प्रकाशको अपराध: प्रश्न गर्ने चेतनाको दर्शन – लुसिफर ?

  नरेन्द्र नाथ भट्टराई
420 Shares

 

दर्शन सधैं शुद्ध तर्कको भाषा मात्र होइन, यो प्रतीक, मिथक र कथामार्फत मानव चेतनाले आफैँलाई बुझ्ने प्रयास पनि हो। प्लेटोको गुफा–रूपकदेखि नित्सेको “देवताको मृत्यु” घोषणासम्म दर्शनले निरन्तर एउटा प्रश्न उठाइरहेको छ—आज्ञापालन मानवीय सद्गुण हो कि स्वतन्त्र चिन्तन नै मानवताको मूल आधार हो ? यही प्रश्नको प्रतीकात्मक अभिव्यक्ति लुसिफर हो। यहाँ लुसिफर कुनै धार्मिक पात्र, पौराणिक दानव वा शैतानी सत्ता होइन; ऊ प्रश्न गर्ने चेतना, विद्रोही विवेक र आत्मनिर्माणको साहसको दार्शनिक रूप हो।
प्राचीन रोमन र ग्रिक सभ्यतामा लुसिफर कुनै नैतिक पात्र थिएन। ऊ न दानव न देवता, बरु एउटा खगोलीय यथार्थ थियो—शुक्र ग्रह, भोरको तारा, जसले सूर्य उदाउनुअघि आकाश चिर्दै उज्यालो फैलाउँथ्यो। ओभिड र भर्जिलजस्ता कविहरूले यसलाई आशा, ज्ञान र दिनको आरम्भको प्रतीकका रूपमा गाएका थिए। यहाँ लुसिफरमा कुनै पाप, विद्रोह वा दण्ड थिएन; ऊ केवल देखिने सत्य थियो।
लुसिफर कुनै साधारण शब्द होइन। यो एउटा यस्तो अवधारणा हो, जसले मानव चेतनाको हजारौँ वर्ष लामो संघर्ष, भय, विद्रोह र आत्मखोजलाई समेटेर बोकेको छ। भाषिक रूपमा हेर्दा यसको अर्थ अत्यन्त सरल छ—“प्रकाश बोक्ने।” ल्याटिन शब्द Lucifer स्वयंमा कुनै नकारात्मकता बोकेको छैन; बरु यो उज्यालो, बिहानको तारा र नयाँ सुरुवातको संकेत हो। तर इतिहासको विचित्र विडम्बना के हो भने यही प्रकाशसँग जोडिएको शब्दलाई मानव सभ्यताले सबैभन्दा अँध्यारो प्रतीकमा रूपान्तरण गरिदियो।
यो रूपान्तरण केवल प्राकृतिक घटना वा धार्मिक मिथकको विकास मात्र थिएन; यो गहिरो राजनीतिक, मनोवैज्ञानिक र बौद्धिक इतिहासको परिणाम थियो, जहाँ प्रश्न गर्ने चेतनालाई नियन्त्रण गर्न शब्दहरूलाई दमनको औजार बनाइयो। यही तथ्यले प्रमाणित गर्छ कि लुसिफरको नकारात्मक छवि प्रकृतिबाट नभई व्याख्याबाट उत्पन्न भएको हो।
ईसाई धर्मशास्त्रले यस व्याख्यालाई नयाँ मोड दिएको छ। बाइबलको इसैया पुस्तकमा बेबिलोनका अहंकारी राजामाथि गरिएको राजनीतिक व्यङ्ग्यमा प्रयोग भएको “हे प्रभात तारा” भन्ने वाक्यलाई पछि आएका धर्मशास्त्रीहरूले आध्यात्मिक अर्थ दिँदै यसलाई एउटा सुन्दर, बुद्धिमान स्वर्गदूतको पतनको कथामा रूपान्तरण गरे । यसरी एउटा खगोलीय उपमालाई नैतिक नाटकको पात्र बनाइयो । यहाँ निर्णायक बौद्धिक हस्तक्षेप भएको थियो जसले ऐतिहासिक आलोचनालाई आध्यात्मिक अपराध बनायो र राजनीतिक रूपकलाई शाश्वत दानवको कथामा बदल्यो। यसले पश्चिमी चेतनामा एउटा गहिरो सन्देश रोप्यो—प्रश्न गर्नु पाप हो। यही मोडमा लुसिफर धार्मिक पात्रभन्दा बढी सत्ताको मनोविज्ञानको प्रतीक बनाइयाे। जब धर्म सत्तासँग जोडिन्छ, तब आज्ञापालन नै नैतिकता बन्छ र असहमति दुष्टता । लुसिफर त्यस असहमतिको नाम हो, त्यसैले ऊ दानव बनाइयो। ऊ केवल ईश्वरको विरोधी होइन, चेतनाको स्वतन्त्रताको प्रतीक भएकाले खतरनाक बनाइयो। यसरी लुसिफरको कथा दुष्टताको कथा होइन, यो प्रश्न गर्ने चेतनालाई कसरी दमन गरियो भन्ने इतिहास हो। बाइबलमा “लुसिफर” शब्द प्रत्यक्ष रूपमा सीमित प्रयोगमा आउँछ। इसैया १४:१२ मा प्रयोग भएको “हे प्रभात तारा, स्वर्गबाट खसालिएको” भन्ने वाक्य प्रारम्भमा बेबिलोनका अहंकारी राजामाथि गरिएको राजनीतिक व्यङ्ग्य मात्र थियो। तर पछिल्ला धर्मशास्त्रीय व्याख्याहरूले यसलाई आध्यात्मिक अर्थ दिँदै एउटा सुन्दर, बुद्धिमान स्वर्गदूतको पतनको कथामा रूपान्तरण गरे। मध्ययुगीन धर्मशास्त्रले लुसिफरलाई ईश्वरको सबैभन्दा प्रिय स्वर्गदूत मान्यो जसले अहंकारवश ईश्वरको सिंहासन बराबर हुन खोज्यो। यस विद्रोहका कारण ऊ स्वर्गबाट खसालिएको र नरकको शासक बन्यो। यस व्याख्याले लुसिफरलाई “अत्यधिक गर्वको परिणामस्वरूप पतन” को प्रतीक बनायो।
इस्लामी परम्परामा “लुसिफर” को सीधा प्रयोग छैन, तर “इब्लिस” वा “शैतान” को अवधारणा गहिरो छ। कुरानमा उल्लेख छ कि अल्लाहले आदमलाई सिर्जना गरेपछि सबै फरिश्तालाई आदमलाई सिज्दा गर्न आदेश दिए। इब्लिसले यसलाई अस्वीकार गर्यो। उसले तर्क दियो—“म आगोबाट बनेको छु र ऊ माटोबाट बनेको छ। म किन झुकूँ?” यहाँ इब्लिसको विद्रोह केवल अहंकार मात्र होइन, यो तर्क र तुलनाको प्रयोग हो। इस्लामी धर्मशास्त्रमा इब्लिसलाई पूर्ण रूपमा दुष्ट मानिन्छ, तर उसको चरित्रमा एउटा गहिरो दार्शनिक तत्व छ, ऊ ईश्वरीय आदेशलाई नमान्ने पहिलो प्राणी हो र यसैले ऊ मानवीय अहंकार र अस्वीकारको प्रतीक बनाइन्छ। अन्य धार्मिक परम्पराहरूमा पनि लुसिफरको अवधारणा फरक–फरक रूपमा देखिन्छ। यहूदी परम्परामा पतित स्वर्गदूतहरूको कथा छ, जसले मानिसलाई निषिद्ध ज्ञान सिकाए। केही ग्नोस्टिक सम्प्रदायहरूले लुसिफरलाई नकारात्मक होइन, बरु मुक्तिदाता र ज्ञान दाताको रूपमा देखे। पूर्वीय दर्शनमा लुसिफर जस्तो सीधा पात्र छैन, तर अहंकारका कारण पतन हुने देवता वा असुरहरूको अवधारणा छ, जसले एउटा सामान्य सत्य देखाउँछ: अत्यधिक अहंकार, गर्व र सत्ताको लालसाले पतन ल्याउँछ।

