इलाममा दूरदराजका समुदायको यौन तथा प्रजनन स्वास्थ्य सुधारबारे व्यापक छलफल


इलाम : दूरदराजका समुदायमा यौन तथा प्रजनन स्वास्थ्य सेवा पहुँचयोग्य र प्रभावकारी बनाउने उद्देश्यले इलाममा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक तथा सामाजिक परीक्षणसम्बन्धी विस्तृत छलफल कार्यक्रम सम्पन्न भएको छ।

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा र सुनौलो परिवार नेपालको सहकार्यमा सञ्चालन भइरहेको “Advancing the Sexual and Reproductive Wellbeing of Remote Communities in Ilam District, Nepal” परियोजना अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो।

मे २०२४ देखि डिसेम्बर २०२६ सम्म सञ्चालन हुने यस परियोजनाले विशेषगरी दुर्गम तथा सेवाबाट वञ्चित समुदायमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि, सेवा विस्तार तथा गुणस्तर सुधारमा केन्द्रित रहेको छ। कार्यक्रममा परियोजनाको हालसम्मको प्रगति, उपलब्धि, देखिएका चुनौती तथा आगामी कार्ययोजनाबारे विस्तृत प्रस्तुतीकरण गरिएको थियो।
कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख जय प्रकाश राईको अध्यक्षता रहेको थियो भने विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, स्वास्थ्यकर्मी, स्थानीय तहका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

छलफलका क्रममा सहभागीहरूले दुर्गम भेगका नागरिकहरू अझै पनि आधारभूत यौन तथा प्रजनन स्वास्थ्य सेवाबाट वञ्चित रहेको यथार्थ औंल्याएका थिए। जनचेतनाको कमी, स्वास्थ्य संस्थाको सीमित पहुँच, दक्ष जनशक्तिको अभाव तथा सामाजिक–सांस्कृतिक संकोचजस्ता कारणले सेवा प्रवाह प्रभावकारी हुन नसकेको धारणा व्यक्त गरिएको थियो।

कार्यक्रममा बोल्दै इलामकी सन्चारकर्मी सबिता पाण्डेले  विशेषगरी सुरक्षित मातृत्व, परिवार नियोजन सेवा, किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा, यौनरोग तथा प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श सेवा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइएकि थिइन । यस्तै कार्यक्रममा सहभागीले स्थानीय तहको सक्रिय भूमिका, समुदायको सहभागिता र सरोकारवाला निकायबीचको समन्वयलाई अझ सुदृढ बनाउनु पर्नेमा जोड दिइएको थियो।

सामाजिक परीक्षणको महत्त्वबारे चर्चा गर्दै सहभागीहरूले सेवाको पारदर्शिता, उत्तरदायित्व र गुणस्तर अभिवृद्धिका लागि सामाजिक परीक्षण प्रभावकारी माध्यम भएको बताएका थिए। यसले सेवा प्रदायक र सेवाग्राहीबीचको दूरी घटाउँदै विश्वासको वातावरण निर्माण गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको थियो।

कार्यक्रमको सहजीकरण सुनौलो परिवार नेपालका प्रतिनिधि कुमार आचार्य र सामाजिक परीक्षक अर्जुन अधिकारीले गरेका थिए। उनीहरूले परियोजनाले हालसम्म हासिल गरेका उपलब्धिहरू प्रस्तुत गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्न सरोकारवाला सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताएका थिए।
छलफलका क्रममा उठेका सुझावहरूमा दुर्गम क्षेत्रमा स्वास्थ्य शिविरको नियमित आयोजना, महिला स्वास्थ्य स्वयंसेविकाको सशक्तिकरण, किशोरकिशोरी लक्षित सचेतना कार्यक्रम विस्तार, प्रविधिको प्रयोगमार्फत सेवा पहुँच विस्तार तथा स्थानीय स्तरमै जनचेतना अभिवृद्धि गर्नुपर्ने विषयहरू प्रमुख रहेका थिए।

कार्यक्रमले परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक महत्वपूर्ण सुझावहरू संकलन गर्नुका साथै आगामी रणनीति निर्माणमा ठोस आधार तयार गरेको आयोजकले जनाएको छ। यस्ता कार्यक्रमले विशेषगरी सेवाबाट वञ्चित समुदायमा स्वास्थ्य पहुँच विस्तार गर्न र दीर्घकालीन रूपमा समुदायको जीवनस्तर सुधार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार