
इलाम : नेपाली कम्युनिस्ट पार्टी इलाम क्षेत्र नं. २ प्रतिनिधिसभा निर्वाचन परिचालन समितिले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै इलामको माई नगरपालिकास्तरीय निर्वाचन परिचालन विस्तार, उम्मेद्वार परिचयात्मक तथा निर्वाचन विशेष अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।
माई नगरपालिका-८ स्थित लक्ष्मी सामुदायिक वनको भवनमा साविक नेकपा (माओवादी केन्द्र) वडा अध्यक्ष सुवास राईको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेद्वार ओमबहादुर गुरुङ (सौरभ) को परिचय गराउँदै निर्वाचन अभियानलाई प्रभावकारी बनाउने विषयमा विशेष अभिमुखीकरण गरिएको थियो ।
कार्यक्रममा क्षेत्र नं. २ निर्वाचन परिचालन समिति संयोजक कान्छा लावती, माई नगर इन्चार्ज दीपक सेन्चुरी, नेकपा इलाम कार्यालय सचिव प्रकाश परियार, वाइसीएलका नेता विक्रम फियाक, प्रेस सेन्टरका राम योङहाङ, पार्टी नेता मदन लोक्तामलगायतले मन्तव्य राखेका थिए ।
वक्ताहरूले आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन संगठित रूपमा परिचालन हुन कार्यकर्ता तथा शुभेच्छुकलाई आग्रह गर्दै जनताको पक्षमा काम गर्ने प्रतिनिधि चयन गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा अखिल क्रान्तिकारीका नेता नयन राईसहित स्थानीय किसान, मजदुर, महिला, युवा तथा विभिन्न वर्ग र समुदायको सहभागिता रहेको थियो ।
साथै कार्यक्रममा माई नगरपालिकाका ७ र ८ वडामा वडास्तरीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । वडा नं. ७ मा राजकुमारी तामाङ संयोजक र राम तामाङ सहसंयोजक चयन भएका छन् भने वडा नं. ८ मा सुवास राई संयोजक र तेजबहादुर लोक्ताम सहसंयोजक चयन भएका छन् ।
नेकपाले आगामी दिनमा जनसम्पर्क, घरदैलो तथा विभिन्न राजनीतिक कार्यक्रममार्फत निर्वाचन अभियानलाई थप तीव्र बनाउने जनाएको छ ।

























































