सेहोनाम्लाङ महोत्सवमा दुई सर्जक सम्मानित

  युद्धबहादुर बोहोरा
210 Shares

पाँचथरः तेस्रो संस्करणको सेहोनाम्लाङ महोत्सव–२०८२ को अवसरमा संगीत र सिर्जनाको क्षेत्रमा योगदान पुर्‍याएका दुई सर्जकलाई नागरिक अभिनन्दनसहित सम्मान गरिएको छ।सेहोनाम्लाङ सांस्कृतिक पर्यटन संस्था (फाकुमि) ले आयोजना गरेको महोत्सवमा प्रमुख अतिथि घनेन्द्रकुमार आङ्देम्बे को प्रमुख आतिथ्यतामा जीवन मुकारुङअशोक मुकारुङ लाई सम्मानपत्र, दोसल्ला तथा नागरिक अभिनन्दन प्रदान गरिएको छ।

महोत्सवका क्रममा उनीहरूलाई संगीतमार्फत आफ्नो जन्मथलोको पहिचान राष्ट्रियस्तरसम्म पुर्‍याएको, स्थानीय कला–संस्कृतिलाई गीतमार्फत संरक्षण र प्रवर्द्धन गरेको तथा नयाँ पुस्तालाई प्रेरणा दिएको भन्दै सम्मान गरिएको आयोजकले जनाएको छ।पाँचथरको साविक सराङडाँडा–२ सिहाङ, हाल मिक्लाजुङ गाउँपालिका–१ मा २०३० सालमा जन्मिएका जीवन मुकारुङ २५ वर्ष सिङ्गापुर प्रहरीमा काम गरी अवकाशपछि नेपाल फर्किएका हुन्। स्व. बुबाआमा धनकुमार मुकारुङ र पञ्चकुमारी मुकारुङका जेठा सुपुत्र हुन्। जीवनले दुई वटा एकल एल्बम, दुई गीति सङ्ग्रह सार्वजनिक गरिसकेका छन् भने भिडियो निर्देशन, लेखन तथा साहित्य सिर्जना गर्दै सामाजिक सेवामा सक्रिय छन्।

उनका माइला भाइ अशोक मुकारुङ २०३४ सालमा जन्मिएका हुन्। उनी पनि १८ वर्षसम्म सिङ्गापुर प्रहरीमा सेवा गरेका थिए। वैदेशिक जीवनपछि नेपाल फर्किएका अशोक संगीत क्षेत्रमा सक्रिय छन्। उनले १५ वटा एकल एल्बम सार्वजनिक गरिसकेका छन् भने करिब दुई सय गीतमा संगीत दिएका छन्। करिब आठ सय गीतमा संगीत भरेका छन्। उनी लोक तथा आधुनिक गीत-संगीतमा चर्चित छन्।

५० को दशकदेखि गीत–संगीतमा पारिवारिक प्रेरणाबाट सुरु गरेका उनीहरूलाई साइनोले काका पर्ने चर्चित गायक बुलुम मुकारुङ तथा आफ्नै बुबाआमाको प्रेरणाबाट हाल महोत्सव लागेको धार्मिक क्षेत्र सेहोनाम्लाङमा घाँस–दाउरा गर्दै सिकेको बताए। अशोकका इलामे शहर, चियाबारी राम्रो, “त्यहीँ पर्यो घर हाम्रो” र चैतेदशैं लगायतका गीत लोकप्रिय छन्। उनका गीतमा गाउँघर, संस्कृति, माया र पहिचानका विषय समेटिएका छन्।हाल अशोकले ‘सेवा रेकर्डिङ स्टुडियो’ सञ्चालन गर्दै आएका छन्। स्टुडियोमार्फत उनीहरूले लोक तथा आधुनिक संगीतको संरक्षण, नयाँ कलाकारलाई रेकर्डिङ सुविधा, संगीत प्रशिक्षण तथा ग्रामीण क्षेत्रका प्रतिभालाई अवसर दिने काम गरिरहेका छन्।

आज आफूले बाल्यकालमा घाँस-दाउरा गर्दै जीवन बिताएको र त्यहीँबाट संगीत गुनगुनाउन सुरु गरेको जन्मभूमिको आसपासमा रहेको धार्मिक तथा पर्यटकीय स्थल सेहोनाम्लाङ (छालाकुवा) को प्रचार–प्रसार गर्ने उद्देश्यले आयोजित महोत्सवमार्फत नागरिक अभिनन्दनसहित सम्मानित हुन पाउँदा जीवन र अशोक मुकारुङ भावविह्वल बनेका थिए। प्रमुख अतिथि घनेन्द्र आङ्देम्बेले उनीहरूको योगदानको उच्च प्रशंसा गरेका थिए। कार्यक्रममा मूल आयोजक तथा सह-आयोजक समितिका संयोजकहरूको सहभागिता रहेको थियो। मूल आयोजक समितिका संयोजक देउमान आङ्देम्बे ले मुकारुङ दाजुभाइले संगीतमार्फत जन्मभूमिको पहिचान स्थापित गर्न पुर्‍याएको योगदान अतुलनीय रहेको बताए। महोत्सव आयोजकका अनुसार उनीहरूको सम्मानले स्थानीय कलाकार र सर्जकप्रति समुदायको सम्मानभाव अझ प्रगाढ बनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार