
नेपालको राजनीतिलाई आजको अवस्थामा बुझ्दा एउटा चित्र दिमागमा आउँछ-डाँमेर छाडेको साँढ। ल्याइए साँढ मालिकको काम सजिलै गर्न सक्थ्यो, तर डाँमेर छोड्नेबित्तिकै अनियन्त्रित भएर खेत जोत्न साटो गाउँमै हाहाकार मच्चाउँछ । नेपालको नेतृत्व पनि त्यस्तै भयो, संविधान, गणतन्त्र, संघीयता सबै साधन थिए,तर नियन्त्रण गुमेको नेतृत्वले जनतामाथि कुशासनको आँधी ल्याइदियो ।
जनयुद्धदेखि आजसम्म अपूर्ण यात्राको कथा हामीले ठूलो बलिदान गरेर जनयुद्ध सुरु गर्यौं । हजारौं सहिदहरूको रगत, हजारौं परिवारको पीडा र लाखौं जनताको आस्था थियो यस आन्दोलनमा । जनयुद्धले राजतन्त्रलाई ढाल्यो, गणतन्त्र ल्यायो, संघीयता र धर्मनिरपेक्षता स्थापन गर्यो । तर यात्रा त्यहीँ रोकियो । नेताहरूको ध्यान राष्ट्र पुनर्निर्माणमा नभई कुर्सीमा केन्द्रित भयो । जसको परिणाम आज जनता रोग, भोक, बेरोजगारी र निराशामा तड्पिरहेका छन् । किन आयो Gen-Z आन्दोलन ? आज उठेको Gen-Z आन्दोलन कुनै आकस्मिक घटनामात्र होइन । यो हाम्रो आफ्नै राजनीतिक असफलताको प्रत्यक्ष परिणाम हो । जब संविधानलाई समय अनुसार संशोधन गरिएन, जब नेतृत्वले सत्ता र सुविधा मात्र रोज्यो, जब भ्रष्टाचार, तस्करी र दलाल चरित्रले शासनलाई कब्जा गर्यो, त्यो बेला स्वाभाविक रूपमा नयाँ पुस्ता सडकमा निस्किनै पर्छ । यो आन्दोलन हाम्रो नै इतिहासको निरन्तरता हो । जनयुद्ध हामीले जन्मायौं, तर यस पुस्ताले त्यसलाई अर्को स्वरूपमा अगाडि बढाइरहेको छ । यो पुस्ताले हामीलाई सोधिरहेको छ, तिमीहरूले ल्याएको गणतन्त्र के जनताको हो ? कि नेताहरूको ?
आत्मसमीक्षा
नेकपा (माओवादी केन्द्र) को जिम्मेवारी माओवादी केन्द्रका हामी कार्यकर्ताले यस प्रश्नबाट भाग्न सक्दैनौं । हामीले गरेको योगदान ऐतिहासिक भए पनि, हामीले गरेका गल्तीहरू पनि यति गम्भीर छन् कि आज जनता असन्तुष्ट छन् । त्यसैले हामी जनतालाई स्पष्ट भन्न चाहन्छौं : हो, गल्ती हाम्रो पनि हो । कुर्सीलाई प्राथमिकता दिँदा जनताको सपना अधुरो बन्यो । हामी माफी माग्छौं ।
अबको बाटो
तलदेखि माथिसम्म रूपान्तरण आत्मसमीक्षा मात्र पर्याप्त छैन । अब ठोस बाटो तय गर्नैपर्छ ।
संविधान संशोधन – समय अनुसार संविधानलाई परिमार्जन गरेर जनताको सीधा प्रतिनिधित्व हुने व्यवस्था ल्याउनुपर्छ ।
0पूर्ण समानुपातिक निर्वाचन प्रणाली – प्रत्येक नागरिकको मत बराबरी हुनुपर्छ । दलित, महिला, आदिवासी जनजाति, मधेसी, मुस्लिम, अल्पसंख्यक सबैलाई संसदमा स्थान सुनिश्चित गर्नुपर्छ ।
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिय प्रणाली – अस्थिर सरकारको अन्त्य गर्दै अब स्थिर, जवाफदेही र सीधै जनताबाट चुनिने कार्यकारी राष्ट्रपतिय प्रणाली अपरिहार्य छ ।
भ्रष्टाचारविरुद्ध क्रान्तिकारी कदम – पार्टी, सरकार, न्यायालय, सुरक्षा निकाय सबै क्षेत्रमा शुद्धीकरण अभियान चलाउनुपर्छ । भ्रष्टाचार गर्नेले जसको संरक्षणमा भए पनि कडाभन्दा कडा सजाय पाउनुपर्छ ।
नयाँ पुस्ताको नेतृत्व – पुरानो पुस्ताले संघर्ष गरेर बाटो खोल्यो, तर अब बाटो हिँड्ने जिम्मा नयाँ पुस्तालाई दिनुपर्छ । Gen-Z को विद्रोहलाई दबाउने होइन, सही दिशामा रूपान्तरण गर्ने जिम्मा हाम्रो हो ।
निष्कर्ष
डाँमेर छाडेको साँढ जस्तो बनेर अनियन्त्रित नेतृत्वले मुलुकलाई विनाशतिर डोर्याएको छ । अब यो अवस्था लामो समय टिक्दैन। हामीलाई अब माफी, आत्मसमीक्षा र रुपान्तरण बाहेक अरू बाटो छैन । माओवादी केन्द्रका कार्यकर्ताको रूपमा म जनतालाई प्रतिज्ञा गर्दछु, अबको राजनीति कुर्सीको लागि होइन, अबको राजनीति जनताको पीडा अन्त्यका लागि हुनेछ । हामीले सुरु गरेको जनयुद्ध अधुरो छैन, यो निरन्तर रूपान्तरणको प्रक्रिया हो । Gen-Z आन्दोलनले दिएको चेतावनीलाई हामी अवसरका रूपमा लिनुपर्छ । तलदेखि माथिसम्मको शुद्धीकरण, संविधान संशोधन र नयाँ पुस्तासँगको हातेमालो, यही हो अबको बाटो !


















































