ज्योति मगर फाकफोकथुममा पहिलो पटक, रातमाटेमा उर्लियो दर्शकको जनसागर (फोटो फिचरसहित)

  युद्धबहादुर बोहोरा
1k Shares

इलाम: चर्चित गायिका ज्योति मगरले पहिलो पटक पश्चिम इलामको फाकफोकथुम ३, रातमाटेमा प्रस्तुति दिँदै कन्सेरी माईगंगा मेलालाई विशेष बनाएकी छिन्। माघ २ गते आयोजित बृहत् सांस्कृतिक कार्यक्रममा उनको  स्थानीय मात्र होइन, छिमेकी पालिका र अन्य जिल्लाबाट समेत अधिकाँश दर्शकलाई आकर्षित गरेको थियो।

मेला तथा चौथो सिरिजंगा स्मृति फुटबल प्रतियोगिताको अवसरमा आयोजना गरिएको उक्त सांस्कृतिक कार्यक्रममा ज्योति मगर स्टेजमा उक्लिनासाथ दर्शकको हुटिङ, ताली र उत्साहले रातमाटे क्षेत्र उत्सवमय बनेको थियो। उनका चर्चित गीत र ऊर्जाशील नृत्य प्रस्तुतिले दर्शकलाई अन्तिम क्षणसम्म बाँधेर राख्यो। प्रत्यक्ष रूपमा उनलाई हेर्ने चाहना बोकेका दर्शकहरूको भीडले कार्यक्रमस्थल खचाखच भरिएको थियो।

नेपाली लोकदोहोरी, आधुनिक गीत तथा बोल्ड स्टेज प्रस्तुतीमार्फत युवापुस्तामाझ लोकप्रियता कमाएकी ज्योति मगर देश-विदेशका मञ्चमा समेत चर्चित कलाकार हुन्। फाकफोकथुममा उनको पहिलो आगमनले कन्सेरी माईगंगा मेलालाई थप ऐतिहासिक बनाएको स्थानीयवासीहरूको प्रतिक्रिया छ। कार्यक्रम स्थल सिरिजंगा स्मृति खेलमैदान  रातमाटेमा मध्यान्ह रातको १२ बजेसम्म दर्शकको जनसागर उर्लिएको थियो ।

सांस्कृतिक कार्यक्रममा ज्योति मगरसँगै गायक तथा संगीतकार आइन्द्र नेम्बाङ, सेसेहाङ योङहाङ, निरन्ता नेम्बाङलगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूले पनि आ-आफ्नो प्रस्तुति दिएका थिए। कार्यक्रम फाकफोकथुम गाउँपालिकाको प्राविधिक सहयोग र वडा नम्बर ३, रातमाटेको सहकार्यमा सिरिजंगा सांस्कृतिक क्लबद्वारा आयोजना गरिएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल, वडाध्यक्ष दिपेन्द्र थेगिम तथा क्लबका पदाधिकारीहरूले कलाकारहरूलाई भव्य स्वागतसँगै  मायाको चिनो प्रदान गरेका थिए।

विगतमा साविक आमचोक, फाकफोक र एकतप्पा गाविसको संगमस्थल फाकफोक खोलाको कन्सेरी क्षेत्रमा लाग्दै आएको ऐतिहासिक मेला द्वन्द्वकालका बेला लामो समयसम्म स्थगित भएको थियो। यस वर्षबाट खोलादेखि केही माथि रातमाटेमा पुनः सञ्चालनमा ल्याइएपछि पुरानो सांस्कृतिक पहिचान पुनर्जीवित भएको वडाध्यक्ष थेगिमले बताए।

ज्योति मगरको दमदार प्रस्तुति, फुटबल प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रमसँगै कन्सेरी माईगंगा मेला पश्चिम इलामकै प्रमुख सांस्कृतिक आकर्षणका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ । आयोजक सिरिजंगा सांस्कृतिक क्लबले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार