
इलामः किरात समुदायको ऐतिहासिक तथा मौलिक पर्व कक्फेवा तङ्नाम २०८२ इलामको फाकफोकथुम गाउँपालिका–७, एकतप्पा दोकानडाँडामा भव्य सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको छ। माघ १ गते आयोजित कार्यक्रममा स्थानीयवासीसहित इलाम र पाँचथरका विभिन्न स्थानबाट आएका दर्शकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले कक्फेवा तङ्नाम किरात सभ्यता, प्रकृति र सामुदायिक एकताको प्रतीक भएको उल्लेख गर्दै यस्ता मौलिक पर्व संरक्षण र प्रवर्द्धनमा स्थानीय तह सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गरे। उनले दोकानडाँडा क्षेत्रलाई सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीयको सक्रिय भूमिका महत्वपूर्ण रहेको धारणा राखे ।

कार्यक्रमलाई सफल बनाउन देश तथा विदेशबाट आर्थिक तथा भौतिक रूपमा सहयोग पुर्याउने दाताहरू, मंच निर्माणमा सहयोग गर्ने सहयोगीहरू, सुरक्षाकर्मी, स्वयंसेवक, कलाकार तथा मिडियाकर्मीहरूप्रति आयोजक समितिले हार्दिक आभार व्यक्त गरेको छ। कार्यक्रममा सहभागी प्रमुख अतिथि, विशेष अतिथि, कलाकार तथा सहयोगीहरूलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो।
यस वर्षको कार्यक्रमको मुख्य आकर्षण चर्चित गायिका सम्झना योङहाङको दमदार प्रस्तुति रह्यो। पाँचथरको हिलिहाङ–३ स्थायी घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएकी योङहाङले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै दोकानडाँडाको माहोल तताइन्। दर्शकहरू उनको प्रस्तुतीमा झुम्दै भरपूर मनोरञ्जन लिएका थिए। पछिल्लो समय पूर्वी पहाडमा गायिका योङ्हाङका गीतहरू दर्शकले रुचाउँन थालेपछि विभिन्न महोत्सव तथा पर्वहरुमा आयोजना गरिने साँगीतिक कार्यक्रममा उनलाई निमन्त्रणा गर्ने लहर बढेको छ ।


कार्यक्रममा च्याब्रुङ नाचसहितका परम्परागत सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। साथै नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको नृत्य प्रतियोगितामा उत्कृष्ट हुने प्रतिस्पर्धीहरूलाई क्रमशः रु.पाँच हजार एक सय , तीन हजार छ सय र दुई हजार छ सय नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।


संघ–संस्था तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कक्फेवा तङ्नामले सामाजिक एकता, सांस्कृतिक चेतना र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको बताएका थिए। उनीहरूले दोकानडाँडा क्षेत्रलाई सांस्कृतिक गन्तव्यका रूपमा विकास गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए।
आयोजक समितिका अध्यक्ष पच बहादुर योङहाङले कार्यक्रम सञ्चालनका क्रममा भएका केही कमजोरीहरूलाई आगामी दिनमा सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरे। साथै दर्शक तथा सरोकारवालाहरूका सल्लाह–सुझावलाई सधैँ सम्पत्तिका रूपमा ग्रहण गरिने उनको भनाइ थियो।

प्रकृति, समयचक्र र जीवनदर्शनसँग जोडिएको कक्फेवा तङ्नाम पर्वका अवसरमा वनजंगल सरसफाइ, वनस्पति सम्मान, सामूहिक भोजन तथा सामाजिक सद्भाव अभिवृद्धि गर्ने परम्परा रहेको छ। स्थानीयवासीहरूको सक्रिय सहभागिता, कलाकारहरूको उत्कृष्ट प्रस्तुति र अतिथिहरूको उपस्थितिले यस वर्षको कक्फेवा तङ्नाम दोकानडाँडामा सभ्य, भव्य र सफल रूपमा सम्पन्न भएको आयोजक समितिले जनाएको छ।




















































