म र मेरो मनको शीत युद्ध चलेको धेरै भईसक्यो
हाम्रो युद्धले द्वन्दको मैदानमा धेरै वर्ष बितिसक्यो ।
म भन्छु, ‘ए मन तँ मेरो होस्’ मैले भनेको मान्नुपर्छ
मनको जवाफि फायर आउँछ ‘म स्वतन्त्र हुनुपर्छ ।’
आजसम्म हामी बीच न निर्णायक वार्ता हुन सकेको छ
न त कसैको अस्तित्व समाप्त पार्न विस्फोट भएको छ ।
बेलाबखत युद्ध विराम गरेर झगडा नगर्ने सम्झौता त हुन्छ
तर,सम्झौताको मसी सुक्न नपाउँदै बारूद आक्रमण हुन्छ ।
कहिले म मनलाई मार्न खोज्छु विद्युतिय धराप थापेर
तर,मन पनि चलाख बनी मलाई बम हान्छ बाटो फेरेर ।
मनको बिद्रोह निस्तेज बनाउन म निर्मम कर्फ्यु लगाईदिन्छु
मन हड्ताल गरेर विज्ञप्ती निकाल्दै भन्छ,आगो लगाईदिन्छु ।’
आन्दोलन जारी राख्दै गोलमेच सम्मेलन गर्न बाध्य भएर
म र मेरो मन वास्तविकता खोज्न वार्तामा छौँ युद्ध छोडेर ।
मनको माग आकाशमा उड्ने छ,मेरो सामर्थ्य दौडिन सक्ने छैन
मन भन्छ भगवान जस्तै हुनुपर्छ,म भने मानिस हुन सकेको छैन ।
उसको अर्को शर्तको बुँदामा धनी र ठुलो हुनुपर्ने सवाल आउँछ
मलाई धनी र ठुलो बन्न कोसिस भन्दा ज्यादा कल्पना आउँछ ।
विद्धान बनी दुनियाँमा चम्केर अन्तरीक्ष पुग्ने बटन लाईन छ
ग्याम्बिङ,टिकटक र च्याटिङमा मेरा आजहरु अन्धकार छ ।
मनलाई त्यागी,असल,निष्कलंक,सर्वश्रेष्ठ मान्छे हुने रहर छ
खोई ?कसरी हुन्छ सहमति मेरो चिन्तन र पाईलाहरुमा जहर छ ।
मन भन्छ कानुन नै पारित गरेर जाऊँ,म पनि सहमत हुन्छु
धोकेबाज,म दस्तावेज राजपत्रमा प्रकाशित नहुदैं तोड्छु ।
लामो रस्साकस्सी पछिको ऐतिहासिक सहमति भङ्ग भयो
मेरो बानीले घायल भएको मन अदालतमा मुद्धा हालेर गयो ।
हुन त अहिले पनि आफ्नै सोच र कर्मको खुल्ला जेलमा नै छु
जोस र जवानीको क्षय गरे भने समयसँगै हार्न बाध्य हुने नै छु ।
मन तिम्रो न्यायालयको फैसला स्वीकार हुने छ
हार भएको दिन तिम्रो हत्कडी मेरो हातमा हुने छ ।
बाटो समातेछ जीन्दगीले भने तिमी र म सँगसँगै रमाउँला
लय बिराएछ गन्तव्यले भने पनि बाँच्नका लागी बाँचुला।
लेखकः दयाराम निरौला (हाल द.कोरिया)