बुढापाकाले गफ गरेको सुनेको थिएँ– लेकमा चौँरी पाइन्छ । यदाकदा प्रदर्शनीमा एक/दुईवटा देखाउन ल्याइएका चौँरी हेरेको चाहिँ थिएँ ।
त्यत्तिले प्रत्यक्ष चौँरी बथान हेर्ने मेरो रहर पूरा भएको थिएन । वास्तविक चौँरीको हुल र बाछाबाछीसँगै चौरमा सयौँ चौँरी एकै ठाउँमा रमाएको देख्ने इच्छा थियो ।
१ वैशाख २०८२ अर्थात् नयाँ वर्षमा नेपाल र भारतको सिमानामा पर्ने पाँचथरको फालेलुङ गाउँपालिकाको शिर चारराते भन्ने ठाउँ पुगियो । विगत वर्षझैँ यस वर्ष पनि त्यहाँ आठौँ फालेलुङ चौँरी पर्यटन महोत्सवको आयोजना गरिएको थियो ।
पाँचथरको फिदिमबाट उत्तरपूर्वमा रहेको यस स्थानमा कष्टले मोटरसाइकल यात्रापछि पत्रकारको टोलीसँगै टेकियो । पुग्नासाथ चौँरीको हुलले मेरो ध्यान खिच्यो । साथमा गएका साथीहरू बिर्सिएछु ।
चौँरीको हुलको पछिपछि लागेँ । कहिले पुच्छर समाउँदै चौँरी धपाउने साथीहरूलाई फोटो र भिडियो खिच्न लगाएँ त कहिले चौँरी सुमसुम्याएँ । चौँरीको बथानमा केही बेर रम्न पाउँदा मनै प्रसन्न भयो । धेरै थरीका चौँरी र सानाठूला बाछाबाछीसँग खेल्न पाएकोमा सौभाग्य ठानेँ । कहिलेकाहीँ सपनामा मैले देख्ने गर्थें, यस्तै अनकन्टार ठाउँमा रमाएको ।
चर्चित पत्रकार विद्या चापागाईंले कुनाकन्दरामा पुगेर गोठालाहरू र लेकमा बस्ने मानिसहरूको कथालाई ‘हेर्ने कथा’मार्फत प्रसारण गरेको यादझैँ भयो । म त्यही कथाको आसपासमा घुमिरहेको पो छु कि !
कठिन यात्रा पार गरेर जब थाप्लोमा पुगिन्छ, तब स्वर्गको एक टुक्रा शहरजस्तै देखिन्छ । समुद्री सतहबाट यहाँको उचाइ करिब ३ हजार ५ सय मिटर छ, यही ठाउँमा विश्वमै लोपोन्मुख अवस्थामा पुगेको चौँरी हेर्ने रहर पूरा गर्न सकिन्छ ।
विगत वर्षहरूमा त्यहाँ जाने इच्छा विविध कारणले पूरा भएन । यसपटक गएर चौँरीसँग खेल्ने चाहना पूरा भयो । अत्यन्तै रमाइलो क्षणले कल्पना गरेको ठाउँमा पुगेझैँ लाग्यो । चौरीको हुलसँग पहिलोपटक रमाउँदा बेग्लै आनन्द महसुस गरेँ ।
भारत, भुटानलगायत विभिन्न देशबाट आएका मानिसहरू पहिलोपटक यहाँ आइपुगेको बताउँथे । बच्चादेखि बुढापाकासम्म थिए । लेकाली भेगमा आयोजित चौँरी महोत्सव हेर्न आएका उनीहरू मजस्तै चौँरी देख्दा हुरुक्क भए । उच्च पहाडमा रहेको नाङ्गो चौर र दुई देश (नेपाल–भारत) सिमानामा पर्ने चिसो ठाउँ, जहाँ एकैछिनमा असिना खस्छ, एकैछिनमा तातो घाम लाग्छ भने कोही बेला हिउँ खस्छ ।
यस्तो सुन्दर फाँटिलो चौरले मन लोभ्याएरै छोड्छ । नपुग्नेलाई कहिले पुगौँ लाग्न सक्छ । एकपटक पुगेकालाई फेरि कहिले जान पाइएला भन्ने लागिरहन्छ । तर, त्यहाँ पुग्न त्यति सहज भने छैन । धेरैजसो मोटरसाइकल उकालो गुड्न नसकेर त्यहीँदेखि मुनितिर अड्किने र अधिकांश मोटरसाइकलको क्लज प्लेट जाने समस्या देखिएको सँगै गएका पत्रकार कृष्ण दुलालले सुनाए ।
चाररातेमा इन्टरनेटको पहुँच छैन । यस ठाउँको लाइभ दृश्य देखाउने धेरैको इच्छा हुन्छ तर इन्टरनेटको पहुँच नहुनाले त्यसको सम्भावना न्यून छ । नयाँ वर्षको दिन रातसाँझ भए पनि जानेहरूको भिड फर्किने बेलासम्म उत्तिकै थियो । यसलाई चौँरी महोत्सवप्रतिको आकर्षणका रूपमा पनि लिन सकिन्छ । महोत्सव बर्सेनि आयोजना गरिन्छ ।
यसपटक फालेलुङमा पहिलोपटक चौँरीपालन व्यवसाय गरेका देवीप्रसाद नेपाल र तेञ्जिङ भोटिया सम्मानित भए । चौँरीका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका गाउँपालिका उपाध्यक्ष महेन्द्रहाङ जबेगूले जानकारी दिए ।
खासगरी आन्तरिक पर्यटकको घुइँचो रहेको महोत्सवमा चौँरीपालक बीच डोरी तान्ने खेल रोमाञ्चक भयो । याक नृत्य देखियो । जादुगर शेरबहादुर गुरुङको जादुले उत्तिकै मनोरञ्जित बनायो । अन्य सांस्कृतिक कार्यक्रम भए । चौँरीजन्य खानपिन खाइयो । चौँरीजन्य सामग्री, स्थानीय घरेलु उत्पादन, हिमाली संस्कृति झल्काउने सामग्री तथा दृश्यहरू प्रदर्शनीमा थिए । मौसम भने प्रतिकूल थियो । त्यसका बावजुद पनि भव्यताका साथ महोत्सव सम्पन्न भयो ।
चौँरीपालनतर्फ नयाँ पुस्तालाई आकर्षित गर्न फालेलुङ गाउँपालिकाले चौँरी महोत्सव आयोजना गरेको हो । यसबाट रैथाने परम्परा जोगिनुका साथै आर्थिक क्षेत्रमा पनि टेवा पुग्ने विश्वास गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङले लिए ।
३१ चैतदेखि २ वैशाखसम्म चलेको महोत्सवमा पूर्वी पहाडका विभिन्न जिल्लासँगै झापासहित भारतको पन्जाब, पश्चिम बंगाल, सिक्किमदेखि भुटानसम्मका पर्यटकहरू देखिए ।
महोसत्वमा साझेदार फालेलुङ कञ्चनजंघा पर्यापर्यटन प्रवर्द्धन संस्था, दीपज्योति युवा क्लब र कञ्चनजंघा चौँरीपालन तथा संरक्षण संस्था थिए । महोत्सवबाटै ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ को शुभारम्भ भयो । कोशी प्रदेशका पर्यटनमन्त्री सदानन्द मण्डल र प्रदेश सांसद मैया श्रेष्ठ लावतीले कोशी पर्यटन वर्षको शुभारम्भ गरेका हुन् ।