हिमाल आरोहणको दस्तुर बढेसँगै पर्वतारोही घट्ने डर

  निनाम लोवात्ती
21 Shares

निनाम लोवात्ती

यही भदौ १६ अर्थात् सेप्टेम्बर १, सन् २०२५ देखि नेपाल सरकारले पर्वतारोहीका लागि आरोहण गर्न पटकपटक गरेर खुल्ला गरेको ४७६ वटा हिमालको आरोहणवापत लाग्ने सलामी दस्तुर अर्थात् रोयल्टी बढाएको छ । खासमा नेपालमा अहिलेसम्म कति वटा हिमाल सरकारले पर्वतारोहीका लागि खुल्ला गरेको छ ? भन्नेमा सर्वसाधारण मानिसहरुमा भ्रम रहेको भान हुन्छ । खास गरिकन नेपाली मिडियाहरु र मिडियामा कार्यरत पत्रकारहरुमा यस सम्बन्धमा ज्ञान नै नभएर हो कि जस्तो लाग्छ । किनभने, नेपाल सरकारले विसं २०८१ को पुस महिनाको तेस्रो हप्तातिर नेपालका थप ५७ वटा हिमाल पर्वतारोहीका लागि खुल्ला गरेपछि पर्वतारोहीहरुका लागि आरोहण गर्न खुल्ला गरिएको हिमालको संख्या ४७६ वटा पुगेको हो । तर, अझै पनि यस विषयमा नेपाली पत्रकारहरुमा पूर्ण ज्ञान नभएरै होला, विभिन्न सञ्चारमाध्यममा समाचार आउँदा हालसम्म सरकारले पर्वतारोहीका लागि खुल्ला गरेको हिमालको संख्या केवल ४६१ वटा, ४६१ वटा भनी समाचारमा लेख्ने, भन्ने, रिपोर्टिङ गर्ने गरेको पाईन्छ । पछिल्लो पटक विसं २०८१ को पुस महिनाको तेस्रो हप्ता ताका नेपालका थप ५७ वटा हिमाल पर्वतारोहीका लागि खुल्ला गर्नुअघि चाहिँ ४१९ वटा हिमाल खुल्ला गरिएका थिए । ४१९ मा ५७ थप्दाखेरि त ४७६ पुग्नुपर्ने, हुनुपर्ने होइन र ? तापनि धेरै जसो नेपाली सञ्चारमाध्यममा ४६१ वटा नै भनेर लेख्ने गरेको, भन्ने गरेको पाइन्छ । खैर, यो विषयलाई यहीँ बिट मारौं । ्‌
जे भए तापनि हालसालै पर्यटन विभागले निकालेको सूचनाअनुसार ८८४८.८६ मिटर अग्लो ‘सगमाथा–चोमोलुङमा–एभरेस्ट’ हिमाल आरोहण गर्न चाहने पर्वतारोहीले तिर्नुपर्ने नयाँ सलामी दस्तुर (रोयल्टी) विदेशी भए प्रति व्यक्ति १५ हजार अमेरिकी डलर तोकिएको छ । यो सलामी दस्तुर मुख्य सिजन अर्थात् हरेक वर्षको वसन्त ऋतुमा आरोहण गर्न चाहने विदेशी पर्वतारेहीका लागि तोकिएको सलामी दस्तुर हो भने यो साधारण रुपमा चल्तीमा रहेको बाटाका लागि हो । चल्तीको बाटो बाहेकको बाटोबाट ‘सगमाथा–चोमोलुङमा–एभरेस्ट’ हिमाल आरोहण गर्न चाहने जो कोही विदेशी पर्वतारोहीले वसन्त ऋतुमा तिर्नुपर्ने नयाँ सलामी दस्तुर (रोयल्टी) प्रति व्यक्ति १० हजार अमेरिकी डलर तोकिएको छ । त्यस्तै शरद ऋतुमा ‘सगमाथा–चोमोलुङमा–एभरेस्ट’ हिमाल आरोहण गर्ने विदेशी पर्वतारोहीले पाँच हजार अमेरिकी डलर तिर्नुपर्ने छ । अनि शिशिर र वर्षात् ऋतुमा ‘सगमाथा–चोमोलुङमा–एभरेस्ट’ हिमाल आरोहण गर्न चाहने विदेशी पर्वतारोहीले दुवै ऋतुमा दुई हजार अमेरिकी डलर सलामी दस्तुर तिर्नुपर्ने भनी तोकिएको छ । ‘सगमाथा–चोमोलुङमा–एभरेस्ट’ हिमाल विश्वकै सबैभन्दा अग्लो हिमाल भएर पनि हुन सक्छ नेपाल सरकारले सिजनपिच्छेको र फरकफरक बाटोपिच्छे फरकफरक सलामी दस्तुर तोकेको देखिन्छ । मुख्य सिजन अर्थात् वसन्त ऋतुमा नर्मल अर्थात् चल्तीको बाटो भएर ‘सगमाथा–चोमोलुङमा–एभरेस्ट’ आरोहण गर्ने पर्वतारोहीलाई प्रति व्यक्ति १५ हजार अमेरिकी डलर तोकिए जस्तै अन्य गाह्रो बाटो चढ्ने वा विगतमा केही प्रसिद्ध पर्वतारोहीले ‘सगमाथा–चोमोलुङमा–एभरेस्ट’ आरोहण गरेको बाटो भएर (रुट) अथवा अहिलेसम्म कसैले ‘सगमाथा–चोमोलुङमा–एभरेस्ट’ आरोहण गर्न नसकेको बाटो (रुट) भएर ‘सगमाथा–चोमोलुङमा–एभरेस्ट’ हिमाल आरोहण गर्न चाहने कुनै पनि पर्वतारोही दललाई त्यही अनुसार कम सलामी दस्तुर अर्थात् रोयल्टी तोकेको छ । जस्तो कि, अन्य बाटो (नर्मल रुटबाहेक) भएर ‘सगमाथा–चोमोलुङमा–एभरेस्ट’ आरोहण गर्ने पर्वतारोही दलले वसन्त ऋतुमा १० हजार अमेरिकी डलर, शरद ऋतुमा सात हजार अमेरिकी डलर, शिशिर ऋतु र वर्षात् ऋतुमा ७ हजार ५०० सय अमेरिकी डलर तोकिएको छ ।
को त्यस्तै गरेर अब ‘सगमाथा–चोमोलुङमा–एभरेस्ट’ बाहेक अन्य आठ हजार मिटर उचाइको हिमाल आरोहण दस्तुर ३ हजार अमेरिकी डलर तोकिएको छ । ती हिमाल मुख्य सिजनबाहेकको सिजनमा आरोहण गर्न चाहने पर्वतारोही दललाई एक हजार ५०० अमेरिकी डलर सलामी दस्तुर तोकिएको छ । त्यस्तै सात हजार पाँचसय एक मिटरदेखि आठ हजार मिटरसम्मको हिमालको आरोहण दस्तुर मुख्य सिजनमा एक हजार अमेरिकी डलर सलामी अर्थात् रोयल्टी दस्तुर तोकिएको छ । तर मनास्लु हिमालको भने अलग्गै सलामी दस्तुर तोकिएको छ । जस्तै मनास्लु हिमाल आरोहण गर्न चाहने पर्वतारोही दलले वसन्त ऋतुमा एक हजार पाँच सय अमेरिबकी डलर सलामी दस्तुर तोकिएको छ भने, अन्य दुई सिजनमा चाहिँ तीनतीन हजार अमेरिकी डलर सलामी दस्तुर तोकिएको छ । त्यस्तै गरेर आमा डाब्लामा–आम–डाब्लाम हिमालको पनि छुट्टै सलामी दस्तुर तोकेको देखिन्छ, नेपाल सरकारले । आमा डाब्लामा–आम–डाब्लाम हिमालको सलामी दस्तुर वसन्त ऋतु र शरद ऋतुमा एक–एक हजार अमेरिकी डलर सलामी दस्तुर तोकिएको छ भने बाँकी सिजनमा चाहिँ पाँच सय अमेरिकी डलर मात्रै तोकिएको छ । त्यस्तै ६ हजार मिटरभन्दा होचा हिमाल आरोहण गर्न चाहने पर्वतारोही दलका लागि चाहिँ मुख्य सिजनमा ३५० अमेरिकी डलर सलामी दस्तुर ताकिएको छ भने अन्य सिजनमा चाहिँ केवल १७५ अमेरिकी डलर सलामी दस्तुर तोएिको छ ।
हुनत अनि नेपालको समग्र पर्वतारोहणको कुरो गर्दा वसन्त ऋतुको सिजनमा जस्तो अन्य ऋतुमा त्यति चहलपहल हुँदैन । तथापि शरद ऋतुको सिजनमा चाहिँ धेरथोर नेपाली हिमाल आरोहण र्न आउने गर्छन्, विदेशी पर्वतारोहीहरु । वर्षात् र जाडोको समयमा चाहिँ नेपालमा पर्वतारोहण व्यवसायले खासै महत्व पाउँदैन । पर्वतारोणको सिजन र आरोहणका सम्बन्धमा जे सुकै भए तापनि नेपालका लागि विदेशी मुद्रा आर्जन गर्ने असाध्यै राम्रो माध्यम बनेको छ, पदयात्रा एवम् पर्वतारोहण व्यवसाय चाहिँ । अझ यी दुई (पर्वतारोहण र पदयात्रा व्यवसाय) लाई नेपाली पर्यटन उद्योगको मेरुदण्ड नै हो भन्दा फरक नपर्ला कि ? यसको एक मात्रै प्रमाण भनेको हरेक वर्षको पर्यटकीय मौसममा नेपालमा रहेका विभिन्न हिमाल आरोहण गर्नका लागि आउने गरेका विभिन्न देशका हजारौं पर्वतारोही र लाखौं पदयात्रीको संख्याले नै बताउने गरेको छ । अर्को तथ्य भनेको नेपालमा पर्वतारोहण गर्न आउने पर्वतारोहीहरु जो हुन्छन्, उनीहरुले पदयात्री (ट्रेकिङ), जलयात्री (र्याफ्‌िटिङ), चरा अवलोकन, बाइृकिङ, हाईकिङ लगायत अन्य उदेश्यले आउने पर्यटकले गर्ने खर्चभन्दा धेरै बढी खर्च गर्ने गरेको उदाहरण रहेको छ । जुन कुरो विभिन्न समयमा गरिएको तथ्य, तथ्यांकको विवरणहरुले देखाउँछ । जस्तो कि नेपाल पर्वतारोहण संघले सन् २०११ मा आफ्‌नो मुखपत्र ‘नेपाल पर्वत’मा प्रकाशित भएको एक विवरण अनुसार (नेपाल सरकारले ३३ वटा स–साना हिमाललाई नेपाल पर्वतारोहण संघलाई रेखदेख गर्ने, परमिट वापत शुल्क उठाउने लगायतको जिम्मेवारी दिएर एनएमएलाई सुम्पेको छ । ती ३३ वटा (अहिले २८ वटा मात्रै) ट्रेकिङ पिक आरोहण गर्न आएका विदेशी पर्वतारोहीले मात्रै सन् २०११ को वसन्त ऋतु अर्थात् स्प्रिङ (चैत–वैशाख) सिजनमा ७२ लाख ९ हजार तीनसय ५६ अमेरिकी डलर सलामी वापत नेपाल सरकारलाई तिरेका थिए । सो वर्षको सिजनमा चारसय ४७ वटा पर्वतारोही टोलीले सलामी दस्तुरवापत नेपाल पर्वतारोहण संघलाई एकलाख ८४ हजार ९ सय ७५ अमेरिकी डलर तिरेका थिए । जुन रकम तत्कालीन बजार भाऊ अनुसार सटही गर्दाखेरि नेपाल पर्वतारोहण संघलाई एक करोड ३३ लाख १८ हजार दुईसय प्राप्त भएको थियो । स्मरणीय छ, हालसम्म नेपाल सरकारले पर्वतारोहणका लागि भनी खुल्ला गरेको लगभग चारसय उन्नाइस (४१९) हिमाल मध्ये २८ वटा (पहिले ३३) हिमालबाहेक बाँकी हिमालहरुको सलामी लिने, रेखदेख गर्ने काम चाहिँ नेपाल सरकारको मातहतमा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले गर्छ ।
नेपाल भूगोल र जनसंख्याको आधारमा विश्वका अन्य देशको तुलनामा मध्यस्तरको भए तापनि नेपालमा हिमरेखा भन्दा ( ५,५०० मिटर ) माथिका १९ सय १३ वटा भन्दा बढी हिमालहरु रहेका छन् भने नेपाल सरकारले पटक–पटक गरेर लगभग चार सय १४ वटा ५ हजार ५० मिटर भन्दा अग्ला हिमालहरु (छुकुङ–री देखि लिएर ८,८४८ दशमलब ८६ मिटर अग्लो सगरमाथा अर्थात् ‘चोमोलुङमा’ पर्वतारोहणका लागि खुल्ला गरेको छ । त्यसमा पनि हिमालहरुको कुरो गर्दा हालसम्म विश्वले मान्यता दिएका आठ हजार मिटर भन्दा माथिका १४ वटा हिम शिखरहरु मध्ये आठ हजार आठ सय ४८ मिटर अग्लो सगरमाथा अर्थात् चोमोलुङमा (ट्रेड नेम अर्थात् व्यापारिक नाम एभरेस्ट) अधिकांस नेपालमा रहेका छन् भने केही नेपाल–चीन सिमाना (जस्तै सीसापाङ्मा) छन् भने केही नेपाल भारत सिमानामा (जस्तै कञ्चनजंघा) छन् । यी ८ हजार मिटरभन्दा माथिका हिमालहरु मध्ये ८ हजार पाँचसय ८६ मिटर अग्लो कञ्चनजंघा, ८ हजार पाँचसय १६ मिटर अग्लो ल्होत्चे, ८ हजार चारसय ६३ मिटर अग्लो मकालु, ८ हजार दुईसय एक मिटर अग्लो चोओ–यु, ८ हजार एकसय ६७ मिटर अग्लो धौलागिरी, ८ हजार एकसय ६३ मिटर अग्लो मनास्लु, ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण गरी आठवटा ( ६० प्रतिशत) नेपालमै छन् । जुन हिमालहरु नेपालमा रहेका छन्, हामी नेपालीहरुका लागि सौभाग्य र गर्वकै कुरो हो भन्ने मान्नुपर्ने हुन्छ । तर, त्यहीअनुसार नेपालमा रहेका हाम्रा आठ हजार भन्दामाथिका हिमालका बारेमा प्रचारप्रसार, बजारीकरण नहुनु र स्वदेशी तथा विदेशी आरोहण दलले आरोहण गर्न नसक्नु अर्कै कुरो भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार