अबको कम्युनिष्ट आन्दोलनको नेतृत्व नेकपाले नै गर्नेछ : जयन्ती राई (भिडियोसहित)

  नयाँ बुलन्द
56 Shares

इलाम : नेपाली कम्युनिष्ट पार्टीकी नेतृ तथा राष्ट्रिय सभा सदस्य जयन्ती राईले अबको नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नै गर्ने दाबी गरेकी छन् ।

बुधबार इलाम जिल्लाको माङसेबुङ गाउँपालिकामा आयोजित पार्टी एकता सन्देश सभा तथा प्रतिनिधिसभा सदस्य उम्मेद्वार भेटघाट कार्यक्रममा सम्बोधन गर्दै नेतृ राईले विगतदेखि वर्तमानसम्मको कम्युनिष्ट आन्दोलनको समीक्षा गर्दै अबको राजनीतिक कार्यदिशा नेकपाले नै तय गर्ने बताइन् ।

उनले पछिल्लो राजनीतिक अवस्थाबारे चर्चा गर्दै कम्युनिष्ट आन्दोलन कमजोर पार्ने प्रयास भइरहेको भए पनि त्यसलाई परास्त गर्दै नेकपाले आन्दोलनको नेतृत्व लिने बताइन् । नेतृ राईले भनिन्, ‘नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने, कमजोर बनाउने अनेक प्रयास भइरहेका छन् । तर ती सबै प्रयासका बाबजुद पनि कम्युनिष्ट आन्दोलनको मूल नेतृत्व नेकपाकै हातमा रहनेछ । अबको आन्दोलनलाई सही दिशामा लैजाने जिम्मेवारी नेकपाको हो ।’

उनले कम्युनिष्ट आन्दोलनको मूल उद्देश्य श्रमिक, किसान, उत्पीडित वर्ग र आम जनताको हक अधिकार सुनिश्चित गर्नु रहेको उल्लेख गर्दै त्यसका लागि सशक्त कम्युनिष्ट शक्तिको आवश्यकता रहेको बताइन् । ‘कम्युनिष्ट आन्दोलन कुनै पद र कुर्सीका लागि होइन, जनताको अधिकार, समानता र सामाजिक न्यायका लागि हो । त्यसैले नेकपाले जनताको पक्षमा दृढ भएर नेतृत्व गर्नेछ,’ उनले जोड दिइन् ।

कार्यक्रममा नेकपा नेतृ तथा प्रदेश सभा सदस्य विद्या चाम्लिङले आगामी निर्वाचनमा इलाम क्षेत्र नम्बर–२ का उम्मेद्वार ओमबहादुर गुरुङ (सौरभ) युवा नेतृत्वको प्रतिनिधि भएको उल्लेख गर्दै युवाहरूको सक्रिय सहभागिताले परिवर्तनलाई थप सुदृढ बनाउने बताइन् ।

उनले भनिन्, ‘युवाहरूको उमेर भनेको उडेको चरा समाउने उमेर हो । यही समयमा युवाहरूले जिम्मेवारी लिने हो भने परिवर्तनलाई संस्थागत गर्न सकिन्छ । त्यसैले म सबै युवालाई ओमबहादुर गुरुङलाई जिताउन संगठित भएर लाग्न आग्रह गर्दछु ।’

चाम्लिङले युवाको नेतृत्वले पुरानो राजनीतिक संस्कार तोड्दै नयाँ सोच र ऊर्जासहित जनताको पक्षमा काम गर्ने विश्वास व्यक्त गरिन् ।

प्रतिनिधिसभा सदस्य उम्मेद्वार ओमबहादुर गुरुङले परिवर्तनको यात्रामा आफू सधैं अग्रमोर्चामा रहेको उल्लेख गर्दै अहिलेको उपलब्धिलाई संस्थागत गर्न पुनः जनताको साथ आवश्यक रहेको बताए । उनले जनयुद्धका क्रममा सेनाको गोली लागेर घाइते भएको स्मरण गर्दै भावुक रूपमा भने, ‘म परिवर्तनका लागि गोली खान तयार भएर युद्धमा होमिएको व्यक्ति हुँ । म परिवर्तनकै लागि लडेँ, घाइते भएँ र आज पनि परिवर्तनकै पक्षमा दृढ भएर उभिएको छु ।’

उनले थपे, ‘हामीहरूको त्याग, बलिदान र संघर्षकै कारण आज संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । अब त्यो उपलब्धिलाई संस्थागत गर्दै समाजवादतर्फ अघि बढ्न फेरि एकपटक नेकपालाई विजयी गराउन आवश्यक छ ।’ उनले मतदातासमक्ष ‘तारा’ चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन अपिल गर्दै जनताको भरोसालाई कहिल्यै धोका नदिने प्रतिबद्धता व्यक्त गरे ।

नेकपा नेतृ बन्दना राईले परिवर्तनको सम्बाहक नेकपा रहेको दावी गर्दै यो निर्वाचनबाट पहिलो शक्तिका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिइन् ।

निर्वाचन परिचालन समिति इलाम‍-२ का संयोजक कान्छा लावतीले समाजवाद प्राप्तिको दीर्घकालीन लक्ष्य पूरा गर्न नेकपालाई विजयी गराउनु आजको आवश्यकता भएको बताए । उनले भने, ‘समाजवाद केवल नारा होइन, यो जनताको जीवनस्तर बदल्ने अभियान हो । त्यसका लागि नेकपाको विजय अपरिहार्य छ । सबै कार्यकर्ता र शुभेच्छुक एकढिक्का भएर चुनावी मैदानमा लाग्नुपर्छ ।’

कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता, युवा तथा आम सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले पार्टी एकता, संगठन सुदृढीकरण र चुनावी अभियानलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममार्फत इलाम-२ मा नेकपाको चुनावी अभियानलाई थप ऊर्जा र एकताबद्ध सन्देश प्रवाह भएको नेताहरूले बताएका छन् ।

नेकपा नेता जनम खम्बुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन इलाम-३ निर्वाचन परिचालन समिति सदस्य प्रकाश परियारले गरेका थिए ।

१०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन 

त्यसैगरी सोही कार्यक्रममार्फत १०१ सदस्यीय माङसेबुङ पालिकास्तरीय निर्वाचन परिचालन समिति गठन भएको छ । रोशन राई संयोजक एवम् टीकाराम खुलाल र द्रोण योङहाङ सहसंयोजक रहेका छन् ।

त्यस्तै प्रचारप्रसार समिति  संयोजकमा सन्तोष लावती, युवा विद्यार्थी परिचालन संयोजकमा दिपेश राई, पार्टी परिचालन समिति र निर्वाचन आयोग समन्वय संयोजकमा अनिश सुनुवार चयन भएका छन् ।

त्यस्तै सबै वडामा निर्वाचन परिचालन समिति संयोजक र सहसंयोजक तोकिएका छन् । वडा नं. १ मा हरिका कार्की संयोजक र त्रिपेन राई सहसंयोजक, वडा नं. २ मा गोपाल राई संयोजक र पूर्ण काफ्ले र बेदबहादुर खत्री सहसंयोजक, वडा नं. ३ मा प्रदिप राई (प्रमेश) संयोजक र धनकुमार साम्बा सहसंयोजक रहेको निर्वाचन परिचालन समिति गठन भएको छ ।

त्यसैगरी वडा नं. ४ मा राजकुमार राई संयोजक, वडा नं. ५ मा विकेन्द्र योङहाङ संयोजक र सन्त राई र सुन्दर नेम्बाङ सहसंयोजक एवम् वडा नं. ६ मा मनकुमार राई संयोजक र रञ्जित राई सहसंयोजक रहेको निर्वाचन परिचालन समिति गठन भएको छ ।

भिडियोहरु हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार