वसांगु–देउराली मोटरबाटो पुगेपछि, ‘सेहोनाम्लाङ (छाला सुकुवा)’ धार्मिक–पर्यटकीय गन्तव्य बन्ने आशा पलायो

  युद्धबहादुर बोहोरा
140 Shares


पाँचथर: लिम्बु समुदायको मुन्धुमी इतिहास र प्रकृतिको अनुपम सौन्दर्य बोकेको सेहोनाम्लाङ (छाला सुकुवा) क्षेत्रमा मोटरबाटो पुगेपछि स्थानीयमा नयाँ उत्साह जागेको छ। वसांगुबाट देउराली हुँदै सेहोनाम्लाङ क्षेत्रसम्म जोडिएको मोटरबाटो सञ्चालनमा आएपछि सदियौँदेखि कथामा मात्र सीमित रहेको यो पवित्र भूमिमा अब प्रत्यक्ष सर्वसाधारणले पनि अवलोकन गर्न सकिने अवस्थामा पुगेको हो। यहाँ बाटो पुगेपछि शनिवार विधिवत रुपमा पुजा गरी संचालनमा ल्याइएको हो ।


सेहोनाम्लाङ क्षेत्र फाल्गुनन्द गाउँपालिका–६ र ७, कुम्मायक–२ तथा मिक्लाजुङ–१ को सिमानामा अवस्थित छ। लिम्बु मुन्धुम अनुसार प्राचीनकालमा केसामी-नामसामी नामका दाजुभाइबीच भएको युद्धपछि मारिएका  दाजु केसामीको छाला यही स्थानमा सुकाइएको थियो। त्यसै कारण यस ठाउँलाई ‘सेहोनाम्लाङ’ अर्थात् छाला सुकाइएको थलो भनिन थालिएको जनविश्वास रहँदै आएको छ। आज पनि यो स्थानलाई लिम्बु समुदायले पवित्र तीर्थस्थलका रूपमा सम्मान गर्छन्। सडक पुगेपछि देउराली देवस्थलमा विधिवत् पूजा गरेर उद्घाटन गरिएको निर्माण समितिका अध्यक्ष सन्तवीर आङ्देम्बेले जानकारी दिए । कार्यक्रममा सहभागी स्थानीय अगुवा तथा धार्मिक गुरूहरूले सेहोनाम्लाङ क्षेत्र संरक्षण, संवर्द्धन र व्यवस्थित विकास गर्न सके पूर्वी नेपालकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बन्न सक्ने धारणा राखे।

यस क्षेत्रको ऐतिहासिक महत्त्व मात्र होइन, प्राकृतिक सम्पदा पनि उत्तिकै समृद्ध छ। यहाँ हजारौँ वर्ष पुराना रुख, दुर्लभ चराचुरुङ्गी, औषधीय जडीबुटी तथा बन्यजन्तु पाइन्छन्। खुला डाँडाबाट कञ्चन पहाडी हिमशृङ्खला, हरिया वनजङ्गल र बस्तीहरूको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। यही क्षेत्र आसपास १६ औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले तपस्या गरेको गुफा, कुर्सी आकारको गुरु बसेको ढुंगा र ढुंगामाथि गाडिएको त्रिशूल आज पनि अवस्थित छन्, जसले यस ठाउँलाई धार्मिक दृष्टिले झनै महत्त्वपूर्ण बनाएको छ। यही पवित्र धार्मिक स्थलको काखमै फैलिएको फक्ताङलुङ चिया बगानको हरियालीले सेहोनाम्लाङ क्षेत्रलाई अझ सुन्दर बनाएको छ। अब मोटरबाटो पुगेसँगै यहाँ श्रद्धालु र घुमन्ते दुवैको पाइला पुग्ने भएको छ, जसले यो ठाउँलाई निकट भविष्यमा धार्मिक भ्रमण र रमाइलो पिकनिकको साझा गन्तव्य बनाउने आशा पलाएको छ।

पहिला घाँसदाउरा, भेडाबाख्रा चराउन जानेहरूबाहेक सामान्य मानिस पुग्न नसक्ने यो स्थानमा अहिले मोटरबाटो पुगेपछि ज्येष्ठ नागरिकहरू समेत पुनः दर्शन गर्न पाएकोमा भावुक देखिन्छन्। “जवान हुँदा यही वरिपरि बाख्रा चराउँथ्यौँ, बुढेसकालमा फेरि यहीँ आइपुग्न पाउँदा अत्यन्तै खुशी लाग्यो,” स्थानीय वृद्धहरूको भनाइ छ। प्रदेश सरकारको करिब २३ लाख रुपैयाँ लागतमा निर्माण भएको यस सडकले सेहानाम्लाङ क्षेत्रलाई बाहिरी दुनियाँसँग जोडिदिएको छ। स्थानीयवासीका अनुसार यसले धार्मिक पर्यटनसँगै कृषि उत्पादनको बजार पहुँच, आपतकालीन सेवा र जनजीवनको सहजतामा ठूलो योगदान पुग्ने निर्माण समितिका सचिव दिलहाङ आङदेम्ब बताउँछन् ।

यस क्षेत्रको प्रचार र संरक्षण गर्ने उद्देश्यले तीन वर्षअघि ‘सेहोनाम्लाङ सांस्कृतिक पर्यटन संस्था’ (फाकुमि) स्थापना गरी वार्षिक महोत्सव सञ्चालन हुँदै आएको छ। संस्थाका अध्यक्ष देउमान आङदेम्बेका अनुसार संस्थाको नाममा जग्गा र संरचना नहुँदा महोत्सव आयोजना गर्न कठिनाइ हुँदै आएको थियो। अब मोटरबाटो पुगेपछि यही क्षेत्रमा महोत्सव आयोजना गरी सेहोनाम्लाङको धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्त्व देश–विदेशसम्म चिनाउने लक्ष्य लिइएको छ। तर, स्थानीयले संस्थाको नाममा जग्गा उपलब्ध गराउन सके मात्रै थप विकाश गर्न सकिने उनले बताए । वसांगु–देउराली मोटरबाटो पुगेपछि सेहानाम्लाङ (छाला सुकुवा) धार्मिक–पर्यटकीय गन्तव्य बन्ने आशा पलाएको स्थानीय अगुवाहरू बताउँछन् ।सेहोनाम्लाङ (छाला सुकुवा) लाई केवल मिथकको थलो होइन, सांस्कृतिक पहिचान र समृद्धिको आधार बनाउने तयारीमा सरोकारवाला जुटेका छन्। सडक पुगेपछि अब सेहानाम्लाङ कथा र किंवदन्ती नभइ पर्यटकको पाइलाले गुञ्जिने गन्तव्य बन्ने आशा गरिएको छ। यस पवित्र ठाउँलाई स्थानीय, प्रदेश र केन्द्र सरकारबाट समेत सहयोग दिनुपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार