नौ लाख किरात, जनगणना र जातीय स्वपहिचान विहीन ‘राईहरु !’

  निनाम कुलुङ 'मंगले'  163 पटक हेरिएको

यो लेखमा नेपाल लगायत विश्वका अन्य देशमा आजभोलि ‘राई !’ जाति भनी चिनिदै आएका किराती त्यसमा पनि १६ खम्बुका सन्तान अर्थात् ‘राई !’ जातिबारे वास्तविकता के हो त ? भनी केही लेखिने छ । खासमा युरोप महादेश, अमेरिका लगायत भौतिक विकासले चरम सीमा नाघेको भनिएको देशहरुमा समेत ‘जातीय स्वपहिचान वा स्वत्व !’ भन्ने भूतको छाँया (वास्तविकता पनि त्यही हो ।) ले कुनै न कुनै रुपमा प्रकट रुप लिएको वा लिने गरेको देखिन्छ । सो बारे अहिले केही नलेखौं ।

त्यस्तै नेपालमा पनि देश पुनः संरचनामा जाँदा ‘जातीय स्वपहिचान वा भाषिक, ऐतिहासिक आदि आधारमा प्रदेशहरुको नाम रहनु पर्छ !’ भन्दा जस (जुन वर्गले) ले ‘यस्तो जातीय सद्भाव भड्काउने कुरो पनि गर्ने ?, साम्प्रदायिक कुरो पनि गर्ने ?, अहिलेसम्म मिलेर बसेको नेपाली समाजलाई भाँड्ने ?’ भनी हप्काउने, दप्काउने वा सम्झाउने, बुझाउनेहरुले नै धेरैअघि ‘आ–आप्mनो थर, उपथर र गोत्र (वंश) को आधारमा ‘संगठन’ वा ‘समाज’ गठन गरी सकेका छन् भन्नेचाहिँ सम्बन्धित जात समूहबाहेकका धेरै कम ‘आदिवासी जनजाति !’ भनिनेहरुले मात्रै थाहा पाएका वा बुझेका होलान् !? त्यसैले यो लेखमा असलीयतमा १६ खम्बुका सन्तान अर्थात् ‘राई !’ जातिहरु अबका दिनमा स्वपहिचानविहीन ‘राई !’ हुने/बन्ने कि, पहिचानसहित ‘राउटे’ हुने/बन्ने ? भन्ने बारेमा कलम दौडाईने छ ।

‘किरात सभ्यता’लाई विश्वकै सबैभन्दा पूरानो र व्यापक रुपमा पैmलिएको सभ्यताहरुमध्ये एक मानिन्छ । किरात/किरातीहरु ब्रह्मपुत्र तथा गंगा (गोङवा) नदी र यसका शाखा नदी आसपास विकास भएको मानिन्छ । सुरुमा एसिया महादेशको दक्षिण एसिया, दक्षिणपूर्व एसिया, मध्य एसियामा किरातहरु रहेका थिए । कस्मिरदेखि पूर्व, कामरुप, भुटान हँुदै मानसरोवरको दक्षिण–पश्चिमसम्म, ब्रह्मपुत्र नदीको किनारदेखि सरयु नदीको किनारसम्म, मानसरोवरदेखि चीनसम्म, नवदेशदेखि महाचीनसम्म किरातहरु विस्तारित थिए भन्ने इतिहासकारहरुको भनाइ रहेको छ । किरातीहरुको ऐतिहासिकता तथा चर्चा–परिर्चा संस्कृत साहित्यहरु जस्तै अथर्व वेद, वाल्मिकि रामायण र महाभारतहरुमा (किराती राजाहरु र जनताहरुको) उल्लेख गरेको पाइन्छ । प्राचीन संस्कृत साहित्य (ऋग्वेद, पुराण, स्मृति, काव्य, कथा, कविता, तथा विभिन्न खोज, अनुसन्धान र विभिन्न अभिलेखहरु) मा पनि किरात जातिको उल्लेख रहेको पाइन्छ । त्यस्तै बौद्ध साहित्य, जैन साहित्य, इसाई धर्म, इस्लाम धर्म आदि विभिन्न धर्म ग्रन्थहरु र प्राचीन वास्तुकला, शिल्पकला, लोक सहित्य, मिथक, लोककला, चित्रकलाहरुमा पनि किरात र किरातीहरुका बारेमा प्रशस्तै चर्चा–परिचर्चा गरिएको पाइन्छ ।

किरात वा किरातीहरुको वंशावलीको सन्दर्भमा भन्नु पर्दा गोपाल राज वंशावलीअनुसार ३२ पुस्ता, डेनियल राइटको वंशावलीअनुसार २९ पुस्ता, भारतका प्रसिद्ध अनुसन्धानकर्ता तथा लेखक जीपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेट्रिकको वंशावलीअनुसार २७ पुस्ता, सिल्भँ लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशन अनुसार २५ पुस्ता, डा. स्वामी प्रपन्नाचार्यका अनुसार २८ पुस्ता र ‘सुब्बा’ प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहालका अनुसार ३५ पुस्ता एवम् भुपेन्द्रनाथ शर्मा ढुंगेलका अनुसार ३३ पुस्ता किराती राजाहरुले काठमाडौ उपत्यकामा राज्य चलाएका थिए । भनिन्छ, यसबाहेक पनि एसियाको विभिन्न क्षेत्रहरुमा किरातीहरुले शासन चलाई आएका थिए । यसरी कुनै वेला एसियाको ठूलो भू–भागमा फैलिएको किरातीहरु पछि गएर बाह्य क्षेत्रबाट आएका मानिसहरुको हस्तक्षेप एवम् उपनिवेशीकरणका कारण विस्थापित हुँदै र आफ्नो जिमी–भूमिको साथै आप्mनो जातीय स्वपहिचानसमेत गुमाउँदै सीमित भू–क्षेत्रमा मात्रै बाँकी रहेका छन् । हँुदाहँुदा अहिले आएर दक्षिण एसियाको पनि सगरमाथा (चोमोलुङमा) क्षेत्र (हालको नेपालको पूर्वी भाग १ नम्बर प्रदेश, अभैm पनि किरात प्रदेश नाम रहने संभावना नदेखिएको !) को सानो भू–भागमा मात्रै आपूmलाई प्रस्ट रुपमा किराती भनी चिनाउँने जातिहरु बाँकी रहेका छन् । तर, उनीहरु पनि नेपालको भगौलिक एकीकरण भएसँगै आप्mना पिता–पूर्खाहरुले स्थानयीस्तरमा शासन गर्न नियुक्त हुँदा पाएको ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ पदवी वा पगरीलाई नै जाति मान्न थाले । सोही कारण आपूm असलीयतमा १६ खम्बुका सन्तान भएको वास्तविकता बिर्सिँदै उनीहरुले जानाजानी वा अरुको दवाव अथवा प्रभावमा परेर आप्mनो नाम वा समुदायलाई चिनाउँदा “–‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ ।” भनी लेखाउन/भनाउन वा लेख्न/भन्न थाले । त्यसो हुँदा ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ आदि विभिन्न ‘करण’सँगै उनीहरुको असली किराती पहिचान नै ओझेलमा पर्न लागेको अवस्था छ । यसरी ‘करण !’ मा परेर आप्mनो जातीय स्वपहिचान र अस्तित्व संंकटमा परेका वा पर्न आँटेका किरातीहरुमा सबैभन्दा बढी १६ खम्बुका सन्तानहरु देखिन्छन् । यसरी ‘करण’मा परेका कुलुङ लगायत खम्बुका सन्तानहरुलाई उदाहरणको रुपमा लिन सकिन्छ । वास्तवमा १६ खम्बुका सन्तानहरु बढी नै ‘राईकरण’को मारमा परेको भेटिन्छ/देखिन्छ । तर, सुखद् कुरो के भने, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’करणमा परेका लिम्बु, लाप्चा, सुनुवार र याक्खा आदिले भने आजभोलि आप्mनो नामको पछाडि जात वा जाति (खासमा विश्वका कुनै पनि आदिवासी जनजातिहरु ‘जात’ नभएर ‘जाति’ हुनुपर्ने हो) लेख्दा ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ हो भनी लेख्न छाडेका छन् । यसमा पनि महत्वपूर्ण कुरो के रहेको छ भने, माथिका चारवटै जातिका कुनै पनि व्यक्तिले झुक्किएर वा जानाजान आप्mनो नामको पछाडि जात वा थर ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ हो भनी लेखीहाले तापनि उनीहरुलाई जातीय स्वपहिचानको खासै समस्या रहेको छैन । किनभने, उनीहरु नेपाल सरकारले गठन गरेको ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (आजउराप्र) ऐन–२०५८’ को दफा दुई (क) अनुसार सूचीकृत भई सकेका छन् । स्मरणीय छ, सो सूचीमा हाल ५९ जातिहरु सूचीकृत छन् ।

त्यस्तै ‘राईकरण’मा परेका कुलुङ लगायत अन्य किराती जातिका अगुवाहरुले ‘हामी ‘राई !’ होइनांै, हामी पनि नेपालका अन्य जातिसरह अलग्गै जाति हौं !’ भनी ‘प्रतिष्ठान ऐन–२०५८ को दफा दुई (क) मा व्यवस्था भएअनुसार सूचीकृत गरियोस् भनी तत्कालीन श्री ५ को सरकार, स्थानीय विकास मन्त्रालय मातहत रहेको ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका तालुकवाला मन्त्री फेरिदै पिच्छे माग राख्दै आएका थिए/छन् । तापनि कुलुङ लगायत अन्य किराती जातिहरु ‘नेपालका अन्य जातिसरह स्वतन्त्र र अलग्गै जाति हुन् !’ भनी सूचीकृत हुन सकेका छैनन् ।

हामीले कुरो नचपाई भन्नै पर्दा किरात र किरातीबारे पिर्ता–पूर्खा, पूर्वजहरुले पनि मौखिक रुपमा भनी आएको कुरोहरु छ । त्यस्तै इतिहासकारहरुले लेखेका किताब एवम् केही लिखित दस्तावेजहरुले पनि स्पष्टै छन् । यसले पनि हुन किरात र किरातीहरु बारे स्पष्ट हुन सहयोग गर्दछ कि, किरातीहरु आजको भारत, बंगलादेश, नेपाल, चीन, बर्मा, भियतनाम, कम्बोडिया, लाओस, थाइल्यान्डका भू–भागसम्म विकास र विस्तार भएका हुन् । प्रसिद्ध अनुसन्धानकर्ता तथा लेखक जीपी सिंहका अनुसार भारतको विकासमा किरातीहरको ठूलो योगदान रहेको छ, उनीहरुको योगदानलाई भने, इतिहासमा उल्लेख गरिएन । (किरातः इन एनसियन्ट इण्डिया) । त्यस्तै रामायण, महाभारत, उपनिषद, पुराण लगायत अन्य धार्मिक ग्रन्थहरुमा समेत किरातीहरुको उल्लेख हुनुबाट पनि किराती भूमि हालको भारतको ठूलो भू–भागमा समेत रहेको थियो भन्ने जनाउंँछ ।

त्यसो त राई के हो ? भन्ने सम्बन्धमा जनकलाल शर्माले किरातहरुका बारेमा ‘हाम्रो समाज एक अध्ययन’ नामक किताबको पाना नम्बर–३१८ मा ‘नौ लाख किराँत’ उपशीर्षकमा यसरी उल्लेख गरेका छन् ‘–हड्सन महोदयका अनुसार किराँतीहरुको प्रमुख शाखालाई ‘खम्बु’ भनिन्छ । यिनीहरुको बसोवास भएको प्रदेशलाई कुनै समय ‘नौ लाख किराँत’ पनि भनिन्थ्यो । यस्तो नामाकरण गर्ने कारणमा हड्सन महोदय भन्छन्– “यस प्रदेशमा कुनै समय घरैपिच्छे दुई आनाका दरले कर लगाईन्थ्यो र त्यो करको संख्या नौ हजार आना पुग्दथ्यो । यसैलाई बढाएर त्यहाँका मानिसले यसलाई गाउँको संख्यामा ल्याए ।” यसको उल्लेख प्mिलट महोदयले पनि गरेका छन् । तर, विचारणीय प्रश्न के छ भने त्यस प्रदेशमा दुई आनाका दरले घरपिच्छे कर लगाइँदैनथ्यो । बरु यो कर प्रतिपरिवार दश पैसाका दरले लगाइन्थ्यो र त्यस्तो करलाई ‘मेगचन’ भनिन्थ्यो । मेगचन ‘मेगजिन’को अपभ्रंश रुप हुन सक्दछ । संभवतः यो कर गोरखालीहरुको त्यस प्रदेशमा प्रवेश भएपछि गोलीगठ्ठाका लागि युद्धका समयमा लगाइएको कर थियो । गोलीगठ्ठालाई मेगजिन भनिन्छ भन्ने कुरा यहाँ व्याख्या गर्ने आवश्यक छैन । यो कर युद्धको समयमा लगाईएको भए तापनि विक्रम संवत् २००७ सालसम्म कायमै रह्यो, कारण जेसुकै होस् उनीहरुको प्रदेशलाई ‘नौ लाख किराँत’ भनिन्थ्यो त्यसमा कनै सन्देह छैन । हुन सक्तछ त्यहाँका बासिन्दाको विश्वासअनुसार समस्त किराँतजातिको सङ्ख्या नौ लाख अनुमान गरिएको हवस् । ंयस अवस्थामा त्यस प्रदेशको नाम नौ लाख किराँत सार्थक पनि हुन आउँछ ।’

त्यस्तै समाजशास्त्री डोरबहादुर विष्टले लेखेको ‘सबै जातको फुलबारी’ नामक किताबमा लेखेका छन् ‘…तिरो उठाउँदा जग्गाको नापअनुसर नउठाएर घरधुरीको आधारमा उठाइन्थ्यो । जसले गर्दा थोरै जग्गा हुने ‘राई !’ हरुलाई मर्का पथ्र्यो । त्यसैले ‘किपट प्रथा’ र राई पगरी वा पदवी खारेज हँुदा धेरै जसो ‘राई !’ हरु नै खुशी … ।’ भनी लेखेका छन् ।

त्यस्तै चाल्र्स म्याकडग्लसले पनि ‘द कुलङे राई’ नामक किताबको ठाउँठाउँमा ‘–… राई … द चिफ एन्ड हेडमेन एप्पोइन्टेड वेर/वेएर गिभन द टाईटल अफ ‘राई !’ (चिफ), ह्विच इभेन्च्युअल्ली केम टु बी एप्लाइड टु द एथ्निक ग्रुप ऐज अ होल । …’, ‘द राई … किपट ओनर/ओवनर…’, इन दोज डेज राई मेन्ट/मिन्ट चिफ एन्ड वाज नट डायग्नोस्टिक अफ ग्रुप मेम्बरशीप …, भनी लेखेका छन् ।

ऊ वेलाका ‘नौ लाख किरात’ समय क्रमसँगै अब मिथकहरु र इतिहासमा मात्रै सीमित हँुदै जाने त होइन ? भन्ने प्रश्न गम्भीर रुपमा उठेको छ । जबकि नेपालको भगौलिक एकीकण ताका नै ‘नौ लाख किरात’ भनी उल्लेख भएको किरातीहरुको जनसंख्या आजसम्म पनि १२ लाख १५ हजार चानचुन –त्यो पनि हायु, जिरेल, थामी, लिम्बु, कुलुङ, सुनुवार, धिमाल, ‘राई !’ आदिसमेत जोड्दा) मात्रै रहेको देखिन्छ । स्रोतः २०६८ को जनगणना । जबकि विसं १९५२ मा पहिलोपटक आधुनिक तरिकाले जनगणना गरिएको मानिन्छ । त्यो वेला नेपालको जनसंंख्या ५२ लाख रहेको भन्ने भनाइ छ । त्यसैले यस विषयमा नेपालका मै हुँ ! भन्ने विद्घान (विशेष गरेर ‘राई !’ जातिवाला डाक्टर र प्राध्यापकहरु) हरुका साथै मानवशास्त्री, समाजशास्त्री भनिनेहरु साथै किरातजन्य संघ–संस्था हौं ! भनी दावी गर्नेहरुले पनि गम्भीर भएर खोजीनीति गर्नुपर्ने हो कि ?

साथै असलीयतमा १६ खम्बुका सन्तान अर्थात् अहिले ‘राई !’ जाति भनेर चिनिनेहरुले पनि अब जनसंख्या ‘ठूलो अर्थात् संख्या धेरै देखाएरराजनीति गर्नका लागि र, जनसंख्या धेरै देखाएर खास–खास अवस्थामा राजनैतिक फाइदा लिन र, कतै नियुक्तिहरु खानका लागि मात्रै भए पनि “स्वपहिचानविहीन भएर भए पनि ‘राई !’ नै हुने ?” अथवा संख्या थोरै भए पनि जातीय स्वपहिचानसहित ‘राउटे’ बन्ने ? भन्ने बारेमा तम्तयार भए बस्नुपर्ने देखिन्छ । यो विषयमा केवल १६ खम्बुका सन्तान अर्थात् ‘राई !’ जाति भनिनेहरुका अगुवाहरु मात्रै नभएर आप्mनो नामको अगाडि डाक्टर, प्राध्यापक, मानवशास्त्री, समाजशास्त्री, भाषाशास्त्री, इतिहासकार, मुन्धुमविद (कुलुङहरु ‘मुन्धुम’लाई ‘रीदूम’ भन्छन्), संस्कृतिविद भनिनेहरुका साथै किरातजन्य संघ–संस्थाका अगुवाहरुले पनि चाहिने हदसम्मको जिज्ञासा र चासोका अगाडि बढ्नुपर्ने देखिन्छ ।

हुन त कुलुङ गत जेठ अन्तिम र असर पहिलो हप्तामा हुने भनिएको तर, कोरोना महामारीको दोस्रो लहरका कारण स्थगित भएको १२ औं जनगणना हाल स्थगित भएको छ । तर, स्थगित भएको सो जनगणना फेरि यही भदौ–असोजमा हुन सक्ने भन्ने केन्द्रीय तथ्यांक विभागको भनाइ रहेको छ । खासमा सो जनगणनामा कुलुङ लगायत १२ वटा किराती जातिहरुले अलग–अलग जातिगत कोड र भाषागत कोड पाएको हुनाले उनीहरु राईमा नगाभिएर अलग्गै जातिका रुपमा आउने पक्का छ । तर, संख्या केकति हुन्छ ? अहिले नै भन्न सकिने अवस्था छैन ।

स्मरण रहोस्, हामी कुलुङ जाति वा भनौं समुदायले आगामी १२ औं राष्ट्रिय जनगणनामा पाएको अलग्गै जातिगत ‘कोड–६२’ र भाषागत ‘कोड–३३’ रहेको छ । त्यसैले अरु राई भन्नेहरुले जे सुकै लेखाऊन वा भनून् हामीले चासो लिईरहन जरुरी छैन । तर, हामी कुलुङ जातिका अगुवाहरु, समाजमा मानिएका अग्रजहरु, विद्यार्थीहरु, शिक्षक/शिक्षिकाहरु, जान्नेसुन्ने भनिनेहरुले गणकलाई विगतमा जस्तो ‘राई’ वा ‘कुलुङ राई’ नलेखाएर “कुलुङ” मात्रै लेखाऊँ, कुलुङको वास्तविक जनसंख्या आएमा नै हाम्रो बारेमा सरकारले नीति निर्माण गर्दा ध्यान दिने छ ।अन्यथा फेरि पनि विगतमा जस्तै राईको ठूलो संख्या देखाएर राजनीति गर्न चाहनेहरुको घानमा कुलुङहरु परेमा ठूलो दूर्घटना हुन निश्चित छ । त्यसैले अब हामी कुलुङहरुले संख्या देखाएर राजनीति गर्न चाहनेहरुको फन्दामा पर्नबाट बच्नैपर्छ । अन्यथा अर्को १० वर्षको लागि कुलुङ समुदायको भविश्य अन्धकार हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार