमा पर्ने ३ नम्बर वडामा अवस्थित हिलेडाँडामा पनि आन्तरिक पर्यटकको घुईचो बढ्न थालेको छ । यस क्षेत्रको लामो खोल्सीमा झोलुङ्गे पुल बनाइएको छ । सुख्खा डाँडाका गहिरी भञ्ज्याङहरुमा भने पानीका पोखरीले यहाँको सुन्दरतामा आकर्षण थपेको पालिकाका उपाध्यक्ष सन्त कुमार शेर्मा बताउँछन् । पछिल्लो समय हरेक मानिसहरु नयाँ वर्ष र अन्य समयमा भिडभाडका साथ जमघट हुने हुँदा यस ठाउँलाई थप आकर्षक बनाउँन सरोकारवालासँग पहल गरिने बताउँछन् । नजिकैको सडक कालो पत्र भएपछि अझ धेरै मानिसहरुको चलपह हुने अनुमान गरिएको छ ।