कागे गोल्डकप र मेला नहुँदा चार्डपर्वमा खल्लो महसुस

  लोकेन थेवे  87 पटक हेरिएको

 

इलाम : यति बेला नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारले सबैको घरको आँगन टेक्दैछ ।
सबै नेपालीहरुको घरघरमा ढकमक्क  सयपत्री फुलेर छपक्कै छन् । घर आँगन सफासुगर गरेर बेहुली जस्तै सिगार्न थालिएको छ।विदेशीएका नेपालीहरु खुशी भएर चेलीको हातबाट टीका थाप्न सधैं भन्दा न्यून भए पनि आउने क्रम जारी छ।
सबै आ-आफ्नो धुनमा कोरोनाको कहर बाबजुद रमाईरहेका देखिन्छन्।
तिहारमा आफ्नो- आफ्नै योजना छ।कोहि देउसीभैलो त कोहि नाचगान । यसरी चार्डपर्वले  छोपे पनि माईजोगमाई-६, प्याङ र सन्दकपुरका युवाहरुमा विगतमा वर्ष जस्तो जमुनाको घुम्तिमा संचालन हुने कागे गोल्डकप यस वर्ष आयोजना नहुँदा खल्लोपन महसुस गर्न थालेका छन् ।

खेल र मेला शुरुहुनु भन्दा दुई महिना अघि मेलाको तयारीको लागि रकम जोहो गर्नु पर्थ्यो। भारतको दार्जिलिङका उत्कृष्ट टिमको सहभागी हुँदा धेरैको जम्काभेट हुने र आपसी चिनजानबाट धेरैको घरजाम कागे मेलाबाटै भएकोले कागेगोल्ड कपको अविस्मरणीय सम्झना रहेको जमुनाका स्थानीय खेलाडी उमेश गुरुङ बताउँछन् ।स्थानीय युवाहरूलाई पर्व भन्दा पनि कागे मेलाको मोह बढी रहेको उनको भनाइ छ ।

३५ वर्ष अघिदेखि शुरुआत भएको यो मेला १० वर्षे शस्त्र माओवादी जनयुद्धमा समेत स्थगित नभएको तर यस वर्ष विश्व महामारीका प्रभावले रोकिएको छ ।

यही ठाँउमा आयोजित खेल मार्फत करियर शुरुवात गरेका जमुनाका स्थानीय खेलाडी छिरिङ गुरुङ र दर्शन गुरुङ हाल राष्ट्रिय टिममा पर्न सफल भएकाले कागे गोल्डकपको चर्चा चुलिएको थियो। यो वर्ष झनै ठूलो धनराशिको खेल खेलाउने योजना थियोे तर कोरोनाले तुषारापात गराइदियो भन्छन्,आयोजक समिति सदस्य इन्द्र गुरुङ ।
इलामको टुँडिखेलमा संचालन हुने माइभ्याली गोल्डकप पश्चात् जिल्लाकै दोस्रो दर्शकको चाप देखिने खेलमा आफु मलेसियामा सात वर्ष सम्म बस्दा पनि बिर्सेन नसकेको बिक्रम थेबे बताउँछन् । आजभोलि कागे मेला र यहाँ आयोजना हुने खेल जस्तै धेरै ठाँउमा चहलपहल बन्द भएसंगै कोरोनाले हरेक मानिसको रौनक सुस्ताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार