कुर्सीमा होइन, हिलो र पहिरोमै भेटिने हाकिम “पवन भट्टराई”

  प्रकाश नेपाल
322 Shares

इलाम : गत चैत १७ गते मंगलबार साँझको ७ बजिसकेको थियो । आकाशबाट सिमसिम पानी परिरहेको थियो भने मेची राजमार्गको लसुने खण्डमा केही दिन अघि झरेको सुख्खा पहिरोले पुर्बि पहाडकै लाइफलाइन मानिएको मेची राजमार्गलाई सताईरहेको थियो । यहि पहिरोले सडकलाई केही घण्टा पुर्णरुपमा अवरोध नै बनाएको थियो भने अहिले पनि दोहोरो सवारी आवागमनलाई असहज बनाइनै रहको छ । जहाँ त्यो दिन झप्ककै अध्यारेले छोपिसकेको थियो सर्वसाधारण सुरक्षित यात्राको आवश्यक्ता खोजिरहेका थिए, त्यहीँ अँध्यारो र जोखिमको परवाह नगरी एक व्यक्ति मेशिन र प्राविधिकहरूको टोलीलाई निर्देशन दिँदै ‘थलिएको’ सडक ब्युँताउन तल्लीन देखिनुहुन्थ्यो । ती व्यक्ति हुनुहुन्थ्यो सडक डिभिजन कार्यालय इलामका प्रमुख इन्जिनियर पवन भट्टराई । चैतको महिना, जब आकाशमा बादल मडारिँदै गर्दा धेरैलाई खेतीपाती र घरभित्रको न्यानोको चिन्ता हुन्छ, भट्टराईलाई भने मेची राजमार्गका ती जोखिमपूर्ण स्थानहरु र मेची करिडोर सडकमा पर्ने खोलामा लगाउदै गरेको बेलिबिजहरुको चिन्ता छ ।

२०८१ असोज ३ गते सडक डिभिजन कार्यालय इलामको जिम्मेवारी सम्हालेयता भट्टराईको दैनिकी एसी जडित कार्यकक्षमा भन्दा बढी मेची राजमार्गका घुम्ती, पहिरोका थुप्राहरू र खोलाका किनारहरुमा बितिरहेको छ । उहाँको लागि यो दैनिकी केवल सरकारी जागिर मात्र नभएर, संकटमा परेका पहाडवासीको भरोसा बन्ने एउटा मानवीय संकल्प बनिरहेको छ ।

भट्टराईको कार्यकाल सुरु नहुँदै प्रकृतिले इलाम र पाँचथरलाई कठोर परीक्षा लिएको थियो । २०८१ असोज १२ गते मेची राजमार्गको पाँचथरको हेवाखोलामा रहेको बेलिब्रिज बाढीले बगाएपछि र उक्त राजमार्ग कै इलामको माईखोला खण्डमा हप्तौंसम्म पहिरोले सडक ठप्प पार्दा इलामसहित पाँचथर र ताप्लेजुङ्खको जनजीवन छियाछिया भएको थियो । त्यतिबेला देखि नै भट्टराईले विश्राम पाउनुभएको छैन । यति मात्र हैन बाढिले बगाएको बेलिबिज पुन निमार्ण चलिरहेको र लगभग अन्तिम चरणमा पुग्नै लाग्दा २०८२ जेठ ३१ गते हेवाखोलामा जोड्दाजोड्दै बेलिब्रिज नै भाँचिन पुग्यो । यस्ता प्राविधिक र प्राकृतिक ठक्करहरूले जोकोहीलाई गलाउन सक्थ्यो, तर भट्टराईले हार मान्नुभएन । वैकल्पिक सडक र डाइभर्सन निर्माणका लागि उहाँ संगै कार्यालयको सम्पुर्ण टिम र स्थानिय २४ सै घण्टा खटिनुभयो । तर, चुनौतीले उहाँलाई पछ्याउन छाडेन । बिपदले उहाँको धैर्यको ठूलो परीक्षा लियो ।

यसरी नै फेरी विपदको चक्र यति क्रुर बन्यो कि २०८२ असोज १८ र १९ गतेको बाढीले इलामका दुई सडकहरुमा लगाइएका दुईवटा बेलिब्रिज (पुवाखोला र माइखोला)सहित मेचीकरीडोमा नै पर्ने माइखोलाको बेलासेमा रहेको पक्कीपुल भाचियो भने ठाँउठाँउमा मेची राजमार्गलाई छियाछिया बनाएर पूर्णतः अवरुद्ध बनायो । इलालाई बिपदले गाजेपछि सरकारले समेत बिपद संकटग्रस्त जिल्ला नै घोषण गर्यो । इलामका प्रायः सबै सडक संजाल एक साथ बन्द भए भने सदरमुकाम इलाम बजार र गाँउबस्तीको सम्पर्क मात्र टुटेन एक जिल्ला बाट अर्को जिल्लाको यातायात आवागमन नै ठप्प बन्न पुग्यो “सडक बन्द हुनु भनेको केवल गाडी रोकिनु थिएन, बिरामीको उपचार रोकिनु हो, विद्यार्थीको भविष्य र भान्साको नुन–तेल रोकिनु हो,“ भट्टराईले भन्नुभयो, “जब पहिलो गाडी गुड्छ, तब मात्र मलाई लाग्छ कि जनजीवन फेरि लयमा फर्कियो ।”

परम्परागत सरकारी कर्मचारीको छविभन्दा फरक, भट्टराई ‘हाकिम’ भन्दा बढी ‘सहकर्मी’ का रूपमा चिनिनुहुन्छ । बिहानको झिसमिस देखि मध्यरातको अध्यारो सम्म उहाँ फिल्डमै भेटिनुहुन्छ । केही दिा यता उहाँ बेलासे र पुवाखोलामा बेलिब्रिज जडानको काममा आफैं खटिरहनु भएको छ ताकि आगामी बर्खामा इलाम सदरमुकाम ‘टाकुरा’ मा परिणत नहोस् र जिल्लाको सम्पर्क नटुटोस् ।

स्थानीय बासिन्दाहरू समेत उहाँको सक्रियता देखेर छक्क परेका छन् । “पहिले सडक बन्द हुँदा भगवान पुकार्नुपर्थ्यो, अहिले समस्या पर्ने बित्तिकै मेशिन र डिभिजन प्रमुख आफैं आइपुग्नुहुन्छ,“ इलाम शेराका स्थानीय महेन्द्र चौहानले भन्नुभयो । उहाँको उपस्थितिले कामदारहरूमा पनि ऊर्जा थप्ने गरेको छ । “सर आफैं अगाडि उभिनुभएपछि हामीलाई डरभन्दा बढी जिम्मेवारीको बोध हुन्छ,” उहाँसँगै खटिने अर्का इन्जिनियर अर्जुन घिमिरेले भन्नुभयो ।

बर्खा अगाबै सडकलाई चुस्त बनाउने दौडधुपसँगै भट्टराई इलामको भूगोललाई दीर्घकालीन रूपमा सुरक्षित बनाउने योजनामा हुनुहुन्छ । “हामीले अहिलेको पहिरो पन्छाउने र सडक खुलाउने मात्र समस्या समाधान होइन, भोलि पहिरो नै नझरोस् भन्ने गरी दिगो संरचना र जल निकासको व्यवस्थापनमा लागेका छौं,” उहाँ आफ्नो योजना सुनाउँदै भन्नुहुन्छ ।

इलामसहित पुर्वी पहाडका तिन जिल्लाका लागि मेची राजमार्ग र मेची करिडोर एउटा सडक मात्र होइन, यो यहाँको धड्कन हो । र, यो धड्कनलाई निरन्तरता दिइरहन जरुर पनि रहेको छ । अहिले इलामे नागरिकका लागि भट्टराई एउटा सरकारी ‘हाकिम’ मात्र हुनुहुन्न, संकटका साथीका रुपमा समेत परिचित बनिसक्नुभएको छ । इलामको भूगोल जति जटिल छ, भट्टराईको संकल्प त्योभन्दा कम छैन । छियाछिया परेको मेची राजमार्गलाई टालटुल गर्ने मात्र होइन, यसलाई दिगो बनाउने र जलनिकास सुधार्ने योजनामा उहाँ तल्लीन हुनुहुन्छ । पहाडको ढुंगा, माटो र लेदोसँग जुध्दै गर्दा उहाँले एउटा कुरा प्रमाणित गरिदिनुभएको छ यदि नेतृत्वमा इच्छाशक्ति र मानवीय संवेदना छ भने सीमित स्रोतसाधनका बीच पनि जनताको विश्वास जित्न सकिन्छ भन्ने ।

साँच्चै, संकटका बेला कार्यालयको कुर्सीमा होइन, संकटको केन्द्रमै उभिएर नेतृत्व गर्ने पवन भट्टराई जस्ता पात्रहरू नै आजको प्रशासनका ‘असली हिरो’ हुनुहुन्छ । इलामको यो भूगोलले उहाँलाई सधैं एउटा कार्यालय प्रमुखका रूपमा मात्र होइन, विपत्तिको अँध्यारोमा आशाको ‘टर्च’ बाल्ने एक कर्मठ राष्ट्रसेवकका रूपमा सम्झिरहनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार