धार्मिक आस्था र सांस्कृतिक रौनकबीच सम्पन्न भयो सेहोनाम्लाङ महोत्सव-२०८२

  युद्धबहादुर बोहोरा
91 Shares

 


पाँचथरः
धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेको सेहोनाम्लाङ (छाला सुकुवा) क्षेत्रमा आयोजित तेस्रो संस्करणको सेहोनाम्लाङ महोत्सव-२०८२ सम्पन्न भएको छ। फाल्गुनन्द गाउँपालिका-५ र मिक्लाजुङ गाउँपालिका-१ को संगमस्थल सुलुम्फी भञ्ज्याङमा चैत्र १६, १७ र १८ गतेसम्म सञ्चालन गरिएको महोत्सवले यस क्षेत्रको धार्मिक महत्व, सांस्कृतिक पहिचान र पर्यटकीय सम्भावनालाई थप उजागर गरेको आयोजकले जनाएको छ।

फाल्गुनन्द, कुम्मायक र मिक्लाजुङ गाउँपालिकाको साझा चौतारीका रूपमा परिचित सेहोनाम्लाङ समुद्री सतहदेखि करिब २८ सय मिटर उचाइमा अवस्थित छ। करिब दुई वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस क्षेत्र प्राकृतिक रूपमा अत्यन्तै आकर्षक मानिन्छ। यहाँ विभिन्न प्रजातिका चराचुरुङ्गी, दुर्लभ जडीबुटी तथा घना जंगल पाइन्छन्। जंगलले ढाकिएको क्षेत्रको बीच भाग खुला र नाङ्गो देखिने भएकाले याक्थुङ लिम्बु भाषामा यसलाई ‘सेहोनाम्लाङ’ भनिएको हो। ‘सेहो’ को अर्थ छाला र ‘नाम्लाङ’ को अर्थ घाम बढी लाग्ने स्थान भन्ने भएकाले नेपालीमा यसलाई ‘छाला सुकुवा’ भनेर चिनिन्छ।

याक्थुङ लिम्बु समुदायको पवित्र धर्मग्रन्थ मुन्धुमसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले सेहोनाम्लाङलाई धार्मिक आस्थाको केन्द्रका रूपमा लिइन्छ। धार्मिक अनुष्ठानका क्रममा सेहोनाम्लाङ र नाम्सामी-केसामीको प्रसङ्ग जोड्ने परम्परा रहिआएको छ। यही धार्मिक महत्वलाई जोगाउँदै स्थानीय संस्कृति संरक्षण, पर्यटन प्रवर्द्धन र स्थानीय उत्पादनको प्रचार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।

महोत्सवको उद्घाटन फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बेले गरेका थिए। उद्घाटन समारोहमा उनले सेहोनाम्लाङलाई धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताए। पूर्वाधार विकास, प्रचारप्रसार र स्थानीय समुदायको सक्रिय सहभागितामार्फत यस क्षेत्रलाई राष्ट्रियस्तरको पर्यटकीय केन्द्र बनाउने लक्ष्य रहेको उनको भनाइ थियो।

सेहोनाम्लाङ सांस्कृतिक पर्यटन संस्था (फाकुमि) का अध्यक्ष देउमान आङ्देम्बेको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा अध्यक्षहरू देउकुमार आङ्देम्बे, नारायणप्रसाद आङ्देम्बे र विष्णुकुमार चेम्जोङले शुभकामना मन्तव्य राखेका थिए। संस्थाका सचिव खिमसेमी शेर्माले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रम सञ्चालन कैलाश शेर्माले गरेका थिए। तीन दिनसम्म चलेको महोत्सवमा यालाङ (धान नाच), केलाङ (च्याब्रुङ नाच), भलिबल प्रतियोगिता र राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति पनि महोत्सवमा समावेश गरिएको थियो। राष्ट्रिय गायक डम्बर नेपाली, गायक तथा संगीतकार असोक मुकारुङ, खुशी थुलुङ, रविना आङ्देम्बे र कर्मिला आङ्देम्बे शेर्मालगायतले दमदार प्रस्तुती गरेका थिए ।

यालाङतर्फ १२ वटा टोली सहभागी भएका थिए। सहभागी प्रत्येक टोलीलाई नगद ८ हजार रुपैयाँसहित सम्मान गरिएको आयोजकले जनाएको छ। केलाङ प्रतियोगितामा फाल्गुनन्द गाउँपालिका-४ चिलिङ्दिनको नाम्सामी-केसामी केलाङ संस्था प्रथम हुँदै ५० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गर्न सफल भयो। मिक्लाजुङ-१ को सेकमुरीफुङ समूह दोस्रो हुँदै २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको थियो। पुरस्कार समापन समारोहका प्रमुख अतिथि घनेन्द्रकुमार आङ्देम्बेले वितरण गरेका थिए।

भलिबल प्रतियोगितामा इलाम र पाँचथरका १४ टोली सहभागी भएका थिए। प्रतियोगितामा फालेलुङ गाउँपालिका-२ को टोली विजेता बनेको थियो। विजेता टोलीले नगद ६० हजार १५० रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गरेको थियो। मिक्लाजुङ गाउँपालिका-१ को टोली उपविजेता बनेको थियो। उपविजेता टोलीले नगद ३५ हजार १५० रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गरेको आयोजकले जनाएको छ। आयोजकका अनुसार खेलकुद र सांस्कृतिक गतिविधिले स्थानीय युवालाई प्रोत्साहन गर्नुका साथै समुदायबीच आपसी सम्बन्ध बलियो बनाउन मद्दत गरेको छ। महोत्सवका अवसरमा मिक्लाजुङ गाउँपालिका-१ घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका गीतकार तथा संगीतकार जीवन मुकारुङ र अशोक मुकारुङलाई नागरिक अभिनन्दनसहित सम्मान गरिएको थियो। संगीत र सिर्जनामार्फत आफ्नो गाउँको पहिचान राष्ट्रियस्तरमा पुर्‍याएको भन्दै उनीहरूलाई विशेष सम्मान गरिएको आयोजकले जनाएको छ।

त्यसैगरी, महोत्सव सफल बनाउन देश तथा विदेशबाट आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्ने विभिन्न व्यक्ति, समूह र संस्थाहरूलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो। आयोजकका अनुसार स्थानीयवासी, सह–आयोजक संस्था, प्रवासमा रहेका सहयोगी तथा सामाजिक अभियन्ताहरूको महत्वपूर्ण भूमिका रहेको थियो।

समापन समारोह मिक्लाजुङ गाउँपालिका- १ का वडाध्यक्ष आङ्देम्बेले गरेका थिए। उनले सेहोनाम्लाङ क्षेत्रको धार्मिक र पर्यटकीय महत्वलाई अझ व्यापक रूपमा प्रचारप्रसार गर्नुपर्ने आवश्यकता रहेको बताए।सेहोनाम्लाङ सांस्कृतिक पर्यटन संस्था (फाकुमि) मुख्य आयोजक रहेको महोत्सवमा पीवाईसी (फाक्तेप युथ) क्लब फाल्गुनन्द-५, सिर्जनशील युवा समूह मिक्लाजुङ-१, आदिवासी जनजाति महासंघ फाल्गुनन्द गाउँपालिका  र सेहोनाम्लाङ युवा समूह मिक्लाजुङ-१ सह–आयोजकका रूपमा रहेका थिए। महोत्सवलाई कुम्मायक, मिक्लाजुङ र फाल्गुनन्द गाउँपालिकाले प्रायोजन गरेका थिए।

आयोजकका अनुसार विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको महोत्सवले स्थानीय संस्कृति संरक्षण, धार्मिक आस्था जोगाउने, पर्यटन प्रवर्द्धन गर्ने र स्थानीय सरकारबीच सहकार्य बढाउने काम गर्दै आएको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै व्यक्ति, संस्था तथा सहयोगीहरूलाई आयोजकले धन्यवाद दिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार