फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिका–५ लुम्देमा स्वास्थ्य चौकी तथा प्रसुति केन्द्रको उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ र उपाध्यक्ष सरस्वती राई (सरू) ले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
पाँच वर्षअघिदेखि निर्माण सुरू गरिएको उक्त भवन निर्माणका लागि करूणा फाउण्डेशन नेपालले तीन लाख, तत्कालीन जिल्ला प्राविधिक कार्यालयबाट दुई लाख ६५ हजार, साविक लुम्दे गाविसबाट पाँच लाख, वडा कार्यालयबाट छ लाख तथा स्थानीयबासिन्दाको सहयोग गरी करिब २० लाख रूपैयाँको लागतमा दुई तले पक्की भवन निर्माण भएको हो ।
भवन निर्माणका लागि स्थानीय बासिन्दा हेमसागर निरौला र अग्निधर निरौलाले चार/चार आना, शिवकुमार राईले तीन आना जग्गा दान गरेका थिए । त्यस्तैगरी स्थानीय बासिन्दाबाट चन्दा सङ्कलन गरी साढे चार रोपनी जग्गा प्रतिरोपनी ५० हजारका दरले खरिद गरिएको स्वास्थ्य चौकी ईञ्चार्ज सरस्वती तामाङले जानकारी दिए ।
सो अवसरमा स्वास्थ्य चौकीका लागि जग्गादान गर्ने जग्गादाता, चन्दादाता, समाजसेवीलगायतलाई सम्मान गरियो । गाउँपालिका अध्यक्ष श्रेष्ठले प्रशंसा पत्र समेत प्रदान गरे ।
कार्यक्रममा हेरचाहका लागि उत्प्रेरणा परियोजनाअन्तर्गत अपाङ्गता भएका व्यक्तिलाई सहयोगी सामग्री, बालक्लबलाई शैक्षिक सामग्री र विद्यालयलाई खेलकूदका सामग्री प्रदान गरियो ।
स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष सिद्धमान आलेको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रेष्ठले नागरिकले स्वास्थ्य सेवा पाउने अधिकारबाट वञ्चित नहुने गरी गाउँपालिकाले अस्पताल तथा प्रसुति केन्द्र निर्माण गर्ने बताए ।
गाउँपालिकाका हरेक नागरिक स्वास्थ्य सेवा लिन जिल्ला धाउनुपर्ने प्रथाको अन्त्य गर्नका लागि गाउँपालिकाले विशेष पहल थाल्ने समेत बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरस्वती राई (सरू), व्यवस्थापन समितिका सदस्य लैनबहादुर बस्नेत, स्वास्थ्यकर्मी दिपेन्द्र आचार्यलगायतले स्वास्थ्य चौकी तथा प्रसुति केन्द्र निर्माणका बारेमा विचार राखेका थिए।