ज्ञानको फलको कथा यस दार्शनिक यात्राको केन्द्रबिन्दु हो। आदम र हव्वालाई ज्ञानको फल खानबाट रोक्नु र लुसिफरले उनीहरूलाई त्यो फल खान प्रेरित गर्नु वास्तवमा मानव सभ्यताको बौद्धिक जन्मको कथा हो। जबसम्म आदम र हव्वाले त्यो फल खाएका थिएनन्, उनीहरू पशुवत आज्ञाकारितामा थिए। उनीहरूसँग सुख थियो तर विवेक थिएन। लुसिफरले उनीहरूलाई त्यो फल खान उक्साएर वास्तवमा उनीहरूलाई नैतिक प्राणी बनाइदिए। ज्ञानको फल खानु भनेको आफ्नो “म” को अस्तित्वबोध गर्नु हो। यसले मानिसलाई स्वर्गको सुरक्षित तर पराधीन जीवनबाट निकालेर नर्कको कष्टकर तर स्वतन्त्र संसारमा फालिदियो। महान दार्शनिक जर्ज विल्हेल्म फ्रेडरिक हेगेलले यसलाई मानव स्वतन्त्रताको वास्तविक सुरुआत भनेका छन्। हेगेलका अनुसार लुसिफरको यो कार्यले मानिसलाई पशुबाट अलग गरेर एउटा यस्तो प्राणी बनायो जसले आफ्नो भाग्यको फैसला आफैं गर्न सक्छ। त्यसैले लुसिफरले दिएको त्यो फल केवल एउटा वनस्पति थिएन, त्यो त तर्क र विवेकको बीउ थियो।
साहित्यिक क्षेत्रमा प्रवेश गर्दा लुसिफर झनै जटिल बन्छ। जोन मिल्टनको *Paradise Lost* मा लुसिफर अब एकआयामी दानव मात्र छैन। ऊ बोल्छ, सोच्दछ, निर्णय गर्छ। “स्वर्गमा दास बन्नुभन्दा नर्कमा शासन गर्नु राम्रो” भन्ने वाक्य दुष्टताको घोषणापत्र होइन, यो स्वतन्त्र इच्छाको घोषणापत्र हो। मिल्टनले यहाँ एउटा असहज सत्य उजागर गर्छन् कि स्वतन्त्रता सधैं सुखद हुँदैन, तर दासत्व सुरक्षित देखिए पनि मानवीय हुँदैन। यही कारणले मिल्टनको लुसिफरले रोमान्टिक युगका कविहरूलाई गहिरो प्रभाव पार्यो। विलियम ब्लेकले अझै अगाडि बढेर लुसिफरलाई सिर्जनात्मक ऊर्जा र कल्पनाको प्रतीक बनाए। ब्लेकले भनेका छन् कि मिल्टन अन्जानमै सैतानको पक्षमा थिए किनभने उनले लुसिफरलाई जति जीवन्त र तर्कशील बनाए, ईश्वरलाई त्यति प्रभावशाली बनाउन सकेनन्। ब्लेकका अनुसार नियमले बनेको स्वर्गभन्दा कल्पनाले बनेको नर्क नै जीवन्त थियो।
दार्शनिक क्षेत्रमा लुसिफर अझ गहिरो अर्थमा प्रवेश गर्छ। फ्रेडरिक नित्सेले ईसाई नैतिकतालाई “दास–नैतिकता” भनेर आलोचना गर्दा अप्रत्यक्ष रूपमा लुसिफरियन चेतनालाई मानवीय शक्ति र आत्मनिर्माणको प्रतीक बनाउँछन्। नित्सेका लागि “देवताको मृत्यु” भनेको अराजकता होइन, बरु मानव विवेकको जन्म हो। नित्सेले आफ्नो “दास र मालिक नैतिकता” सिद्धान्तमा देखाएझैं, परम्परागत धर्मले मानिसलाई कमजोर, आज्ञाकारी र डराउने बनाएको छ। नित्सेका लागि लुसिफर त्यो शक्ति हो जसले ईश्वरद्वारा थोपरिएका कृत्रिम मूल्य मान्यताहरूलाई भत्काएर आफ्नै मूल्यहरू सिर्जना गर्ने क्षमता राख्छ। सिग्मन्ड फ्रायडले लुसिफरलाई मानव मनको “इड” सँग जोडे—दबाइएको चाहना, आवेग र शक्ति। फ्रायडियन व्याख्यामा, लुसिफर मानवीय अचेतनको त्यो अंश हो जसले समाजले थोपरेका निषेधहरूलाई चुनौती दिन्छ। कार्ल जुंगले यसलाई अझ परिष्कृत गर्दै लुसिफरलाई “छाया” को रूपमा व्याख्या गरे। जुंगका अनुसार, प्रत्येक व्यक्तिको व्यक्तित्वमा एउटा “छाया” हुन्छ—त्यो भाग जुन व्यक्तिले आफूमा स्वीकार गर्न चाहँदैन, तर त्यो नै व्यक्तित्वको शक्तिशाली अंश हो। लुसिफर यही “छाया” को प्रतीकात्मक अभिव्यक्ति हो। जबसम्म मानिसले आफ्नो छायालाई चिनेर त्यसलाई आफ्नो व्यक्तित्वमा समाहित गर्दैन, तबसम्म ऊ साँचो अर्थमा प्रबुद्ध हुन सक्दैन। यहाँ लुसिफर नकारात्मक होइन, ऊ अस्वीकार गरिएको सत्य हो, आफ्नो पूर्णताको लागि आवश्यक अंश हो।
वैज्ञानिक क्षेत्रमा पनि लुसिफरको अवधारणाले गहिरो अर्थ दिन्छ। खगोल विज्ञानका अनुसार शुक्र ग्रह आकाशमा सबैभन्दा चम्किलो देखिन्छ, तर वास्तविकतामा सबैभन्दा घातक ग्रह हो जहाँ अम्लीय वर्षा, असह्य तापक्रम र जीवनका लागि असम्भव अवस्था छन्। यो केवल संयोग होइन, प्रतीकात्मक यथार्थ हो। बाहिरी चमक भित्रको सत्य हुँदैन। चेतनाले सतहमा अड्किएर बस्दा विनाश निम्त्याउँछ। आधुनिक भौतिकशास्त्र र ब्रह्माण्ड विज्ञानले पनि देखाएका छन् कि सत्य सधैं सरल र सुखद हुँदैन, तर त्यसलाई खोज्नु मानवको मौलिक प्रवृत्ति हो।
आधुनिक साहित्य र लोकप्रिय संस्कृतिमा लुसिफर अझ मानवीय हुन्छ। निल गेमनको कृतिहरूमा ऊ न दुष्ट, न पवित्र । ऊ स्वतन्त्र हुन्छ र त्यो स्वतन्त्रताको दायित्व बोल्छ। टेलिभिजन शृङ्खलामा ऊ पश्चात्ताप, परिवर्तन र आत्मस्वीकृतिको यात्रामा देखिन्छ। यसले पाप र दण्डको परम्परागत धारणा भत्काउँछ र नयाँ सम्भावना देखाउँछ—परिवर्तन सबैका लागि सम्भव छ। मार्कस ओरेलियसदेखि अल्बर्ट कामुसम्मका दार्शनिकहरूले विद्रोह र स्वतन्त्रतालाई मानव अस्तित्वको मूलभूत तथ्यको रूपमा व्याख्या गरेका छन्। कामुले विद्रोहलाई मानवीय अस्तित्वको आधारभूत आवश्यकता मानेका छन्।
समाजशास्त्रीय दृष्टिले लुसिफर सधैं सत्ताको विपक्षमा उभिएको छ। मध्ययुगमा ऊ विधर्मी, ज्ञानयुगमा वैज्ञानिक, आज ऊ असहमत नागरिक। जहाँ प्रश्न उठ्छ, त्यहाँ लुसिफरको छाया देखिन्छ। माइकल फुकोले सत्ता र ज्ञानको सम्बन्धमा देखाएझैँ, सत्ताले ज्ञानलाई नियन्त्रण गर्न खोज्छ र विद्रोहले यस नियन्त्रणलाई चुनौती दिन्छ। नारीवादी विमर्शले पनि यही बिन्दुमा लिलिथ र लुसिफरलाई जोड्छ। पितृसत्तात्मक समाजले अधीनता अस्वीकार गर्ने महिलाहरूलाई कसरी दानवीकृत गर्छ भन्ने उदाहरण लिलिथको कथामा स्पष्ट देखिन्छ।
नेपाली समाज पनि यस विश्वव्यापी प्रवृत्तिबाट अलग छैन। यहाँ प्रश्नलाई अहंकार भनिन्छ, असहमतिलाई अपवित्र ठानिन्छ र मौनतालाई संस्कार बनाइन्छ। हामीले देवताका नाम धेरै जप्यौँ, तर विवेकको अभ्यास कम गर्यौँ। यही मौनताको विरुद्ध “प्रकाशको अपराध” को अवधारणा उभिन्छ। यो धर्मविरोध होइन; यो डरविरोधी हस्तक्षेप हो। यो लुसिफरको पुनर्स्थापना होइन, बरु विवेकको मुक्ति हो। लैनसिंह बाङ्देल, पारिजात, वि.वि. सुवेदी जस्ता नेपाली लेखकहरूको कृतिहरूमा विद्रोह, प्रश्न र स्वतन्त्रताको चाहना स्पष्ट देखिन्छ।
अन्ततः लुसिफरको सम्पूर्ण अवधारणा एउटा शब्द वा पौराणिक पात्र मात्र होइन, यो मानवीय विवेकको सामूहिक अनुभवको प्रतीकात्मक कथा हो। यसको यात्रा प्रकाशबाट सुरु भएर अँध्यारोको प्रतीकमा पुर्याइने इतिहास वास्तवमा सत्ता र चेतनाबीचको शताब्दीयौँ लामो संघर्षको इतिहास हो। लुसिफर भनेको सोच्ने साहस हो, त्यो आवाज हो जसले भन्छ—“किन ?” यो चेतना अधीनतालाई अस्वीकार गर्छ। यही कारणले सत्ताले यसलाई दानव बनाएको हो। लुसिफरको वास्तविक पतन स्वर्गबाट खस्नु होइन; मानव चेतनामा उसको मूल अर्थ हराउनु हो। यो शब्दको हत्या हो, अर्थको हत्या हो। अन्त्यमा, लुसिफरको कथा पतनको कथा होइन। यो भ्रमबाट सत्यतर्फको कठिन यात्रा हो। प्रकाश र अँध्यारो दुबै मानव अस्तित्वका अङ्ग हुन्। एकलाई अस्वीकार गरेर अर्कोलाई मात्र स्वीकार गर्नु भनेको आधा जीवन बाँच्नु हो। वास्तविक प्रबोधन उज्यालोमा मात्र होइन, उज्यालो र अँध्यारोको समग्र स्वीकारमा निहित छ। इतिहास सधैं आज्ञाकारीहरूले होइन, प्रकाश बोक्नेहरूले लेखेका छन्। यदि सोच्नु अपराध हो भने, यही अपराध मानव हुनुको सबैभन्दा गहिरो प्रमाण हो। लुसिफरको पुनर्स्थापना गर्नु भनेको शैतानलाई पूज्नु होइन; बरु आफूभित्रको प्रश्न गर्ने, सोच्ने र नयाँ दृष्टिकोण खोज्ने मानवीय शक्तिलाई गौरव दिनु हो। हामी सबै भित्र एउटा लुसिफर छ—हाम्रो स्वतन्त्र विचार, जसले हामीलाई दास हुनबाट जोगाउँछ र स्वतन्त्रताको प्रकाशतर्फ डोर्याउँछ। यही लुसिफरको शाश्वत सन्देश हो। अस्तु ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार