कपडाभित्रको दृश्य समेत खिच्नसक्ने क्यामरा

स्मार्टफोन कम्पनी वन प्लसले हालै आफ्नो फ्लागसिप स्मार्टफोन वनप्लस ८ प्रो लञ्च गर्‍याे । उक्त स्मार्टफोनको एउटा विवादित क्यामरा फिचरमाथि प्रतिबन्ध लागेको छ ।

वन प्लसको क्यामरामा रहेको फोटो क्रोम सेन्सर फिचरमाथि प्रतिबन्ध लगाइएको हो । उक्त क्यामराले पातलो प्लास्टिक तथा कपडाले छोपिएको चिजको समेत फोटो खिच्न सक्दथ्यो ।

जिउमा लगाएको कपडाको भित्रको दृश्य समेत खिच्नसक्ने भनिएको उक्त एक्सरे भिजन स्मार्टफोन क्यामरालाई लिएर प्रयोगकर्ताहरुले व्यापक रुपमा चिन्ता व्यक्त गरेसँगै उक्त क्यामरा फिचरमाथि प्रतिबन्ध लागेको हो ।

वनप्लसले नयाँ डिभाइसका लागि एक सफ्टवेयर अपडेट जारी गरेको छ । उक्त अपडेटसँगै फोनको क्यामराले कपडा भित्रको दृश्य खिच्न सक्ने छैन । उक्त अपडेट अगाडि नै धेरै प्रयोगकर्ताले सो क्यामराबाट तस्वीर खिचेर सोसल मिडियामा शेयर गरिसकेका थिए ।

सोसल मिडियामा शेयर गरिएका केही तस्वीरहरुबाट प्रष्ट हुन्थ्यो कि वनप्लसको इन्फ्रारेड लेन्सले कतिपय ग्याजेट्सका खोलहरु भित्रको दृश्य समेत खिच्दथ्यो र तस्वीरमा ग्याजेटको ब्याट्री तथा तारहरु समेत देखिन्थ्यो । त्यस्तै कालो टिसर्ट भित्रको दृश्य समेत यो क्यामराले खिच्न सक्दथ्यो ।

स्मरण रहोस् वनप्लसको पछाडि पट्टिको भागमा ४ वटा मूख्य क्यामराहरु थिए । जसमा एउटा फोटोक्रोम लेन्स थियो । प्रयोगकर्ताहरुको गुनासो आएसँगै कम्पनीले स्मार्टफोनको उक्त फोटोक्रोम क्यामरा सधैका लागि बन्द गरिदिएको हो । कम्पनीले एक आधिकारिक ब्लग मार्फत् यसको पुष्टि गरेको छ । एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार