कम्युनिष्टहरुबीच एकताको विकल्प छैन : नेता गुरुङ (भिडियोसहित)

  राम योङहाङ
42 Shares

इलामको चुलाचुली गाउँपालिकामा आयोजित नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभालाई मङ्गलबार सम्बोधन गर्नुहुँदै नेकपा नेता एवम् पूर्वमन्त्री देव गुरुङ ।

इलाम : नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् पूर्वमन्त्री देव गुरुङले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध नगरी समाजवादी क्रान्ति सफल हुन नसक्ने बताएका छन् ।

मङ्गलबार इलामको चुलाचुली गाउँपालिकामा आयोजित ‘नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभाएवम् उम्मेद्वार भेटघाट’ कार्यक्रमलाई सम्बोधन गर्दै नेता गुरुङले समाजवादी क्रान्ति सफल बनाउने विभिन्न झुण्डमा रहेका कम्युनिष्टहरु एक हुनुको विकल्प नरहेको बताए ।

नेता गुरुङले पुँजीवादलाई परास्त गर्न नेकपा (एमाले) सहितका कम्युनिष्ट शक्तिहरु एक हुनैपर्ने आवश्यकता औंल्याए । ‘पूँजीवादलाई परास्त गर्न कम्युनिष्ट शक्तिहरुबीच एकता अनिवार्य छ । अहिले नेपाली कम्युनिष्ट पार्टीमा ठूला-सानागरी २१ वटा वामपन्थी दलहरु समाहित भइसकेका छन्,’ गुरुङले भने, ‘यो आन्दोलनमा एमाले पनि समाहित हुनुपर्छ । कम्युनिष्टहरु अलगअलग भएर समाजवादी क्रान्ति सफल बनाउन सकिदैँन ।’

नेता गुरुङले जनयुद्ध र जनआन्दोलनको बालबाट अधिकार सामन्तको हातबाट खोस्न सफल भएपनि जनताको हातमा पुर्याउन नसक्नु प्रमुख समस्या रहेको उल्लेख गरे । उनले उत्पीडित श्रमजीवि वर्गको हातमा सत्ता पुर्‍याउनका लागि कम्युनिष्टहरुबीच एकता गर्दै नेपाली कम्युनिष्ट पार्टी अघि बढेको बताए । ‘अब सिङ्गो कम्युनिष्ट आन्दोलन एकताबद्ध हुनुको विकल्प छैन,’ उनले भने, ‘यसको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गरिहरेको छ, यसमा सम्पूर्ण राष्ट्रवादी, देशभक्त र प्रगतिशील शक्तिहरु पनि समाहित गर्ने कोसिस गरिरहेका छौं ।’

कम्युनिष्टहरु मात्र राष्ट्रवादी हुने दावी गर्दै नेता गुरुङले लोकतन्त्रको रक्षाका लागि समेत विखण्डित कम्युनिष्ट आन्दोलनलाई एकता गर्नुपर्नेमा जोड दिए ।

उनले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीताजस्ता परिवर्तनलाई संस्थागत गर्न आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वारलाई मतदान गरी विजयी गराउन अपिल समेत गरे । नेकपाले सो क्षेत्र (इलाम-२) मा ओमबहादुर गुरुङ (सौरभ) लाई उम्मेद्वार बनाएको छ । त्यहाँ एमालेले सुहाङ नेम्बाङ र नेपाली कांग्रेसले भेषराज आचार्यसहित १४ जना प्रतिष्पर्धामा छन् ।

कार्यक्रममा नेकपा नेता सावित्रीकुमार काफ्ले समर, नेतृ एवम् कोशी प्रदेशसभा सदस्य विद्या चाम्लिङ, इलाम-२ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार ओमबहादुर गुरुङ (सौरभ)  विद्यार्थी नेता नयन राईलगायतले  जनताको उत्पीडित एवम् श्रमजीविको अधिकार स्थापित गर्न नेकपा जनताको माझमा आएको उल्लेख गरे । कार्यक्रम नेकपा नेता न्युसन राईको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा क्षेत्र नम्बर २ निर्वाचन पारिचाल समिति संयोजक कान्छा लावतीसहित युवा, पत्रकार, विद्यार्थी, महिला, किसानलगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार