कालिका देवी मन्दिर क्षेत्रका संरचना उद्घाटन, ११७ सहयोगी दातालाई सम्मान

  युद्धबहादुर बोहोरा
126 Shares

इलाम : फाकफोकथुम गाउँपालिका–१ स्थित लुङ्सुम्दाङ निर्माण सम्पन्न कालिका देवी मन्दिर तथा आसपासका संरचनाहरू सोमबार एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। मन्दिरसँगै निर्माण गरिएको मुख्य प्रवेशद्वार, पुल र सिंढीसमेत एकैसाथ सञ्चालनमा ल्याइएको हो। देश तथा विदेशमा रहेका ११७ जना सहयोगी दाताहरूको आर्थिक तथा श्रमदानबाट करिब ८ लाख रुपैयाँ बढीको लागतमा संरचना निर्माण गरिएको आयोजकले जनाएको छ। लामो समयदेखि स्थानीयवासी र दाताहरूको सक्रिय सहभागितामा निर्माण कार्य सम्पन्न भएको हो।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस मन्दिरले क्षेत्रको पहिचानलाई थप मजबुत बनाएको विश्वास गरिएको छ। उद्घाटन समारोहका अवसरमा मन्दिर निर्माणमा योगदान पुर्‍याउने सबै सहयोगी दाताहरूलाई सम्मान–पत्र प्रदान गरी विशेष सम्मान गरिएको थियो।समारोहमा स्थानीय बासिन्दा, श्रद्धालु भक्तजन, बुद्धिजीवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम लुङ्सुम्दाङ, कालिका देवी मन्दिर पर्यटन संरक्षण समितिको आयोजनामा सम्पन्न भएको हो।

समितिका अध्यक्ष हाङ्सुरुम्बा थेगिमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल प्रमुख अतिथि रहेका थिए। विशेष अतिथिमा वडा नं. १ का अध्यक्ष कर्णबहादुर थेगिम, वडा नं. ३ का अध्यक्ष दिपेन्द्र थेगिम लिम्बु, सदस्य गोमादेवी भट्टराई, सीता बराइली, डम्बर पौडेल, पार्टी प्रतिनिधि, संघसंस्थामा प्रतिनिधि , स्थानीय वासी,जनप्रतिनिधि तथा विभिन्न व्यक्तित्वहरूको उपस्थिति थियो। दिपेन्द्र थेगिमले सञ्चालन गरेको कार्यक्रममा समितिका सचिव वेद प्रासद नेम्वाङले स्वागत मन्तव्य राखेका  थिए।उद्घाटनअघि बिहानदेखि नै स्थानीय पुरोहितहरूको उपस्थितिमा पूजा–पाठ सम्पन्न गरिएको थियो भने दिउँसो सांस्कृतिक कार्यक्रमसहित एकदिने मेला आयोजना गरिएको थियो। कार्यक्रममा उपस्थित भक्तजनहरूले प्रसाद तथा टीका ग्रहण गरेका थिए।

करिब १५ लाख रुपैयाँ बराबरको संरचना निर्माण भइसकेको यस क्षेत्रमा विवाह, व्रतबन्धलगायतका धार्मिक कर्मकाण्ड गर्न मिल्ने गरी होमस्थलसमेत तयार गरिएको छ। यद्यपि भवन, विद्युत, शौचालय, खानेपानी तथा पुरानो मन्दिरको जीर्णोद्धार अझै आवश्यक रहेको आयोजकले जनाएको छ।वि.सं. १९०० सालदेखि स्थानीयले आस्थाका साथ पूजा गर्दै आएको यस देवस्थलमा स्रोत अभावका कारण पूर्वाधार निर्माण हुन सकेको थिएन। पछिल्लो समय गाउँपालिका र वडा कार्यालयले समेत बजेट विनियोजन गर्दै सहयोग गरिरहेका छन्।कार्यक्रममा गाउँपालिका अध्यक्ष खनालले आगामी आर्थिक वर्षमा शौचालय निर्माणका लागि बजेट व्यवस्था गरिने प्रतिबद्धता जनाउँदै क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रवर्द्धनमा पालिका लागिपर्ने बताए।

स्थानीय जनविश्वास अनुसार यस देवस्थलमा मनोकामना पूरा हुने, विशेष गरी सन्तान प्राप्तिका लागि यहाँको पवित्र पानी सेवन गर्ने प्रचलन रहेको छ। साथै, यहाँ करिब ५० मिटर लामो र ५ मिटर गहिरो ओडार समेत रहेको छ, जसले यस क्षेत्रलाई थप आकर्षक बनाएको छ।धार्मिक आस्था र सांस्कृतिक पहिचानको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको यस मन्दिरले अब फाकफोकथुम गाउँपालिकालाई धार्मिक पर्यटन क्षेत्रको  महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न टेवा पुग्ने विश्वास लिइएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार