चट्याङले एक जनाको मृत्यु, अर्का घाइते

  नयाँ बुलन्द
616 Shares

मकवानपुर : चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मंगलबार (हिजो) साँझ करिब ६:३० बजे हुरीसहित वर्षाका क्रममा परेको चट्याङ बागमती गाउँपालिका-१ भैसेस्थित बागमती खोलाको बगरमा दुई जनालाई लागेको थियो।

तीमध्ये गम्भीर घाइते स्थानीय ३२ वर्षका अजय पहरीको उपचारका क्रममा हेटौँडास्थित अस्पतालमा राति ११:२५ बजेतिर मृत्यु भएको हो।

अर्का घाइते ३७ वर्षीय उज्वल थोकर भने हेटौँडामै उपचाररत रहेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) पुष्कर बोगटीका अनुसार दुवै जनालाई माछा मारेर घर फर्किने क्रममा चट्याङ लागेको थियो।

तत्काल उद्धार गरी पहरीलाई प्रारम्भिक उपचारका लागि सुरुमा झुरझुरेस्थित सान्भि पोलिक्लिनिक लगिएको थियो। त्यसपछि हेटौँडा रिफर गरिएको थियो। तर उनलाई बचाउन सकिएन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार