इलामको दुर्गम क्षेत्रलाई मैले माथि ल्याएँ : सुवास नेम्बाङ [भिडियो]

  देवेन्द्र भट्टराई  1313 पटक हेरिएको

‘म गुटबन्दीभन्दा लाखौं कोष पर छु । मलाई यो कुरामा फिटिक्कै विश्वास छैन । बरु यसरी विश्वास नगरेबापत म कहिलेकाहीँ तनावमा आउने गर्छु । म कुनै गुटबन्दीमा छैन र गुटबन्दीमा विश्वास छैन । म नेकपा एमालेमा विश्वास गर्छु । म नेकपा एमालेमा छु ।’

इलाम : आसन्न प्रतिनिधिसभा चुनावमा इलाम क्षेत्र नं २ का नेकपा एमाले उम्मेदवार सुवास नेम्बाङ (६९ वर्ष) २०५६ सालयता लगातार इलामलाई प्रतिनिधित्व गर्ने जनप्रतिनिधि हुन् । सत्ता–शक्तिको राजनीतिक केन्द्रदेखि राष्ट्रिय बहसका विभिन्न सरोकारमा सक्रिय नेम्बाङ यतिखेर चुनावी गतिविधिमा जोडिएर आफ्नै निर्वाचन क्षेत्र इलाम आइपुगेका छन् । उनै नेम्बाङसँग चुनावी तयारी लगायत विषयमा देवेन्द्र भट्टराईले गरेको कुराकानी :

तपाईंं लगातार २३ वर्षदेखि इलाम जिल्लाबाट जनप्रतिनिधि हुनुहुन्छ । आसन्न निर्वाचनमा बूढा–पुराना नेताको स्थान तथा वर्चस्वका बारेमा नयाँ स्वरुपमा बहस थालिएको छ । तपाईंंको भने अब पनि चुनाव जित्ने आधार र प्रतिबद्धता केके छन् त ?

यसरी साझा मानक बनाएर जिज्ञासा राखिँदा म सोध्न चाहन्छु‒ विगतमा २७ वर्षभन्दा बढी देश चलाउने र आज गठबन्धनको नेतृत्व गर्ने नेताहरूले केके गर्नुभो ? यो देशका उद्योगधन्दा केकति निजीकरणको नाम (इलामको चिया उद्योगसहित)मा डुबाउने काम गर्नुभो ? यसबेला शासन संचालनमा ७ वर्ष पनि मौका नपाएका हामी (एमाले) पनि यहाँ छौं । यो जनता आफैंले तुलना गर्ने कुरा हो । अहिले प्रमुख प्रतिपक्षलाई निषेध गर्नेगरी जुन ढंगले गठबन्धनको संस्कार र राजनीति अघि बढेको छ, यो स्वस्थ्य प्रतिष्पर्धामा होइन, निषेधमा विश्वास गरेर चलेको देखिन्छ ।यसबाहेक, इलाम र मेरो क्षेत्रको कुरामा म स्मरण गर्न चाहन्छु‒ ०५६ सालमा पहिलोपटक निर्वाचन लड्दा मैंले भनेको कुरा । त्यसबेला ‘इलामको कर्णाली’ भनिने २ नम्बर निर्वाचन क्षेत्र(तत्कालीन)मा बिजुलीको एउटा बल्ब झुण्डिएको थिएन, १ किलोमिटर कच्ची सडकसम्म पनि थिएन । इभाङ र आमचोक गाविसमा जम्मा दुईवटा टेलिफोन लाइन थिए, त्यो पनि भत्किएको अवस्थामा थिए । त्यही बीचमा १० वर्षे जनयुद्धका कारण हामी सबै प्रताडित भयौं । त्यस पछिको स्थितिमा ३१ वटा राजनीतिक दलको सर्वसहमतिमा म संविधानसभाको अध्यक्ष मात्रै भइनँ, मेरै संविधानसभाको नेतृत्व पहल र प्रयासमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको हो ।

यति भनिरहँदा अब राजनीतिक आन्दोलन पूरा भएको छ, तर देशलाई समृद्ध र सुखी बनाउने परिवर्तनको आन्दोलन बल्ल सुरु भएको छ । अब भन्न सकिने भएको छ, ‘इलामको कर्णाली’ भनिने २ नम्बर क्षेत्र ‘कर्णाली’कै स्थितिमा रहेन । सडकहरू बनेका छन्, मदन भण्डारी राजमार्ग मेरो क्षेत्र हुँदै अगाडि बढ्ने आधार तय भएको छ । फाल्गुनानन्द राजमार्ग, आत्मानन्द राजमार्ग, गुरुआमाको नामको राजमार्गलगायत संरचना बनिँदैछन् । केचना–कंचनजंघा राजमार्ग अहिलेको नयाँ विमानस्थल सुकिलुम्बा नजिकै भएर जानेछ । यो इलाम जिल्लामा पूर्ण विद्युतीकरणको कार्यक्रम लागू हुने अवस्थामा छ । जिल्ला संचारमाध्यममा धेरै अगाडि पुगेको अवस्था छ ।

केहीअघि नेता झलनाथ खनाल(एकीकृत एमाले छँदै)को एउटा अन्तर्वार्ता कान्तिपुरमै आएको थियो, त्यसमा ममाथि आरोप थियो । ‘देशभरको सम्पूर्ण बजेट नेता सुवास नेम्बाङले आफ्नो क्षेत्रमा लगेर खन्याएका छन्, मेरो क्षेत्रमा एक पैसा पनि गएन । आफ्नो क्षेत्रका सम्पूर्ण फुसका घरहरू टीनछाना बदलिए, मेरोमा भने बजेट आएन’, भनेपछि मेरो प्रयासलाई यसरी झलनाथजीले स्पष्टैसँग भनिदिनुभएको छ, म के भनौं ?

यहाँलाई थाहै छ, योजना तर्जुमा गर्दा दीर्घकालीनभन्दा पनि तत्कालै जनताको आँखामा उत्रिहाल्ने र उद्घाटन गर्नैमा रमाउने प्रवृत्ति बढी देखिन्छ । तपाईंकै चुनाव क्षेत्रमा बनेको फाल्गुनानन्द सुकिलुम्बा विमानस्थल पनि धावनमार्ग निर्माण र उद्घाटनमै गएर टुंगिएको छ त ?

स्पष्ट रुपमा भनिहालौं, तपाईंले भनेको विमानस्थल रहेको क्षेत्र अघिल्लो निर्वाचन अघिसम्म मेरो क्षेत्रमा थिएन । गएको निर्वाचनदेखि इलाममा २ क्षेत्र तोकिएपछि मेरोमा इलाम बजारसहितको विमानस्थल क्षेत्र परेको हो । विमानस्थलमा टर्मिनल भवनदेखि अरु धेरै संरचना बनाउन बाँकी छ । यो विमानस्थल मेरै प्रयास र पहलमा बनेको हो, रविन्द्र अधिकारी पर्यटन मन्त्री भएका बेला मैंले अनुरोध गरेर यहाँ धावनमार्ग पिच गरिएको हो । तर, विमानस्थल संचालनमा व्यवहारत कठिनाइ भएको महसुस भएको छ । अघिल्लो कार्यकालको नगरपालिकाले केही अनुदान दिएका भरमा थोरै समय नेपाल वायुसेवाको विमान सुकिलुम्बा आएको थियो, तर त्यही अनुदान पनि अहिले रोकिएको छ । अबको चरणमा भन्ज्याङदेखि विमानस्थलसम्मको २ किलोमिटर बाटो पिच गर्ने, विमानस्थललाई संसाधन र संरचना आधारमा नियमित उडान गर्न सकिने स्तरमा लैजाने प्रतिबद्धता लिएको छु ।

इलाम क्षेत्रमा रहने तपाईंसहित पूर्व प्रधानमन्त्री झलनाथ खनाल(नेकपा एस) लाई केन्द्रकै राजनीतिक लफ्फाबाजी र गुटबन्दी तथा शक्तिको खेलमा रुमलिएको नेताका रुपमा लिन थालिएको छ । तपाईं आफ्ना बारेमा के भन्नुहुन्छ ?

तपाईंले जे बुझाइ राख्नुभयो, त्यो मसँग होइन होला भन्ने मलाई लाग्छ । यस मामलामा म त्यति प्रष्ट छु । म पटकपटक विभिन्न निहुँमा इलाम आउने गर्छु । ससानो वा ठूलै सार्वजनिक कार्यक्रममा पनि निहुँ बनाएर आफ्नो ठाउँ घुमिरहन्छु । बरु मलाई काठमाडौंमा साथीभाइले भन्ने गर्छन्‒ तँ किन यति साहे इलाम धाउँछस् ? यसकारण एकैचोटि झलनाथजी र मलाई जोडेर कुरा नगरिदिनुहोस् भन्ने मेरो आग्रह हो । जहाँसम्म गुटबन्दीको कुरा छ, म गुटबन्दीभन्दा लाखौं कोष पर छु । मलाई यो कुरामा फिटिक्कै विश्वास छैन । बरु यसरी विश्वास नगरेबापत म कहिलेकाहीँ तनावमा आउने गर्छु । म कुनै गुटबन्दीमा छैन र, गुटबन्दीमा विश्वास छैन । म नेकपा एमालेमा विश्वास गर्छु र, म नेकपा एमालेमा छु ।

अरु क्षेत्र र संरचना हेरीकन आफ्नो पहिचान तथा नामाकरणकै मामलामा प्रदेश १ लाई निकै अग्रगामी मान्ने गरिन्थ्यो । तर प्रदेशले अहिलेसम्म नामसम्म पाउन सकेको छैन । यसमा तपाईंको राय के छ ?

हो, प्रदेश १ को नामाकरणमा ढिलाइ भइरहेको छ । राजनीतिक दलहरूले यसबारेमा छलफल गरेर समयमै निष्कर्षमा पुग्नुपर्ने थियो, त्यो हुन सकेन । अब भने निर्वाचन पछाडि यसको नामाकरण टुंगोमा पुग्नैपर्छ । जहाँसम्म नामको कुरा छ, यसमा विविधताको बहुपहिचान झल्कनुपर्छ भन्ने मेरो र मेरो दलको राय छ । त्यो भनेको कोही सगरमाथा–किराँत भनिरहेका छन्, कोही कोसी र कोही लिम्बुवान–किरात भन्नेमा अडिग हुनुहुन्छ । यस्ता थुप्रै नामहरू आएका छन् ।

– इकान्तिपुरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार