सूर्योदय देखिने नेब्चोक डाँडामा चैत ३० गतेदेखि पर्यटन महोत्सव हुँदै

  युद्धबहादुर बोहोरा
49 Shares

 

 

 

पाँचथर: नयाँ वर्ष २०८३ को अवसरमा फाल्गुनन्द गाउँपालिका ५ स्थित सूर्योदय देखिने नेब्चोक डाँडामा ‘प्रथम नेब्जोक पर्यटन महोत्सव–२०८२’ आयोजना हुने भएको छ। महोत्सवको मुख्य उद्देश्य नेब्जोक डाँडालाई पर्यटक, धार्मिक र सांस्कृतिक दृष्टिले परिचित गराउनु रहेको आयोजक  नेब्चोक पर्यटन विकास संस्थाले जनाएको छ।

महोत्सव चैत ३० गतेबाट सुरु भएर बैशाख २ गतेसम्म चल्नेछ। यस अवधिभर भलिवल प्रतियोगिता, सांस्कृतिक नाच-केलाङ, धाननाच, चण्डीनाच, झाँकिनाचलगायत विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछन्। यसले स्थानीय सांस्कृतिक पहिचानलाई प्रवर्धन गर्ने मात्र नभई, नयाँ पुस्ता र पर्यटकलाई परम्परागत नाच-नृत्यसँग परिचित गराउने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

नेब्चोक डाँडा फाल्गुनन्द गाउँपालिकाको पर्यटकीय र धार्मिक स्थलको रूपमा प्रख्यात छ। यहाँबाट मनोरम सुर्योदय दृश्य देखिनुका साथै घुमफिर, पिकनिक, फोटोसुट र अन्य मनोरञ्जन गतिविधिहरूको लागि उपयुक्त वातावरण तयार छ। इलाम र पाँचथरको सिमानामा पर्ने यस क्षेत्रमा केही सामान्य पूर्वाधार निर्माण (सिँढी)  बनेको छ भने निर्माणधीन राँके-रवि-भेडेटार सडक कालोपत्र र पूर्वाधार निर्माण पूरा भएपछि यहाँको पर्यटक घुइँचो उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ।

यस स्थानबाट कुम्भकर्ण, कंचनजंघा हिमाल साथै पूर्वी नेपालको अन्य हिमाल तथा आसपासका जिल्लाहरूको दृश्यावलोकन गर्न सकिन्छ। घुर्विसे पञ्चमी बजार नजिकै रहेको यो ठाउँ पर्यटकहरूको सहज आवत–जावतका लागि स्थान महत्वपूर्ण मानिन्छ। महोत्सवको अवसरमा स्थानीय बासिन्दा र बाह्य पर्यटकलाई आकर्षित गर्न पिकनिक स्पोर्ट, साँस्कृतिक प्रदर्शनी, परम्परागत खेलकुद, र प्रकृतिप्रेमी गतिविधिहरूको पनि व्यवस्था गरिएको छ। आयोजकले भविष्यमा नेब्जोक डाँडालाई सांस्कृतिक, धार्मिक र पर्यटकीय दृष्टिले प्रमुख गन्तव्यको रूपमा विकास गर्ने योजना रहेको बताए। महोत्सवले नेब्जोक डाँडालाई स्थानीय पर्यटन प्रवर्धनमा योगदान पुर्‍याउनेछ । यहाँको सांस्कृतिक सम्पदाको संरक्षण र स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार