
इलामः नेपाली गीत-संगीत सृजनाको उर्वर भूमि इलाममा जन्मिएका किशो गायक सौगात प्रधानले आफ्नो पहिलो गीत “फर्कि आइदेउ” सार्वजनिक गरेका छन्। सूर्योदय नगरपालिका–११, तीनघरेमा जन्मिएका १५ वर्षीय प्रधानले आफ्नै शब्द, संगीत र स्वरमा तयार पारेको यो गीत सौगात प्रधान युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । उनले जीवनका मोडहरूमा गरेका गल्ती, कमजोरीहरू हुँदाहुँदै पनि मायालुसँग सँगै रहने इच्छा व्यक्त गरेका छन्। गीतमा गायक प्रधानसँगै गायीका कृतिका राईको अभिनय रहेको छ। संगीत समायोजन जोनी तामाङले गरेका हुन् भने रेकर्डिङ सन्लाइट रेकर्डिङ स्टुडियो, बिर्तामोडमा गरिएको हो।
सौगात प्रधान हाल स्थानीय सेन्ट अगस्टिन एकेडेमिक फाउन्डेसनमा कक्षा ९ मा अध्ययनरत छन्। उनी डोजो खेलाडी समेत हुन्। बाल्यकालदेखि नै गीत संगीतमा रुचि राख्ने प्रधानको नाताले मावली हजुरबुबा पर्ने, गायक चन्द्र श्रेष्ठको प्रेरणाबाट गीत संगीतमा उनको रुचि जागेको थियो।गीत सार्वजनिक कार्यक्रम फिक्कलको सिभान्स क्याफेमा सोमबार साँझ आयोजित सांगीतिक कार्यक्रमको बीच सम्पन्न भएको थियो। कार्यक्रममा गायक तथा संगीतकार भुपेन्द्र राई अध्यक्ष रहेका थिए भने प्रमुख अतिथि पुजन प्रधान रहनुभएको थियो।
कार्यक्रममा सुर्योदय जेशिजका अध्यक्ष विवेश अधिकारी, गायक-संगीतकार रगुन गुरूङ, चन्दन किसोर शुब्बा, लेखु मुखिया, गायिका कृतिका राई, गायत्रा ओली घिमिरे, सन्तोष शिवा, आस्विन प्रधान, समाजसेवी निर्मला अग्रवाल कट्टेल लगायतका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। सार्वजनिक गीतले युवा प्रतिभाको प्रगति र नेपाली गीत-संगीतमा सृजनात्मक उर्जा थप्ने विश्वास व्यक्त गरिएको छ।



















































