अधिवक्ता हुँदै उपनिर्वाचनबाट संसद छिरेका सुहाङको संसदमा ‘दोस्रो इनिङ्स’ (भिडियोसहित)

इलाम : इलाम क्षेत्र नं. २ को राजनीतिक यात्रा निकै रोचक मोडबाट गुज्रिएको छ । लामो समयसम्म एमाले नेता एवम् संविधानसभा अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्बाङको एकल प्रभाव रहेको यस क्षेत्रमा उहाँको निधनपछि भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनले नयाँ पुस्ताको नेतृत्व अगाडि ल्यायो ।

२०८१ बैसाख १५ गते भएको उपनिर्वाचनमा पार्टीले सुवासकै कान्छा छोरा सुहाङ नेम्बाङलाई उम्मेदवार बनायो । लामो समय सो क्षेत्रमा निर्माण भएको राजनीतिक विरासत, जनतासँगको सम्बन्ध र आफ्नै सक्रियाका कारण उनले उपनिर्वाचन जित्दै पहिलोपटक संसदको यात्रा तय गरे । १६ महिनाको संसदीय अभ्यासमा इलामे मतदाताको विश्वास जितेका सुहाङले २०८२ फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा पनि एमालेको तर्फबाट विजयी भइ संसदमा ‘दोस्रो इनिङ्स’ सुरु गरेका छन् ।

निकटतम प्रतिष्पर्धी कांग्रेसका भेषराज आचार्यलाई सात हजार ७७६ मतको फराकिलो अन्तरले पराजित गर्दै सुहाङ इलाम क्षेत्र नं.२ लाई प्रतिनिधित्व गर्दै दोस्रो पटक सांसद बनेका हुन् । सुहाङले २२ हजार ४२६ मत निकटतम प्रतिष्पर्धी कांग्रेसका आचार्यले १४ हजार ६५० मत मात्र प्राप्त गरेका थिए ।

एमालेका तत्कालीन उपाध्यक्षसमेत रहेका सुवासचन्द्र नेम्बाङको निधनपछि भएको उपनिर्वाचनमार्फत संसदीय यात्रामा प्रवेश गरेका सुहाङले बुवाको विरासत मात्र जोगाएनन्, दोस्रोपटक पनि जनताको विश्वास जित्दै आफूलाई सफल नेतृत्वकर्ताको रुपमा स्थापित गराएका छन् ।

को हुन् सुहाङ?

सुहाङ नेम्बाङको जन्म वि.स. २०४६ साल फागुन ६ गते बुवा स्वर्गीय सुवासचन्द्र नेम्बाङ र आमा विशाल नेम्बाङका कान्छा छोराको रुपमा काठमाडौंमा भएको थियो । काठमाडौंको ग्यालेक्सी पब्लिक स्कूलमा नर्सरी कक्षाबाट आफ्नो अध्ययन सुरु गरेका सुहाङले जगत माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरे । ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरेर उच्च शिक्षाका लागि अष्ट्रेलिया गए । त्यहाँ २ वर्ष कमाउँदै पढे ।

उनलाई त्यहाँ बस्दा सन्तोष नमिलेको भन्दै स्वदेश फर्किए । स्वदेश फर्केर उनले ‘काठमाडौं स्कूल अफ ल’ बाट कानुनमा पाँच वर्षको बीएलएलबी गरी वाणिज्य कानुनमा एलएलएम अध्ययन पूरा गरे । सुवासचन्द्र नेम्बाङले आफू कानुन पढेको र अधिवक्ता भएकाले सुहाङलाई पनि कानुन नै पढाएका थिए । काठमाडौंको थापागाउँमा ‘कान्तिपुर ल एसोसिएट्स एण्ड रिसर्च सेन्टर’ खोलेर सुहाङले वकालती पेशा गर्दै आएका थिए ।

सुहाङको राजनीति भन्दा खेलकुदमा लगाव बढी नै थियो । स्कूले जीवनमा धैजसो होस्टेलमै जीवन बिताएका सुहाङ अष्ट्रेलियाबाट फर्किएपछि कलेजमा भएका खेलकुद प्रतियोगिताहरुमा सहभागी हुन थाले । उनले खेलकुद क्षेत्रको विकासका लागि ‘इलाम स्पोर्टिङ डी मेची क्लब’ समेत स्थापना गरी सोही क्लबमार्फत इलामका विभिन्न ग्रामीण क्षेत्रमा पुग्ने गरेका थिए । फुटबल र क्रिकेटमा रुची भएका, पेशाले अधिवक्ता सुहाङ सरल, सालिन र नरम स्वभावका छन् ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि सुवास सधैं केन्द्रीय राजनीतिमा छाइरहेकाले सुहाङले पनि राजनीतिकलाई नजिकबाट बुझ्ने अवसर पाएका थिए । उद्यपि, उनी राजनीतिक गतिविधिबाट भने टाढै थिए । राजनीतिलाई नजिकबाट बुझ्ने अवसर पाएपनि खासै रुची नराखेका सुहाङलाई परिस्थितिले संसदीय यात्रामा प्रवेश गरायो । २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा इलाम क्षेत्र नं. २ बाट निर्वाचित उहाँका बुवा सुवासचन्द्र नेम्बाङको निधनपछि भएको उपनिर्वाचनमा उनलाई पार्टीले टिकट दिलाएर संसदीय राजनीतिमा प्रवेश गरायो । सुहाङलाई सांसद बनाउनमा त्यतिबेला सत्ता समीकरणले सहज बनाएको थियो । नेकपा (माओवादी केन्द्र), नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र नेपाल परिवार दलको समर्थन पाएका नेम्बाङले कम उमेरमा नै संसद छिर्ने अवसर पाएका थिए । उनले पाएको सोही अवसरलाई सदुपयोग गर्दै इलामे जनताको मन जित्न सफल भए र पुनः दोस्रोपटक संसदीय यात्रालाई निरन्तरता दिए । सालिन एवम् बौद्धिक नेताको छवि बनाएका स्वर्गीय सुवासचन्द्रको छोरा सुहाङले निर्वाचनमार्फत आफ्नो बुवाको बिरासत जोगाउँदै त्यसलाई थप उचाइमा पुर्याउन सफल भएका छन् ।

सुहाङलाई बुवाको अनुभव र राजनितिक विरासतले निश्चित रुपमा मार्ग देखाएको थियो । तर उपनिर्वाचन जितेपछि उनले आफूलाई केवल विरासतको आधारमा होइन, आफ्नै सक्रियता र जनसम्पर्कमार्फत स्थापित गर्ने प्रयास गरेका थिए । जिल्लाको विकास, संसदमा स्थानीय मुद्दा उठान र जनतासँगको निरन्तर सम्पर्क राख्ने शैलीले उनले छोटो समयमै आफ्नो पहिचान निर्माण गर्न सफल भए । जिल्लामा हुने सुखदुःखका विभिन्न गतिविधिमा सधैं उपस्थित हुने उनको शैलीले समेत राजनीतिमा सफल बन्न महत्वपूर्ण योगदान गरेको छ ।

सुहाङले बुवामा भएको इमान्दार र स्वच्छ छविलाई कायम राख्दै आफ्नो राजनीतिक यात्रा अगाडि बढाउने प्रतिवद्धता जनाउँदै आउनुभएको छ । आफू विजयी हुँदैगर्दा आफूसँगै चुनावी मैदानमा रहेका सबै उम्मेदवारले उठाएका सबै मुद्धा इलामको नागरिकको साझा भएको उहाँ बताउनुहुन्छ । राजनीति धेरै टाढासम्म रहेको भन्दै सबैको भावना कदर गर्दै देशलाई सुशासन र समृद्ध बनाउने सपना रहेको उहाँको भनाइ छ ।

उनी आफ्ना बुवाका अधुरा र अपुरा सपना पूरा गर्न राजनीतिमा आएको बताउँछन् । उनले जिल्लाको कृषि, पर्यटन, सडक पूर्वाधार, रोजगारी, शिक्षा र स्वास्थ्यलगायतका सवाललाई प्राथमिकतामा राख्दै संसदमा आवाज उठाउने प्रतिवद्धता व्यक्त गर्दै आएका छन् । बुवाको विरासत थाम्न मात्र राजनीतिमा नआएको बताउँदै उनले समाजमा राजनीतिप्रतिको युवाको नकरात्मक मानसिकता परिवर्तन गर्न र वैदेशिक रोजगारतर्फ युवाको बढ्दो आकर्षण घटाउन विभिन्न योजना ल्याउने आफ्नो लक्ष्य रहेको बताउँछन् । हाल सुहाङ एमालेका केन्द्रीय सदस्य छन् ।

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार