
इलाम : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) इलाम-२ प्रतिनिधिसभा निर्वाचन परिचालन समितिले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पालिकास्तरीय निर्वाचन परिचालन विस्तार, उम्मेद्वार परिचयात्मक तथा निर्वाचन विशेष अभिमुखीकरण कार्यक्रम सञ्चालन सुरु गरेको छ ।
नेकपाका अनुसार इलाम-२ अन्तर्गतका विभिन्न नगरपालिका तथा गाउँपालिकामा कार्यक्रम सुरु भएको छ । आइतबार इलाम नगरपालिकामा निर्वाचन परिचालन विस्तार, उम्मेद्वार परिचयात्मक तथा निर्वाचन विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको निर्वाचन परिचालन समिति संयोजक कान्छा लावतीले जानकारी दिए ।
कार्यक्रम सम्बन्धित पालिकामा सञ्चालन हुने कार्यतालिका सार्वजनिक गरेको छ । तालिका अनुसार माघ १२ गते माई नगरपालिका, १३ गते चुलाचुली गाउँपालिका, १४ गते माङसेबुङ गाउँपालिका, १५ गते फाकफोकथुम गाउँपालिका हुँदै माघ १६ गते देउमाई नगरपालिकामा कार्यक्रम सम्पन्न गरिनेछ ।
नेकपाका उम्मेद्वार ओमबहादुर गुरुङ (सौरभ) को पक्षमा जनमत सृजना गर्ने उद्देश्यले आयोजना गरिएका कार्यक्रममा पार्टी नेता, कार्यकर्ता, जनवर्गीय संगठनका प्रतिनिधि, युवा तथा स्थानीय नागरिकहरूको सक्रिय सहभागिता रहने बताइएको छ ।
कार्यक्रमबारे जानकारी दिँदै निर्वाचन परिचालन समिति संयोजक लावतीले भने, ‘निर्वाचनलाई जनमुखी र प्रभावकारी बनाउन पालिकास्तरमै संगठन सुदृढीकरण, उम्मेद्वार परिचय र कार्यकर्ता अभिमुखीकरणलाई प्राथमिकतामा राखिएको छ ।’
निर्वाचन परिचालन समितिले सबै पार्टी पङ्ती तथा शुभेच्छुकहरूलाई कार्यक्रममा सक्रिय रूपमा सहभागी हुन आह्वान गरेको छ । समितिले अहिलेको राजनीतिक परिवर्तनको रक्षा र सुदृढीकरणका लागि नेकपाको विजय आवश्यक भएकाले एकताबद्ध भएर चुनावी अभियानमा जुट्नुपर्ने समय आएको जनाएको छ ।























































