
एक्काइसौ शताब्दीको दौरानमा मानवीय जेनेरेशन जेड देखि अल्फातिर लम्किरहेको, यो चरण भौतिक विकासले छलाङ्ग मार्दै प्रविधिमैत्री समय चलिरहदाँ विश्व प्रविधिको एक सानो हिस्सामा व्यक्ति व्यक्तिको हातमा अडिरहेको समयमा “प्रविधिको सही प्रयोग गरौंः लैङ्गिक हिंसा अन्त्य गरौं” र “UNITE TO END DIGITAL VIOLENCE AGAINST ALL WOMEN AND GIRLS” क्रमशः अन्तराष्ट्रिय र राष्ट्रिय नारा सहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान (इ.स. नोभेम्बर २५ देखि डिसेम्बर १०), ३४ औं अन्तराष्ट्रिय दिवस तथा ७७ औ अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाइ रहदाँ डिजिटल युग/समयको चर्चा चलिरहदाँ महिलाले प्रत्यक्ष रुपमा सामना गरिरहेको एक अदृष्य, चर्चामा नआउने, छाँयामा रहेको, हेलचेक्राइमा परेको एक मात्र सवाल हो रजोनिवृत्ति (महिनावरी सुक्नु) (Menopause) लैङ्गिक हिंसासंग अप्रत्यक्ष र प्रत्यक्ष रुपमा जोडिएको एक अदृश्य कारक तत्वका कारण लिंगका आधारमा हिंसा हुन सक्ने वा भइरहेको पाइन्छ ।
हुन त रजोनिवृत्ति महिलाहरुको जीवनको एक सामान्य र निरन्तर हुने जैविक प्रक्रिया हो तर महिलाको जीवनको प्राकृतिक संक्रमणकालीन अवधिको गम्भीर रुप पनि हो रजोनिवृत्ति । विश्व स्वस्थ्य संगठनले उल्लेख गरे अनुसार “रजोनिवृत्ति कुनै शल्यक्रिया वा चिकित्सा प्रक्रियाहरुको परिमाण बाहेक सामान्यतया धेरैजसो महिलाहरुले ४५ देखि ५५ बर्षको उमेरमा रजोनिवृत्तिलाई जैविक बुढ्यौलीको प्राकृतिक भागको रुपमा अनुभव गर्छन् । यो अवस्था डिम्बग्रन्थीको फोलिक्युलर कार्यमा कमी र रक्तसंचारमा एस्ट्रोजन र प्रोजेस्टेरोन हर्मोनको कमीको कारणले हुन्छ । यो क्रमिक प्रक्रिया हो जुन महिनावरी चक्रमा परिवर्तनबाट शुरु हुन्छ । मेनोपज अवधिलाई सामान्यतया ३ चरण; पेरिमेनोपज, मेनोपज र पोष्टमेनोपज भनेर बुझ्ने गरिन्छ भने यस कम्तिमा १४ बर्षको समयावधिलाई रजोनिवृत्ति (मेनोपज) अवधिको रुपमा लिने गरेको छ । पेरिमेनोपज महिनावरी सुक्नु भन्दा धेरै अघिबाट शुरु भई शारीरिक, भावनात्मक, मानसकि र सामाजिक रुपमा असर गर्न सक्छ । यस समयावधिमा महिलाहरुमा हुने एस्ट्रोजन हर्मोनमा परिवर्तन हुने हुदाँ शारीरिक र मानसिक तथा भावनात्मक रुपमा फरक फरक परिवर्तित लक्षणहरु देखा पर्ने र दैनिक जीवनमा असर गरिरहेको हुन्छ । शारीरिक रुपमा महिनावरीमा गडबढी भई बढी वा कम रगत जाने, लामो वा थोरै दिनमा रगत बग्ने वा छोटो छोटो समयमा रगत बग्ने वा लामो समय महिनावरी नै नहुने, अचानक गर्मी वा जाडो हुने, राती बढी पसिना आउने, निन्द्रामा गडबढी हुने सुत्न/निदाउन नसक्नु, योनीमा सुख्खापन बढ्ने, शरीर थाक्न, टाउका दुख्ने, जोर्नी दुख्ने वा गल्ने, सुनिने, रक्तचापमा गडबढी, स्तन दुख्ने वा कमलो हुने, मुटुको धड्कन बढ्ने, कपाल पातलो वा सुख्खा हुनु र तौल बढ्नु जस्ता लक्षण देखिन्छ । यसैगरी भावनात्मक तथा मानसिक रुपमा मु ड परिवर्तन; छिनमा खुशी वा दुखी हुने, चिडचिडापन बढ्ने/झर्को लाग्ने, चिन्ता बढ्ने, स्मरणशक्तिमा गडबढी भई चाँडै विर्सने समस्या हुने, यौन इच्छा नहुने तथा दिक्दारी हुन गर्दछ । यी उल्लेखित लक्षणहरु सामनासंगै १२ महिना सम्म पनि महिनावरी नभएपछि एक महिला रजोनिवृत्तिको अवस्थामा पुग्ने गर्छ । यस अवस्थामा एस्ट्रोजन र प्रोजेस्टेरोन हर्मोन उत्पादनमा कमी आउने हुदाँ डिम्ब उत्पादन पनि बन्द हुन्छ ।”
यस समयावधिमा देखिने विभिन्न लक्षण र महिलाको व्यवहारमा आउने परिवर्तन (मेनोपज) बारे घरपरिवार तथा वैवाहिक जीवनमा श्रीमान/जीवनसाथीले वेवास्ता गर्दा वा जानकारीको कमी हुदाँ महिलालाई घरपरिवार, समाज, छरछिमेक र आफन्तजनले हेर्ने दृष्टिकोण समेत फरक हुन्छ । जसको कारण कतिपय अवस्थामा सम्बन्ध विग्रने, हिंसात्मक गतिविधि बढ्ने साथै वैवाहिक जीवनमा अलगिनु, यौनजन्य हिंसा, वैवाहिक बलत्कार जस्ता घटना हुन्छ । महिलाको जीवनको यो समयावधि र अवस्थालाई महिलाको व्यक्तिगत सवाल र प्राकृतिक अवस्थाको रुपमा मात्र सम्बोधन गरी महत्व नदिदां, वेवास्ता गर्दा जानी नजानी महिला स्वयंले धेरै हिंसाको शिकार बन्न पुगेको त छ नै यसका साथ साथै कतिपय अवस्थामा अन्य व्यक्तिहरुले हिंसा सहनु परेको पनि उति नै उल्लेखनीय छ । सामन्यतय महिलाहरुमा देखिने यी परिवर्तन अपवादको रुपमा केहीलाई नदेखिन पनि सक्छ ।
मेनोपज कुनै एक घटना नभई एक लामो अदृश्य र सम्बोधन गर्न नसकिएको एक अवधि हो जुन महिला मात्रको व्यक्तिगत सवाल मात्र नभई सामाजिक र जैविक दृष्टिकोणबाट पनि उत्तिकै महत्व राख्दछ । सामाजकि रुपमा महिलाको रजोनिवृत्तिको अनुभव लैङ्गिकताका आधारमा उल्लेखति मापदण्ड, पारिवारिक र सामाजकि–सांस्कृतिक मान्यता, चालचलन, व्यक्तिगत स्वभाव, व्यक्तिको व्यवहारबाट प्रभावित हुन सक्छ । महिला स्वयंलाई पनि आफु मेनोपज अवधि वा पेरिमेनोपज, पोष्टमेनोपज चरणमा रहेको जानकारी नहुदाँ शारीरिक र मानसिक रुपमा आउने परिवर्तन र आफ्नो दैनिक व्यवहारमा आएको परिवर्तनले विशेषत घर परिवार तथा जीवन साथी/श्रीमानसंग गर्ने व्यवहार, बोलीचालीको कारण दोहोरो हिंसा हुने र उक्त परिवर्तित बानी व्यवहार बारे कसैले पनि सम्बोधन गर्न नसक्दा घटेका धेरै हिंसाका घटनाहरु ओझेलमा छन् । अर्को पाटो महिला अधिकारको सवालमा बहस र छलफल चलिरहदाँ पनि महिलाको स्वास्थ्य अधिकारसंग प्रत्यक्ष सम्बन्ध राख्ने मेनोपजको सवाल कही कतै छलफलमा आउन नसकेको, हेलचेक्राइमा राखिएको र महिलाको व्यक्तिगत समस्याको रुपमा मात्र देखिएको गम्भीर सवाल हो जुन लैङ्गिकताको आधारमा हुने हिंसाको एक पराकाष्ठ नै हो । यसर्थ लैङ्गिक हिंसाका माध्यम डिजिटल अवस्थामा आइसकेको सन्दर्भ सहित १६ दिने अभियान मनाइरहदाँ मानव जीवनको कालखण्डबाट एक महिलाले भोग्दै आएको शारीरिक तथा मानसिक हिंसाका स्वरुप र कारण (रजोनिवृत्ति) को अवधिमा महिलालाई माया, हेरचाह, साथ र सहयोग गरौं, रजोनिवृत्ति अवधिको सम्बोधन गरी हिंसा नगरौं र हिंसा हुनबाट आफु पनि बचौं । महिलालाई परिवर्तन भएको नाममा आलोचना नगरौं, लाञ्छना नलगाऔं, यौनजन्य हिंसा नगरौ र र गालीगलौज होइन सम्मानपूर्ण व्यवहार गरी महिलाको प्रजनन स्वस्थ्य अधिकारको सुनिश्चित गरी एक जिम्मेवारीपूर्ण साथको उदाहरण बन्नु हामी सबैको कर्तव्य हो ।

















































