इलाम : पहाडकी रानी इलामको सदरमुकाममा पर्यटकीय चहलपहल जति छ, उति नै बढ्दो छ- सडकमा भौंतारिने सामुदायिक (छाडा) कुकुरहरूको संख्या । बिहानको मिर्मिरेमा मर्निङवाक निस्कनेदेखि मध्यरातमा कामबाट फर्कनेहरूसम्मलाई यी कुकुरहरूले बेलाबेला सास्ती दिने गरेका थिए । तर, यो समस्यालाई आधुनिक र वैज्ञानिक पद्धति ‘बन्ध्याकरण’ मार्फत हल गर्ने प्रयास थालिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामको प्राविधिक समन्वय र इलाम नगरपालिकाको आयोजनामा सदरमुकाममा सामुदायिक कुकुरको निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । सडकमा अनियन्त्रित रूपमा बढ्दै गएका कुकुरहरूलाई समातेर शल्यक्रिया टेबलसम्म पुर्याउनु र तिनीहरूको प्रजनन क्षमता रोक्नु यस अभियानको मुख्य उदेश्य रहेको छ ।
इलाम बजारका चोक, गल्ली र सार्वजनिक स्थलहरूमा कुकुरको संख्या बढ्दा एकातिर सवारी दुर्घटनाको जोखिम थियो भने अर्कोतिर रेबिज जस्ता प्राणघातक रोगको त्रास । सहरको सौन्दर्य र जनस्वास्थ्य दुवैमा असर पुगेपछि यो अभियान चलाईएको हो ।
इलाम नगरपालिकाका पशु शाखा प्रमुख रुकमान लिम्बुका अनुसार, बजार र आसपासका क्षेत्रमा कुकुरको संख्या सन्तुलनमा राख्न यो कार्यक्रम अनिवार्य भइसकेको थियो । “हामीले इलाम बजार र यसका आसपासका सामुदायिक कुकुरहरूलाई प्राथमिकतामा राखेर यो अभियान चलाएका हौं,“ लिम्बुले भने, “बजार क्षेत्रमा कुकुरको संख्या धेरै हुँदा व्यवस्थापनमा निकै चुनौती थियो । अब यसले बिस्तारै संख्या घटाउन र सहरलाई व्यवस्थित बनाउन मद्दत गर्नेछ ।”

यता कुकुरको संख्या व्यवस्थापन मात्र होइन, यसले जनस्वास्थ्यमा पार्ने सकारात्मक प्रभावलाई पनि विज्ञहरूले जोड दिएका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामका प्रमुख डा. राघवेन्द्र तिवारीकाअनुसार, सामुदायिक कुकुरको व्यवस्थापन नगरिए यसले भविष्यमा ठूलो संकट ल्याउन सक्छ । “बढ्दो सामुदायिक कुकुरको संख्यालाई वैज्ञानिक ढंगले घटाउन यो शिविर कोसेढुङ्गा सावित हुनेछ,” डा. तिवारीले भने, “बन्ध्याकरणले कुकुरको आक्रामक स्वभावमा पनि केही कमी ल्याउँछ र मुख्य कुरा रेबिजको चक्र तोड्न यसले ठूलो भूमिका खेल्छ । हामीले बन्ध्याकरणसँगै रेबिज विरुद्धको खोप पनि सुनिश्चित गरेका छौं ।”
शिविरमा ल्याइएका कुकुरहरूलाई शल्यक्रियापछि केही समय निगरानीमा राखिन्छ र पुनः उनीहरूकै पुरानो बासस्थानमा छाडिन्छ । यसले गर्दा नयाँ र अपरिचित कुकुरहरू उक्त क्षेत्रमा प्रवेश गर्न पाउँदैनन् र भएका कुकुरहरूले पनि बच्चा जन्माउन सक्दैनन् ।
इलाम बजारका व्यवसायी र स्थानीयले यो प्रयासको प्रशंसा गरेका छन्। तर, चुनौती अझै बाँकी छ । सबै कुकुरलाई एकै पटक समेट्न नसकिने र छिमेकी पालिकाहरूबाट कुकुरहरू बजारमा भित्रिने क्रम नरोकिँदा यो समस्या पूर्ण रूपमा समाधान हुन समय लाग्ने देखिन्छ ।
सफा र सुरक्षित सहरको परिकल्पना बोकेको इलामका लागि यो अभियान एउटा महत्वपूर्ण पाइला हो । सडकका यी बेवारिसे प्राणीहरूको व्यवस्थापनले एकातिर पशु कल्याणको सम्मान गरेको छ भने अर्कोतिर नगरवासीलाई ढुक्कसँग हिँडडुल गर्ने वातावरण सिर्जना गरिदिएको छ ।




















































