इलाममा साहित्य महोत्सवमा कलादेखि राजनीतिसम्मको बहस (भिडियो सहित)

  नयाँ बुलन्द
0 Shares


इलाम : म्युजिक भिडियोदेखि फिल्मसम्मको सुटिङ गन्तव्य मात्र हैन, पर्यटनका हिसाबले पनि इलामको सौन्दर्य भिन्न छ । शुक्रबार र शनिबार दुई दिन भने इलामको सौन्दर्यलाई साहित्यले मापन गर्‍यो ।

साहित्यमार्फत् समृद्धि खोज्ने ध्येयसाथ शनिबार सम्पन्न महोत्सवको रौनकले इलाम उज्यालियो । महोत्सवमा नेपाली साहित्यका अनेक आयामसँगै, कला, संगीत, पर्यटन, कृषि, राजनीतिलगायतका ताजा विषयमाथि खुलेर बहस भए । बहसका विषय दलित, महिलादेखि आदिवासी जनजाति, मधेसी, पिछडिएको क्षेत्रसम्मका थिए । कविता सुन्नेदेखि बहसमा धैर्यतासाथ जिज्ञास राख्नेहरूको घुइँचो लोभलाग्दो थियो ।

महोत्सवको रापले इलामको चिसो भगाउँदै गर्दा बहसमा उठेका विषय र प्रसंगले भने सहभागीको दिमाग पनि तताइरहेको थियो । दोस्रो दिन शनिबार संविधानसभाका पूर्व अध्यक्ष सुवास नेम्वाङले समावेशी लोकतन्त्र संस्थागत भएर जाने प्रतिबद्धता दोहार्‍याएर कार्यक्रम समापन गर्नुअघि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र लेखक खगेन्द्र संग्रौलाले ‘गणतन्त्रको खतरा’ माथि बहस गरेका थिए ।

इलामलाई साहित्यमार्फत् पर्यटकीय गन्तव्य बनाउने ध्येयसमेत राखेर गरेको कार्यक्रममा नेपाल र भारतका साहित्यानुरागीहरूको वहस प्रस्तुति उत्तिकै रोचक थियो । महोत्सवको दोस्रो दिन हरिषचन्द्र राई, देवी क्षेत्री दुलाल र चन्द्र घिमिरेले पर्यटनका सम्भावना भएर पनि प्रवर्द्धन गर्न नसकिएको चर्चा गरे । सुरेश नेम्वाङ, रवि सिंह र दीपक गौतमले निर्माण पाटोमा छलफल चलाउँदा हरिहर शर्मा र प्रकाश आङ्देम्बेले फिल्मले दिने सन्देशको विषयमा दर्शकलाई प्रस्ट्याएका थिए । भूपाल राई र धर्मेन्द्रविक्रम नेम्वाङले नेपाली साहित्यमा मुन्धुममाथि बहस गरे । गायक कोमल निरौला र समीक्षक गुरुङ सुशान्तले गीतको दु:ख विश्लेषण गरे ।

साहित्यकार कृष्ण धरावासी, सीमा अभास र जेबी विश्वकर्माले ‘अधिकारको पेवा’ माथि बहस चलाए । इलाममा चियाको प्रसंग नआउने कुरै भएन । पहिलो दिन नै अशोक मुकारुङले ‘इलामे सहर चियाबारी राम्रो…’ भन्दै देशभरका स्रष्टाहरूलाई स्वागत गरे । यसपछि लगत्तै ‘बैरागी काइँलाका कविताहरू’ कृति लोकार्पण गर्दै भूपाल राई र श्रवण मुकारुङले कार्यक्रम थाले । ‘लोकतन्त्र र आलोचनात्मक चेत’ शीर्षकमा सञ्जीव उप्रेतीको किनोट स्पिचबाट सुरु पहिलो दिनको सेसन ‘करोड क्लब र अफवाह’ मा पुगेर टुंगिएको थियो । प्राध्यापक उप्रेतीले संरचनात्मक लाभांशलाई आलोचनात्मक चेतसँग जोडेर एक घण्टा लामो सम्भाषण दिए । उनले भने, ‘संरचनात्मक लाभांश लिनेहरूलाई संरचनात्मक अन्धताले गाँजेको छ, त्यसबाट सबैले मुक्त हुन जरुरी छ ।’

उप्रेतीले सबभन्दा बढी संरचनात्मक लाभांश लिनेहरू नै बढी सचेत हुनुपर्ने सुनाए । उनले लोकतन्त्र परिर्वतनशील प्रक्रिया रहेको बताउँदै यसलाई फराकिलो पार्ने काम आलोचनात्मक चेतले गर्ने बताए । पहिलो दिनको दोस्रो सत्रमा ‘कवि र कविता, सत्ता कि प्रतिपक्ष ?’ शीर्षकमा श्रवण मुकारुङ, मोमिला र मनु मञ्जिल गफिए । सहजीकरण कवि विमल वैद्यले गरे । यो बहसको निष्कर्ष थियो– ‘जनताका पक्षमा लेख्नेहरू सधैं प्रतिपक्षमा हुन्छन् । त्यसो नभए लोकतन्त्रलाई परिवर्तनशील बनाउन नसकिने र प्रतिगमनको खतरा बढ्छ ।’ ‘मानकमाथि प्रश्न’ शीर्षकको अर्को सत्रमा राजन मुकारुङ, उज्ज्वल प्रसार्इं र मिश्र वैजयन्तीले तातो बहस गरे । कवि महेश पौडेलले सहजीकरण गरेको बहसमा वक्ताले शक्तिको अभ्यासले समाजमा मानक स्थापित गरेको बताए । मुकारुङले भने, ‘समाजलाई सदियौंदेखि जकडिएको मान्यता हो मानक । त्यसविरुद्ध प्रश्न गर्नु सजिलो काम हैन ।’ पुरानो मानक हटाउँदै नयाँ मानक स्थापनाका लागि राज्य र समाज दुवै जिम्मेवार हुनुपर्नेमा उनीहरूको जोड थियो ।

‘अ’ मा अल्झेको इलाम’ शीर्षकको छलफलमा संस्कृतिविद् युद्धप्रसाद वैद्य, इलाम नगरका प्रमुख महेश बस्नेत र राजेन्द्र बरालले बहस गरे । पत्रकार केदार शर्माले सहजीकरण गरे । यो बहसमा इलामका विभिन्न सम्भावनाबारे खोजी गरिएको थियो । खासगरी कृषिजन्य उत्पादनमा इलामको योगदान र त्यसका चुनौतीबारे चर्चा भयो । कृषि उपजकै कारण पहिचान बनाएको इलामलाई यी वस्तुको उत्पादनको बढोत्तरीसँगै बजारीकरण र स्वरोजगारको माध्यम बनाउन ढिला भएकोमा उनीहरू चिन्तित देखिन्थे ।

अर्को सत्रमा ‘किन बिक्न छाड्यो आख्यान ?’ शीर्षकमा प्रेम ओझा, प्रकाश बुढाथोकी र बिना थिङले गरमागरम बहस गरे । लेखक बालिका थपलियाले सहजीकरण गरिन् । यो बहसमा आख्यान लेखन र कन्टेन्टका विषयमा घनीभूत छलफल भयो । पाठकको चाहनाबमोजिमका आख्यान आए अझै पनि प्रशस्तै बिक्न सक्ने निष्कर्ष उनीहरूको थियो ।

अन्तिम सत्र ‘करोड क्लब र अफवाह’ मा अभिनेता दयाहाङ राई, समीक्षक अनुप सुवेदी र लेखक ब्रजेश खनालबीच बहस भयो । अन्वेश थुलुङले सहजीकरण गरेको यो बहसमा नेपाली चलचित्रको स्तर, व्यापारका साथै पछिल्लो धारबारे वक्ताहरूले विचार राखे । अभिनेता राईले नेपाली चलचित्रले पछिल्लो समय धार परिवर्तन गरे पनि शैली भने नफेरिएको बताए । उनले भने, ‘लुटपछि धेरै लुट बनियो । फरक शैलीबाट फिल्म बनाउने काममा हामी चुक्यौं ।’ इलाम साहित्य समाजका अध्यक्ष प्रकाश थाम्सुहाङले समृद्ध मुलुक निर्माणमा कला, साहित्य र संगीतको योगदान रहने बताए ।

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार