‘महोत्सवमा रैथाने विचार र मुद्धाको वहस हुनेछ’ : अध्यक्ष थाम्सुहाङ (भिडियो अन्तरवार्ता सहित)

  राम योङहाङ  234 पटक हेरिएको

प्रकाश थाम्सुहाङ, अध्यक्ष इलाम साहित्य समाज

इलाम : इलाम सदरमुकाममा शुक्रबादेखि दुई दिने इलाम साहित्य महोत्सव २०७६ संचालन हुँदैछ । साहित्यको माध्यमबाट पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले इलाम सहित्य समाज इलामले महोत्सवको आयोजना गरेको हो । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । यसै सन्दर्भमा आयोजक इलाम साहित्य समाजका अध्यक्ष प्रकाश थाम्सुहाङसँग नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङले गरेको कुराकानीको सम्पादित अंश :साहित्यिक महोत्सवको मुख्य उदेश्य के हो ?

इलाम साहित्य महोत्सव २०७६ को मुख्य उद्देश्य इलामको पर्यटनलाई अभिवृद्धि गर्ने हो । त्यसैले हाम्रो महोत्सवको नारा नै छ ‘पर्यटनको लागि साहित्य’ । साथै समकालीन नेपाली सहित्य, सिनेमा, संगीत र राजनितिमा प्रसय पाएको नविन मुद्धाहरुमाथि बहस गर्ने र बहसबाट निस्किएको निचोडलाई डकुमेन्टेसन गर्दै इलाम साहित्य महोत्सव २०७६ घोषणा गर्नु हो ।

महोत्सवको लक्षित वर्ग को हुन् ?

लक्षित वर्ग फेरी पनि आम मानिसहरु नै हुन् । यसकारण आम मानिसलाई प्रत्यक्ष सरोकार राख्ने विषयहरु हाम्रो विभिन्न सेसनमा छन् । युवाहरु यसका प्रधान वर्ग हुन सक्छन् । समाजप्रति उनीहरुको जिज्ञासालाई उचित मञ्च प्रदान गर्नु आफैँमा एक चुनौती र उत्तरदायित्व पनि हो जस्तो लाग्छ । समाजभित्रका हरेक वैचारिक चिन्तनहरु जो प्रत्यक्ष रुपबाट आम मानिसको जीवनमा सरोकार राख्छन् । जस्तो आर्थिक, सामाजिक, राजनैतिक, साहित्यिक क्षेत्रहरु, यसप्रति आममानिसको राय निर्माणमा महोत्सवले महत्वपुर्ण भूमिका निर्वाह गर्दछ भन्ने हामीले सोचेका छौँ ।

केही महिना अघिमात्र इलामकै मंगलबारेमा यस्तै महोत्सव संचालन भएको थियो । खासै प्रभावकारी र सफल नभएको विश्लेषण गरिन्छ । तपाईहरुको महोत्सव सफल हुने आधारहरु के छन् ?

यो बहुतै सान्दर्भिक प्रश्न गर्नुभयो । प्रत्यक्ष, अप्रत्यक्ष रुपबाट हामी पनि त्यस कार्यक्रममा सहभागी थियौँ । जहाँसम्म मलाई लाग्छ विषयवस्तु छनौटको हिसावले र सहभागीहरुको उपस्थितिले उक्त महोत्सव प्रभावकारी नै भएको हो । मंगलबारे महोत्सवलाई वर्षा मात्र बाधक भएको हो । प्रकृतिसँग मानव सदैव पराजित भएको इतिहासमा उल्लेख्य दृष्टान्तहरु छन् । तसर्थ प्राकृतिक अप्ठ्याराहरुसँग जुध्दै हामीले गरेको तयारी नै हाम्रो सफलताको आधार हुन सक्छ । हाम्रो सफलताको अर्को विश्वासिलो आधार भनेको हामीले रैथाने मुद्धाहरुलाई बहसको केन्द्रमा राखेका छौँ र स्थानीय लेखक, कवि, चिन्तकहरुलाई बढि भन्दा बढि सम्बोधन गरेका छौँ । यो पनि सफलताको एक आधार हुन सक्छ ।

अन्य महोत्सवभन्दा यो साहित्य महोत्सवमा के भिन्नत छ ?

विगतमा अन्य महोत्सवहरुलाई राजधानी परस्त मात्र बनाइएको थियो । उक्त महोत्सवहरुमा राजधानीका कवि, लेखक, चिन्तकहरुको बौद्धिक प्रभुत्व बढि देखिन्थ्यो । यो महोत्सवमा राजधानीपरस्त मानसिकतालाई चिर्दै अधिकांश वक्ताहरु मोफसलका राखेका छौँ । स्थानीयतालाई प्राथमिकतामा राख्ने क्रममा इलाम आफैँमा चियाको लागि देशभर ख्याती कमाएको जिल्ला हो । हामीले यो महोत्सवलाई चिया पर्यटनसँग प्रत्यक्ष रुपबाट जोडेको छौँ । स्थानीय समाजको रैथाने जनजीवनसँग जोड्नु आफैँमा भिन्न कुरा हो । महोत्सवले उठान गर्ने अधिकांश विषयवस्तुहरु बौद्धिक विलासित मात्र बनिरहेको परिप्रेक्ष्यमा समाजलाई सोझै र दिर्घकालीन असर राख्ने विषयवस्तुहरु माथि डिस्कोर्स गर्नु इलाम महोत्सवको फरकपन हो ।

महोत्सवमा साहित्यकार र राजनीतिज्ञको जमघट हुने भनिएको छ । को को साहित्यकार र राजनीतिज्ञलाई उतार्दै हुनुहुन्छ ?

यो महोत्सव एक कुम्भ मेला पनि हो । महोत्सवमा पूर्व सभामुख एवम् प्रतिनिभि सभाका सदस्य सुवासचन्द्र नेम्बाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराई, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, प्रा.डा. सञ्जिव उप्रेती, साहित्यकार धर्मेन्द्रविक्रम नेम्बाङ, श्रवण मुकारुङ, मोमिला जोशी, मनु मञ्जील, सञ्चारकर्मी विष्णु निष्ठुरी, पत्रकार बसन्त बस्नेत, समीरबाबु कट्टेल, गणेशकुमार राई, आख्यानकार राजन मुकारुङ, साहित्यकार मिश्र वैजयन्ती, उज्जल प्रसाईँ, पाध्यापक महेश पौडेल, अधिकारकर्मी जेवी विश्वकर्मा, साहित्यकार सीमा आभाष, कृष्ण धारावासी, भूपिन, प्रकाश बुढाथोकी, बिना थिङ, कलाकार दयाहाङ राई, स्वस्तीमा खड्का, संगीतकार कोमल निरौला, राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलालगायतको सहभागिता रहनेछ । साथै नेपाल र भारतका नाम चलेका कविहरुको सहभागिता हुनेछ ।

साहित्यकार, कालाकार र राजनीतिज्ञबीच वहस चाँही कुनकुन विषयमा हुनेछन् ?

आम्रो महोत्सव अलि पृथक हुनेछ । मुख्यगरी महोत्सवमा रैथाने विचार र मुद्धाको वहस हुनेछ । जम्मा १४ वटा वहसका सेसनहरु हुनेछन् । जसमा आलोचनात्मक चेत र लोकतन्त्र, सत्ता कि प्रतिपक्ष ?, ‘अ’ मा अल्झेको इलाम, मानकमाथि प्रश्न, अधिकारको पेवा, किन बिक्न छाड्यो ? पर्यटनको आयाम वक्ताहरु, पछिल्लो साहित्यिक आन्दोलनहरु, करोड क्लब र अफ्वाह, नेपाली साहित्यमा मुन्धुम÷मुन्दुम, गीतको दुःख, सिनेमा र सन्देश, गणतन्त्र कसबाट खतरामा ?, साहित्यको राजनिति विषयमा वहस हुनेछन् ।

‘अ’ मा अल्झेको इलाम, मानकमाथि प्रश्न जस्ता सेसनहरु राख्नुभएको छ । यसको उद्देश्य के हो ?

भनिन्छ इलाम ‘अ’ बाट सुरुवात हुने कृषिजन्य उत्पादनहरुको लागि उर्वरभुमि हो । यी कृषिजन्य उत्पादन अकबरे, अदुवा, ओलन, अलैँची, अम्लिसो लगायतका नगदेवालीहरु इलामको आर्थिक स्रोतको मुख्य आधार हुँदै हो । तथापी इलाममा चियाखेती पनि छ । ‘अ’ बाट स्थापित कृषिजन्य उत्पादनहरुको कारण चिया भने ओझेलमा परेको हो की ? भन्ने कारणले पनि यो सेसन राखिएको हो । यद्यपी पर्यटनका अनेकन आयामहरु हुन सक्छन् । इलामले आफैँलाई अर्को ‘अ’ अग्र्यानिक उत्पादनहरुमा पनि जोड गरिरहेको हुँदा कृषि आफैँमा पनि पर्यटनको नयाँ आयाम हुन सक्छ । बाँकी कुरा सेसनमा हुने बहस र अन्तरक्रियाले पनि निकाल्ने हो । तर इलामले आफैँलाई फेरिपनि ‘अ’ भित्रै मात्र अल्झाइरहने हो ? या अन्य समृद्धिको पाटो पनि खोज्ने हो ? यो सेसनको एउटा मुख्य उद्देश्य यो पनि हो । प्रचलित मान्यताहरुले हाम्रो समाजलाई अग्रगमनको साटो कतै पश्चगमनतिर त लगिरहेको छैन ? मानकमाथि प्रश्नले यहि मुद्धामाथि केन्द्रित रहेर बहस गर्नेछ ।

महोत्सवले पर्यटनमा कसरी टेवा पुर्याउन सक्छ ?

पक्कै पनि साहित्यले सामाजिक उत्तरदायित्वबोध गर्नुपर्छ । इलाम साहित्य महोत्सव २०७६ को नारा नै छ, ‘पर्यटनका लागि साहित्य’ । महोत्सवमा चिया पर्यटनको पनि अभ्यास गर्दै छौँ । एउटा सेसन छ, ‘पर्यटनको आयाम’ । राष्ट्रिय–अन्तराष्ट्रिय स्तरका धेरै कवि, लेखक, कलाकार, राजनीतिज्ञ महोत्सवमा सहभागी हुँदै छन् । समाज र जीवनपद्धति नजिकबाट नियाल्ने मौका पाउनेछन् र फर्किंदा अलिअलि इलाम बोकेर जानेछन् । उनीहरूले इलामको सौन्दर्यको बारेमा केही न केही लेख्नेछन् ।

आर्थिक स्रोत कसरी जुटाउनुभयो ?

कार्यक्रम सफल पार्नु आफैँमा चुनौतीपूर्ण कुरा हो । यसको लागि हामीले धेरै ठाउँ पहल गरेका छौँ । सहयोग पाउनसक्ने ठाउँजति सबैतिर हामीले सहयोगका लागि आह्वान गरेका छौँ । विभिन्न स्थानिय तह, संस्थाहरु, व्यक्तिहरुले सहयोग पठाइरहनु भएको छ । केहि शुभेच्छुकहरुले पठाउँदै हुनुहुन्छ । अब आयोजक आफैँको सवालमा, हाम्रो लागि महोत्सव सफल हुनु नै सबै भन्दा ठूलो कुरा हो । हामी सबै लागि दिनरात लागिपरेका छौँ ।

यहाँसम्म आइपुग्दा के कस्ता समस्या र चुनौती आइपरे ?

समस्या र चुनौती कार्यक्रमको छाँया जस्तै हो । यसको लागि हामी आयोजक मानसिक रुपबाट तयार थियौँ । चुनौतीसँगै सहयोग गर्नेहरु पनि आउनुहुन्छ । जे भएपनि कार्यक्रमलाई प्रभावै पार्ने गरि त्यस्तो चुनौतिहरु आएको छैन ।

अन्त्यमा महोत्सव सफल पार्न के आह्वान गर्न चाहनुहुन्छ ?

यो महोत्सव हाम्रो संस्थाको मात्र होइन । हामी समग्र जिल्लाबासीे गरिमा हो । इज्जत र शान हो । महोत्सव सफल हुनु भनेको हामी सम्पूर्ण जिल्लाबासीको सफलता हो । यो महोत्सव हाम्रो जिल्लाको पर्यटन क्षेत्रलाई समेत देशविदेशमा चिनाउने माध्यम पनि हो । र अवसर पनि हो । त्यसैले हामी सबै यो महोत्सवलाई सफल पार्न आआफनो स्थानबाट सहयोगमा जुट्नै पर्छ । महोत्सवको सफलताका लागि सबैले सहयोग पुर्याउन आयोजकको तर्फबाट अनुरोध गर्दछु । आइदिनुहोला, हामी स्वागतका लागि तयार भएर बसेका छौं ।

हेर्नुहोस् भिडियो अन्तरवार्ता :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार