बालमैत्री शिक्षणमा जोड दिँदै माङसेबुङ गाउँपालिका, बालशिक्षकलाई मन्टेश्वरी तालिम (तस्बिरहरु)

इलाम : बालबालिकाको सिकाइ प्रक्रियालाई अझ प्रभावकारी र बालमैत्री बनाउने उद्देश्यले माङसेबुङ गाउँपालिकामा बालशिक्षकहरुलाई लक्षित गरी ५ दिने मन्टेश्वरी तालिम सञ्चालन गरिएको छ ।

बालमैत्री शिक्षणमा जोड माङसेबुङले पहिलोपटक बालशिक्षकहरुलाई तालिम दिएको हो । माङसेबुङ गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा चैत २६ गतेदेखि ३० गतेसम्म आवसीयत तालिम सञ्चालन गरिएको शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाले जानकारी दिए । तालिममा विभिन्न विद्यालय र विल शिक्षा केन्द्रका बालशिक्षकहरूको सहभागिता रहेको थियो ।

तालिम समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष हेमन्त राईले प्रारम्भिक बालशिक्षा गुणस्तरीय बनाउन यस्ता व्यावहारिक तालिम अत्यन्त आवश्यक रहेको बताए । ‘बालबालिकाको आधारभूत सिकाइ बलियो बनाउन शिक्षक स्वयं दक्ष र सिर्जनशील हुनुपर्छ,’ उनले भने, ‘मन्टेश्वरी विधिले बालबालिकाको स्वाभाविक विकासमा टेवा पुर्‍याउने भएकाले यो तालिम प्रभावकारी भएको विश्वास छ ।’

प्रमुख प्रशासकीय अधिकृत दिलसेर राईले बालशिक्षालाई प्रभावकारी बनाउन शिक्षकको सीप विकास अनिवार्य रहेको उल्लेख गरे । तालिमले सहभागी शिक्षकहरूलाई कक्षाकोठामा नयाँ विधि प्रयोग गर्न प्रेरित गरको बताउँदै उनले त्यसले बालबालिकाको सिकाइमा सकरात्मक परिणाम हालिल गर्ने विश्वास व्यक्त गरे ।

तालिमका प्रशिक्षक कृष्ण मिश्रले मन्टेश्वरी शिक्षण विधिका सिद्धान्त र व्यवहारिक पक्षबारे प्रशिक्षण दिएका थिए । उनले मन्टेश्वरी विधिले बालबालिकाको आत्मनिर्भरता, सिर्जनशीलता र व्यावहारिक सीप विकासमा विशेष जोड दिने बताए ।

प्रशिक्षार्थीको तर्फबाट अनुभव मन्तव्य राख्दै जनताकल्याण आधारभूत विद्यालयका बालशिक्षक पविता लिम्बूले तालिम अत्यन्त उपयोगी र व्यवहारिक रहेको बताइन् । ‘हामीले बालबालिकालाई कसरी खेल्दै सिकाउने भन्ने नयाँ तरिका सिक्यौं,’  उनले भनिन्, ‘अब कक्षाकोठामा यो विधि लागू गरेर सिकाइलाई अझ रोचक बनाउनेछौं ।’

त्यस्तै, जनकल्याण आधारभूत विद्यालयका बालशिक्षक दानबहादुर लिम्बूले तालिमले आफूहरूको शिक्षण शैलीमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । ‘मन्टेश्वरी विधिबाट बालबालिकाको रुचिअनुसार सिकाइ गराउन सकिने रहेछ,’ उनले भने, ‘यसले बालबालिकाको आत्मविश्वास र सिर्जनशीलता बढाउन सहयोग पुग्नेछ ।’

तालिम समापनको अवसरमा सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । तालिमले सहभागी शिक्षकहरूलाई आधुनिक र बालकेन्द्रित शिक्षण विधि अपनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङ, इन्जिनियर (अधिकृत छैटौं) युवराज दाहाल, लेखा शाखा प्रमुख प्रसान्त खतिवडा, पत्रकार राम योङहाङलगायतको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रम शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार