झापा : शङ्कास्पद लगानी रहेको भनिने झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा प्रयोग हुने औषधि भारतबाट तस्करी गरेर ल्याइने खुल्न आएको छ।
गुणस्तरहीन र नेपाल सरकारले प्रतिबन्ध लगाएका औषधि राजश्व छलेर तस्करीमार्फत नेपाल भित्र्याइने गरिएको तालुकवाला निकाय बताउँछन्।
औषधि व्यवस्था विभााग क्षेत्रीय कार्यालय विराटनगरले बी एण्ड सी अस्पतालका लागि तस्करी गरेर पूर्वी नाका काँकरभिट्टाबाट करिब ४ महिनाअघि भित्र्याइएको औषधि गुणस्तरहीन रहेको बताएको हो।
‘प्रहरीले जफत गरेको औषधि यहाँ बुझाइएको थियो, गुणस्तर परीक्षण गर्दा औषधि मापदण्ड नपुगेको कमसल ठहरियो,’ कार्यालयका एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भने।
बी एण्ड सी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले आईसीयूमा प्रयोग हुने महत्वपूर्ण औषधि भारतीय तस्करलाई प्रयोग गरेर अवैध रूपमा भित्र्याउने गरेको प्रहरी सूत्रले बतायो।
औषधिसहित पक्राउ परेका भारतीय तस्करले प्रहरीसमक्ष दिएको बयानका आधारमा बी एण्ड सी अस्पतालले तस्करीमार्फत गुणस्तरहीन औषधि अस्पतालका बिरामीलाई खुवाउने गरेको सार्वजनिक भएको हो।
इलाका प्रहरी कार्यालय काकँरभिट्टाले यसरी अवैध रूपमा विनाकागजात ठूलो मात्रामा औषधि नेपाल ल्याउँदै गरेको अवस्थामा बरामद गरेपछि बी एण्ड सीले गर्दै आएको बिरामीमाथिको खेलबाडको पर्दाफास भएको हो।
केही समयअघि भारत दार्जीलिङका २५ वर्षीय जीवन अग्रवाल र सुनसरी धरान–४ का ३० वर्षीय राजेश अग्रवाललाई तस्करीको औषधिसहित इलाका प्रहरी कार्यालय काँकरभिट्टाले पक्राउ गरेको थियो। उनीहरूले बी एण्ड सी अस्पतालले आफूहरूलाई तस्करीमार्फत औषधि नेपाल भित्र्याउन ‘मोटो रकम’ दिएको बयान दिएका छन्।
उनीहरूका साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित १ लाख ७० हजार रुपैयाँ बराबरको औषधि बरामद गरेको इलाका प्रहरी कार्यालय काकँरभिट्टाले जानकारी दिएको छ। पक्राउ परेका दुवै जनालाई औषधिसहित औषधि विभाग क्षेत्रीय कार्यालय विराटनगर पठाइएको थियो। हाल उनीहरू पुर्पक्षका निम्ति थुनामा रहेको प्रहरीले जनाएको छ।