लुङ्सुङ्दाङ कालिका देवी मन्दिर आसपासका संरचना आइतबार उद्घाटन, ११६ सहयोगी दातालाई सम्मान गरिँदै

  युद्धबहादुर बोहोरा
476 Shares

इलाम : फाकफोकथुम गाउँपालिका-१ स्थित लुङ्सुङ्दाङमा निर्माण सम्पन्न कालिका देवी मन्दिर तथा आसपासका संरचना आगामी आइतबार औपचारिक रूपमा उद्घाटन गरिने भएको छ। मन्दिरसँगै निर्माण गरिएको मुल प्रवेशद्वार, पुल र सिंढीसमेत उद्घाटन हुने भएको हो। देश तथा विदेशमा रहेका  ११६ जना स्थानीय सहयोगी दाताहरूले ८ लाख बढीको आर्थिक तथा श्रमदान सहयोगमा उक्त धार्मिक संरचना निर्माण सम्पन्न गरिएको आयोजकले जनाएको छ।

लामो समयदेखि स्थानीयवासी र दाताहरूको सक्रिय सहभागितामा निर्माण कार्य सम्पन्न भएको हो। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस मन्दिरले क्षेत्रको पहिचानलाई थप मजबुत बनाएको आयोजकको भनाइ छ।उद्घाटन समारोहका अवसरमा मन्दिर निर्माणमा योगदान पुर्‍याउने  सहयोगी दाताहरूलाई सम्मान-पत्र प्रदान गरी विशेष सम्मान गरिने कार्यक्रम रहेको छ। कार्यक्रममा स्थानीय बासिन्दा, श्रद्धालु भक्तजन, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

धार्मिक आस्था र सांस्कृतिक पहिचानको संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको यस मन्दिरले लुङ्सुङ्दाङ क्षेत्रलाई मात्र नभइ सिङ्गो पालिकाको धार्मिक तथा आन्तरिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सहयोग पुर्‍याउने विश्वास लिइएको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रले भविष्यमा भक्तजन तथा पर्यटकलाई आकर्षित गर्ने स्थानीयको भनाइ छ।

आगामी दिनमा मन्दिरको संरक्षण, व्यवस्थापन तथा प्रवर्द्धनलाई अझ व्यवस्थित बनाउँदै यस क्षेत्रलाई धार्मिक तथा पर्यटन केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारिएको आयोजकले जनाएको छ। यसैबीच, कालिका देवी मन्दिर व्यवस्थापन समितिले मन्दिर निर्माणमा आर्थिक तथा अन्य सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगी दाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै उद्घाटन समारोहका अवसरमा सम्मान गरिने जनाएको छ। कार्यक्रम लुङ्सुङ्दाङ कालिका देवी मन्दिर पर्यटन संरक्षण समितिको आयोजनामा सम्पन्न हुनेसमितिका अध्यक्ष हाङ्सुरुम्बा थेगिमले कार्यक्रमबारे जानकारी दिए। बिहान ७ बजेदेखि  पाठ-पुजा सुरु हुनेछ भने दिउँसो सांस्कृतिक कार्यक्रमसहित एकदिने मेला पनि आयोजना गरिएको  उनले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार