सप्तसरोवर नवीनताको खोजी कि इलामको उत्खनन् ?

समीक्षा

सप्तसरोवर नवीनताको खोजी कि इलामको उत्खनन् ?
हेम अधिकारी, दमक, झापा

प्रसङ्ग

कवि जीवनहरि पोखरेल इलामको सुम्बेक पुछारमा जन्मिएर शिक्षा र साहित्यमा तल्लीन व्यक्तित्व हुन् । साहित्यमा उनी जीवनहरि शर्माका नामले परिचित छन् । छन्दमा राम्रो अधिकार जमाएका शर्मा निरन्तर कविता साधनारत पाइन्छन् । भर्खरै इलामबाट झापाको दमकमा बसाइँ सरी आएका शर्मा अब भने झपाली हुन रुचाएका भन्नु पर्ने हुन्छ ।
कवि शर्माको यो सातौँ काव्यकृति हो भने एउटा छन्दसाधना सम्बन्धी युटुब च्यानल पनि चलाएका छन् । सप्तसरोवर इलामका महत्त्वपूर्ण सातवटा पक्षहरूको खोज अनुसन्धान गरिएको काव्य हो ।

प्रवेश 

संसारमा काव्यको प्रारम्भ पद्य वा छन्दोवद्ध रचनाबाट भएको पाइन्छ । हाम्रा वेद,वेदाङ्ग,पुराणादि ग्रन्थ यही परम्परामा विकसित छन् । त्यसैले तिनताका गद्यं ननाटकम् भनिन्थ्यो । पश्चिमका इलियड,ओडिसी,प्याराडाइज लस्ट,प्याराडाइज रिगेन्ट वा मध्यपूर्वका काव्य ग्रन्थ पद्यमै रचिए । नेपालीमा पनि साहित्यको थालनी पद्यबाटै भयो । आचार्यहरूले पछि के बुझे र गद्यं कविनां निकसा वदन्ती भनेर गद्यलाई त्यति धेरै महत्त्व दिए । अनि फेरि गद्यमा भेलबाडी नै चल्यो ।

सप्तसरोवर के हो ?

सप्त सरोवर के हो र कुन स्तरको ग्रन्थ हो भन्ने कुरा निक्यौल गर्नु आवश्यक हुन्छ । कविताका ग्रन्थहरू तीन प्रकारका छन् ः

१ः महाकाव्य ः जीवनको यतिवृत्त वर्णन भएको जस्तै ः शाकुन्तल,सुलोचना,आदर्श राघव…..आदि आदि ।

२ः खण्डकाव्य ः बिचबाटै उठेर बिचैमा टुङ्गिने जस्तै ः मुनामदन,सीताहरण,राजेश्वरी…..

३ ः कोश काव्य ः कुनै एक मूल कथानक र नायक नभएको कुनै स्थान,कार्य,घटनाहरू,ऐतिहासिक,भौगोलिक, सामाजिक,सांस्कृतिक,विकासका गतिविधिहरू वा यस्तै कुनै पक्षहरूको वर्णनको संग्रह कोशकाव्य हो । नेपालीमा कोशकाव्यको परम्परा नै छ । लेखनाथका लालित्य,ऋतुविचार,सत्यकलि संवाद,धरणीधरको नैवेद्य,लीलाध्वजको वरूण,केदारमान व्यथितको सङ्गम प्रतीक्षा,कुलचन्द्रको राघवालंकार जस्ता विशिष्ट कोशकाव्यकै हारमा यो पङ्क्तिवद्ध भएको छ । त्यसैले यो स्पष्टतः कोशकाव्य हो । त्यसमा पनि यो शोधकाव्य हो ।

काव्यको थालनी 

इलामका इतिहास विद् श्री युद्धप्रसाद वैद्यको गहन भूमिकाले कृतिको गहनता र गहिराइको सङ्केत गरेको छ ।
काव्यको थालनी गर्दा वन्दना,आराधना गर्ने परम्परा छ । परियोजना कुनै वाधा अवरोध बिना सम्पन्न गर्न सकूँ भनेर कविहरू आराध्य देवदेवादिलाई वन्दना गर्दछन् । देवकोटाले शाकुन्तल महाकाव्यको थालनीमा चिम्ली लोचन दीर्घकालतक नै खोलेर वासन्तीका ………………भनेर शिवपार्वतीको आराधना गरेकाछन् र शकुन्तलाले सुख पाउन् भन्ने कामनाका साथ समापन गरेका छन् । शकुन्तलाले सुख पाउनु भनेको महाकाव्य सफल हुनु हो ।

सुलोचनाको थालनीमा भर दल तन्त्री,नवलय मन्त्री,अयि कर वीणा,शठतम हन्त्री भनेर वीणाधारी शारदाको आराधना गरेका छन् गर क्षमा मनका त्रुटिमा सब भनेर क्षमा याचना गर्दै समापन गरेका छन् । लेखनाथले बुद्धिविनोद लेख्ता कहाँ थियो वास अघ म को थिएँ,कसो हुदा यो पिँजरा लिँदो भएँ भनेर थालनी गरेका छन् भने म निस्कनाले जननी तिमीकन ,परेछ यो घोर अनर्थ चिन्तन,म भित्र आएँ अब के छ लस्पस ? थपक्क बाबासित शान्त भै बस । भनेर जुन दार्शनिक बिन्दुबाट थालेका थिए वृत्तकारीय शैलीमा उही बिन्दमाु आएर सकेका छन् ।

ठिक त्यसरी नै कवि यहाँ पृष्ठ १ मा सरस्वती तिमी माता तिमी बुद्धि प्रदायिनी….. विणा पुस्तक बोकेकी अर्तीको आस गर्दछु भनेर सरस्वतीको आराधनाबाट थालनी गरेका छन् भने नमस्ते मेरो यो भनिकन बस्यो जीवनहरि भनेर विनम्रभावकासाथ टुङ्ग्याएका छन् । कविहरू थालनीमा फूल बनेर सुवासित हुन्छन् भने अन्त्यमा लटरम्म फलेर पाकेका फलले झुकेको वृक्षझैँ झुकेर सपापन गर्दछन् जो यहाँ पनि गरिएको छ ।

 कृतिको वस्तुपक्ष 

कृतिको मूल विषयको थालनी अघि नै वन्दना,प्रस्तावना,इलामको भूगोल र इलामको इतिहास गरी चार अध्यायको पूर्वपीठिका छ । सरस्वतीको वन्दना,इलामका देवदेवीको वन्दना,पितृ वन्दना अनुष्टुप,सवाइ र मालिनी छन्दमा यो कार्य विना वाधाअवरोध पूरा सकूँ भनेर कामना गरिएको छ ।

त्यसपछि कृतिको मूल विषयवस्तु आरम्भ हुन्छ । यो कृति शोधमूलक रहेकाले कविले सातको सीमा बनाएको पाइन्छ । शोध अनुसन्धान गर्दा विषयवस्तुको सीमा निर्धारण अनिवार्य हुन्छ नत्र शोध कता कता बरालिन सक्छ । त्यसैले कविले यहाँ सातवटा विषयका सातसातवटै एकाइ चयन गरेका छन् । यो सर्जकको स्वतन्त्रता र रुचीको विषय हो । उनले आफैँ बाँकी धेरै हुनसक्छन् ती काम गर्न बाँकी नै छ भनेका छन् । यो शोधकाव्यको प्रवृत्तिभित्र पर्ने कुरा हो । प्रस्तावना मातृवन्दनाबाट सुरु गरिएको छ र विषयसूचीमा भएको कुराको संक्षिप्त रूपमा पूर्व सूचना दिइएको छ ।
अब मात्र कृतिको मूल भागको थालनी हुन्छ । पहिलो खण्डमा इलामको भूगोलको विहङ्गावलोकन गरिएको छ । पूर्वमा सिंहलिला पर्वतको पानी ढलो पश्चिम,उत्तरमा महाभारत पर्वतको पानी ढलो दक्षिण,पश्चिममा मोरङ जिल्लाको पूर्वी पहाडी भागको पूर्व र दक्षिणमा चुरेपहाडको दक्षिणतिरको सानो समथर भागभित्र रहेको सुन्दर इलामको कलात्मक वर्णन गरिएको छ । १७०३ वर्ग कि.मि. क्षेत्रफल भएको र सरदर ३२२० मि.मि. वर्षा हुने इलामको उचाइ समुद्र सतहबाट १४४० देखि ३६३६ मिटरसम्म सम्म रहेको छ ।

यहाँ इलामका हावापानी,डाँडाकाँडा,खोलानाला,भिरपाखा,सहरबजार आदि कवितामा उत्रिएका छन् । राजनैतिक परिवर्तन पछि पालिकाका परिवर्तित नाम,क्षेत्र , जिल्ला कोड नं.,अक्षांश ,देशान्तर दिइएको छ । इलामको नामाकरणदेखि पुरानो नाम खलङ्गाको जानकारी छ । इलाममा चाँपघारी र ठुलो चाँपको रुख भएकाले पौराणिक कालमा चम्पाकरण्य नाम थियो ।

भूकम्पको क्षति,कोभिडको कहर, मेलापर्व,चाडबाड,साँस्कृतिक सम्पदाको मनमोहक चित्रण रेडपाण्डा लगायत अनेक पशुपन्छी पाइने इलाम नेपालको आँखाको नानीको रूपमा चित्रित मात्रै छैन यसलाई पहाडकी रानी बनाइएको छ । पारीकाले दार्जिलिङलाई पहाडकी रानी बनाए हाम्रो इलाम त्योभन्दा के पो कम छ र कविको कलामा र प्रकृतिको वरदानमा यो पहाडकी रानी पृष्ठ (२३ः २९ मा) हो । लोकसंस्कृतिको मिठो शब्दचित्र पृष्ठ २१ मा श्लोक २०देखि२४सम्म हेर्न सकिन्छ । सातमाईको सुन्दर वर्णन छ । इलाम मार्ई खोलाको प्रस्रवण क्षेत्र हो । महाभारत दक्षिणको पानी सबै माई्रकनकाईमा आएर समाहित हुन्छ भने उत्तरतर्फको तमोरमा जान्छ र सप्तकोशीमा समाहित हुन्छ ।

फुलुड.्गी दोभानबाट माईखोलो चुली पस्छ र दोमुखामा निस्कँदा कनकाई भएर निस्कन्छ । कसरी यस्तो नाम परिवर्तन गरिन् माईले भन्ने बारे हेम अधिकारीका खोजअनुसन्धान लेख प्रकाशित छन् र उत्तरी ध्रुवतिर टहलिँदा नामक यात्रा संस्मारणमा क्यानडाका नदीसँग नेपालका नदीको तुलना गर्दा लेखकको जन्मभूमि र कर्मभूमिको सम्पूज्य नदी कनकाईको नामाकरणको छोटो प्रसङ्ग आएको छ ।(हे. उत्तरी ध्रुवतिर टहलिँदा र जीवनका गौँडागल्छेँडाहरू ) ।
इतिहास केलाउँदा प्राचीनदेखि अर्वाचीन कालसम्मका अनेक प्रमाण केलाएर इलामको नामाकरणको प्रसङ्ग जोडिएको छ । देवकोटाले मीठो लाग्छ मलाई ता.. भने झैँ नै कविले इलामको इतिहासमा डुबुल्की मारेका पाइन्छन् (पृष्ठ २४ः४मा) । यो प्रचीनकालको दश लिम्बूवान र पूर्वोत्तरमा लेप्चा जातिको बसोबास क्षेत्र हो । लिम्बू भाषामा इलाम भनेको घुमाउरो बाटो र लेप्चा भाषमा इःपुत्का,लोम ः बसेको अर्थात् पुत्का बसेको ल्याङ

भनेको देश वास्थान ।यसरी पुत्का बसेको ठाउँ भन्ने नाम निस्कियो । यो ठाउँ कहिले सिक्किम इन्द्रकील पर्वतको राज्यभित्र पुग्यो,कहिले सेनवंशीको अधीनमा । सुगौली सन्धिपछि नेपालले मेचीपारिको भूभाग गुमायो र इलामको सदरमुकाम कर्फोक हुदै अहिलेको स्थानमा आएको तथ्य कवि प्रस्तुत गर्दछन् । सातखाल्डेमा २०१८ सालमा निर्दोष सातजना विद्रोही युवा मारिएको दर्दनाक कथा छ । तपेवाको सबैभन्दा ठुलो ऐतिहासिक लालीगुराँस पनि कवि कलमले छाडेको छैन ।
यहाँ सात गुना सात उनन्चास गाउँको वर्णन छ । पूर्वमा सूयोदयको डाँडो श्रीअन्तुदेखि पश्चिममा फुलुङ्गी दोभानबाट उठेको माङ्सेबुङ मोरङको सिमानासम्मका ऐतिहासिक कुराको शब्दोत्खनन गरिएको छ । चारैवटा नगरपालिका र छ वटै गाउँपालिकाको बनावट ,मूलभूत विशेषता आएका छन् । यी सबै पालिकाका महत्त्वपूर्ण स्थान,व्यक्तित्व,वनस्पति,नदीनाला,ऐतिहासिक,धार्मिक र पर्यटकीय स्थलहरू,जनजीवनको यथोमति वर्णन गरिएको छ । तन्त्रमन्त्र,धामीझाँक्री,ओझाबिजुवा,फेदाङ्बाका गतिविधि पनि आएकाले पाठकलाई किताब पड्दै गर्दा आफैँ घुमेको अनुभूति हुन्छ ।

पालिकालाई चिनाउन पृष्ठ १०४, १२६, १८८ लाई उदाहरणका रूपमा प्रस्तुत गर्न सकिन्छ । यो पुस्तकको सबभन्दा लामो खण्ड हो यो ।
यहाँ इलामका नगद आर्जनका प्रमुख स्रोत सातबालीहरू अकबरे,अलैँची,अम्लिसो,आलु,ओलन र अर्थोडक्स चियाको चित्रकारी शैलीमा वर्णन छ । कविले छानेका इलामका सातवटा पोखरीको वर्णन छ । सातवटा प्रमुख नदीको वर्णन छ । यिनै सातवटाको मिलन नै महामाई हो । इलामाका अनेकन थुम्काथुम्कीहरूमध्ये सातवटाको कलात्मक वर्णन छ । सातवटा महत्त्वपूर्ण स्थलहरू भनेर तीर्थस्थल,धाम,पर्यटकीय स्थल,ऐतिहासिक महत्त्वका स्थलका साथै प्राकृतिक सौन्दर्यश्रृङ्गारका स्लहरूको उत्खनन गरिएको छ । मूल भागको अन्त्यमा सातजना महत्त्वपूर्ण व्यक्तित्वहरू छनोट गरिएको छ । तिनमा राजनैतिक,धार्मिक,सामाजिक,साहित्यिक,प्रशासनिक,उद्योगपति र नारीजागरणका अगुवाहरू आएका छन् ।
अन्तमा समापन भनेर ६२ वटा श्लोकमा कविका भावना र सिर्जनात्मक अनुभव र ग्रन्थबारे कामना व्यक्त गरेर बिट मारिएको छ ।

कला पक्षः

माथि नै भनियो यो खोजमूलक कोशकाव्य हो भनेर । यो छन्देवद्ध रचना भएकाले संक्षिप्तमा धेरै कुरा भनिएको छ । छन्द सूत्रवद्ध हुने भएकाले पनि यो व्याख्येय हुन्छ । कतिपय कुराहरू छन्दमा प्रस्ट्याउन कठिन हुने भएकाले कविले बिचबिचमा गद्यमा प्रस्ट्याएका छन् । यो एउटा सामान्य कविताको किताब नभएर एक विशाल काव्य हो । यस्ता काव्य लेख्ता कविहरू परियोजना बनाएर अघि बढ्ने गर्छन् ।
अहिले हाम्रोमा छन्दको पुनर्जागरण काल हो र यसका एक अभियन्ता जीवनहरि शर्मा पनि हुन् ।
यस्ता विशाल आयामका कृतिहरू कहिलेकाहीँ पूर्व सङ्केत तरिका पनि अपनाउँछन् । यसमा प्रस्तावना कविले त्यही पूर्वसङ्केतका रूपमा प्रस्तुत गरेका छन् ।
कविको छन्दलाई राम्ररी खेलाउन,केलाउन र निफन्न सक्ने क्षमताको उच्च नमुना हो सप्तसरोवर । यो शोध काव्य भएकाले यथार्थको धरातलमा उभिएको छ । यसमा ज्ञान र विज्ञान दुवै हातेमालो गरेर हिँडेका पाइन्छन् ।

काव्यका कला पक्षमा

छन्द,अलंकार,रस,ध्वनि,वक्रोक्ति,औचित्य,रीति,गुण,दोष,यथार्थ, आदर्श जस्ता कलाका यावत् पक्ष हेनु पर्ने हुन्छ । समाज चित्रण ता झन् महत्वपूर्ण हुन्छ । सानै टुक्रामा पनि समाजको जीवन्त चित्रण हुन्छ । जस्तै ः सुरूपधारी छ गुणी युवा छ , प्रवृत्त लोकोत्तर कर्ममा छ , तथापि पैसा नभए अभागी , कहिन्छ खोटो मति हीन दागी (लेखनाथ) भने यत्रो काव्यकृतिमा ता समाजका विभिन्न आयामहरू टुक्राटाक्री हुदै आएका छन् । यहाँ प्रायः सबै रस आएका छन् । संयोग श्रृङ्गारदेखि शान्त रसहरू आएका छन् । सातखाल्डेको घडना वर्णनमा विभत्स रसको उपस्थिति छ । शान्त रस धेरै छ । संयोग श्रृङ्गारको उदाहरणका लागि पृष्ठ १२६ । यो अनुसन्धानात्मक कृति भएको हुनाले औचित्य र काव्यका गुण धर्मको यथोचित् प्रयोग गरिएको छ । अलंकार तर्फ हेर्दा शब्दालंकार र अर्थालंकार दुवैको प्रयो छ तथापि अर्थालंकारको वाहुल्य पाइन्छ । वक्रोक्ति वा व्यङ्य काव्यको महत्त्वपूर्ण पक्ष हो । व्यङ्ग्य बिना काव्य सिर्जना हुदैन तर त्यो कहाँ र कस्तो छ भन्ने कुराको खोजी गनुपर्छ । शोधपूर्ण रचना भएकाले यसमा गुणीभूत व्यङ्ग्यको प्रयोग भएको छ । अभिधाको बाहुल्य स्वाभाविक मानिन्छ यस प्रकारका कृतिमा । लेखनाथको ऋतुविचारको वर्षाका भेलले गर्दा परखाल बडेबडे,नेपाली कविले खुट्टा काटेका वर्ण झैँ लडे , जस्ता गम्भीर व्यञ्जना यस्ता काव्यमा कम पाइन्छ र सामान्य वा गुणीभूत व्यङ्ग्य नै बढी प्रयोग हुन्छ । पृष्ठ ७५ का श्लोकहरूलाई लिन सकिन्छ । यथार्थमा कविले काव्यका मूलभूत विशेषताहरूको यथोचित् प्रयोगको प्रयत्न गरेको पाइन्छ । अन्त्यमा २१ अक्षरको लामो स्रग्धरा छन्दमा आफ्नो भावनात्मक निस्कर्ष पोख्तछन् पृष्ठ २९० को श्लोक ८९ लाई उदाहरण लिन सकिन्छ । त्यसपछि शिखरिणी छन्दका छवटा श्लोकमा समापन गर्दछन् ।
यसमा २१ वटा छन्द छन् । धेरै वार्णिक ,अलिक कम सवाइ र दुईवटा मातृक पद्झटिका र भुजङ्गिनीमा यो कृति सिर्जित छ । सबै पालिकाका स्रोत उपलव्ध गराउने स्रोतव्यक्तिहरूका नाम छन् । अठारवाटा सन्दर्भ सामग्रीका नाम छन् तर एउटैमा धेरै भएकाले अझ धेरै छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार