‘आधारभूत आवश्यकताको पूर्ण परिपूर्ती भएको हुनेछ’ : अध्यक्ष राई (भिडियो सहित)

माईजोगमाई गाउँपालिका इलामको उत्तर पूर्वी क्षेत्रमा अवस्थित छ । १७२ दशमलव ४१ वर्ग किलोमिटर क्षेत्रफल रहेको माईजोगमाईमा २१ हजार ४४ जनसंख्या छ । यस क्षेत्रमा वर्खा लाग्नसाथ सदरमुकामबाट यातायातको सम्बन्ध विच्छेद हुन्छ । गाउँपालिका भने आगामी ४ वर्षभित्र सबै आधारभूत आवश्यकता परिपूर्ती गर्ने रणनीतिका साथ अघि बढेको छ । यसको नेतृत्व गाउँपालिका अध्यक्षका रुपमा जीतबहादुर राईले गरिरहेका छन् । तत्कालिन नेकपा एमालेको तर्फबाट उम्मेद्वार भई अध्यक्ष निर्वाचित राईसँग याँ बुलन्द डटकमले गरेको कुराकानी :

कत्तिको व्यस्त हुनुहुन्छ ?

सामान्यतया व्यस्त नै रहन्छु । विकास निर्माणको कार्य, त्यसको अनुगमन र नयाँ योजना निर्माणको काममा व्यस्त छु ।

तपाई अध्यक्षमा निर्वाचित भएको ११ महिना बित्यो । यतिका समय कसरी बिताउनुभयो ?

यतिका समय गाउँको समग्र विकास निर्माणमा नै बिताएका छौं । विशेष गरी पूर्वाधार निर्माणमा बढी समय खर्चियौं । अहिले सुरुवाती चरण भएका कारण हामीले पूर्वाधारलाई प्राथमितामा राखेर काम अगाडि बढायौं । जुनजुन पूर्वाधार विकास निर्माणका काम अगाडि बढाएका छौं, सही ढंगले अगाडि बढिरहेको आभास मिलेको छ । जसमध्ये हामीले सडकलाई नै पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौं ।

सडकको कुरा गर्नुभयो । यतिबेला गाउँपालिकाको केन्द्रमा नै यातायात अवरुद्ध रहेछ । यो हेर्दा त जनताले अनूभूति गर्ने खालको काम गर्नुभएन रहेछ नी ?

अहिले सडकहरु कच्ची भएका कारण स्तरोन्नती गर्ने काम गरिरहेका छौं । फिक्कलनयाँबजार, नयाँबजारदुधाङइलाम नगरपालिका जोड्ने सडकहरु हामी निर्वाचित हुनुभन्दा पहिलो नै ठेक्का प्रक्रियामा अगाडि बढिसकेको थियो । अहिले हामीले ती सडकहरुलाई अनुगमन गर्ने, निगरानी गर्ने काम गरिरहेका छौं । साथै स्थायी रुपमा विकास गर्ने रणनीति र योजनामा छौं । विकास चामत्कारिक ढंगले नहुँदो रहेछ । विकास जादुको छडि होईन । त्यसकारण यसलाई हामी आगामी दिनमा स्थायी सडकको रुपमा विकास गर्न लागिरहेका छौं । हाम्रो माईजागमाई गाउँपालिकामा ६ वटा वडाहरु छन् । ती ६ वटै वडा कार्यालयहरु र सदरमुकाम जोड्ने स्थायी सडकहरुमा हामीले लगानी गरिरहेका छौं ।

अहिले पनि गाउँपालिकाको केन्द्र र वडा कार्यालयबीचमा सवारी आवतजावत ठप्प छ । यतापट्टि ध्यान किन जान सकेन ?

अहिले चाँही वर्षातका कारण सडक अवरुद्ध भएको हो । वडा कार्यालयसँग सम्पर्क राख्ने कच्ची सडकहरु मात्र छन् । कालोपत्रे गर्न बाँकी नै छ । कच्ची सडक भएका कारण वर्खामा केही समस्या देखिनु स्वभाविक हो । तर यसलाई स्थायी बनाउने योजनामा हामी अगाडि बढिरहेका छौं ।

निर्वाचनका बेला धेरै प्रतिवद्धताहरु जनताबीच लैजानुभयो । कार्यान्वयन गर्न कत्तिको सहज हुँदो रहेछ ?

हामीले निर्वाचनमा मत माग्दै गर्दा सक्ने मात्र प्रतिवद्धाता राखेका थियौं । माईजोगमाई गाउँपालिकाको जनताको स्तर तथा समृद्धिसँग जोडिएका विषयमा प्रतिवद्धता जनाएका थियौं । जस्तो बाटोघाटो, विजुली, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कृषि, भाषा, संस्कृति, विभिन्न जाति समुदायको कुराहरु उठाएका थियौं । ती कुराहरु पूरा गर्ने प्रयासमा छौं र त्यसको सुरुवात गरिसकेका छौं । त्यसको नतिजा चाँही आउन बाँकी छ ।

नजिता आउन कति समय लाग्छ ?

हाम्रो कार्यकालभरीमा हामीले निर्वाचनका बेला जनताबीच राखेका सबै प्रतिवद्धताहरु पूरा हुनेछन् ।

तपाईको गाउँपालिकाको प्रमुख प्राथमिकता के हो ?

पहिलो प्राथमिकता स्थायी सडक नै हो । यहाँबाट सदरमुकाम र राजमार्ग जोड्ने सडकलाई पहिलो प्राथमिकतामा राखेका छौं । त्यसपछि शिक्षा क्षेत्रको सुधार तथा गुणस्तरीय शिक्षालाई प्राथमिकता दिएका छौं । तेश्रोमा स्वास्थ्य क्षेत्रमा सुधार गर्ने कुरालाई प्राथमिकतामा राखेका छौं । सुविधासम्पन्न हस्टिलको कुरा गरेका छौं । चौथोमा पर्यटन प्रवद्र्धन, पाँचौमा कृषि क्षेत्रलाई बढि प्राथमिकता राखेर अगाडि बढिरहेका छौं । त्यस्तै यहाँका बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रमहरु अगाडि बढाईरहेका छौं ।

गाउँ विकासका लागि सबैभन्दा बढी सम्भावना केमा देख्नुहुन्छ ?

सबै क्षेत्रमा सम्भावना नै सम्भावना छ । विशेष गरी कृषि र पर्यटनको सम्भावना बढि देखिन्छ । माईजोगमाई गाउँपालिका अधिकाशं जनताहरु कृषिमा निर्भर छन् । त्यसकाराण उहाँहरुको जीवनस्तर उकास्न लगानी गर्न सक्यौ भने कृषि क्षेत्रबाट आत्मनिर्भर बन्न सक्ने सम्भावना छ । त्यस्तै यहाँ पर्यटन पनि सम्भावको अर्को क्षेत्र हो । यहाँका विभिन्न पर्यटकी स्थलहरुको उचित संरक्षण तथा प्रचारप्रसार गरी बाह्य पर्यटकहरुलाई भित्र्याउन सक्यौं भने पनि गाउँपालिका समृद्ध बन्नमा कसैले रोक्न सक्दैन । त्यस्तै यहाँका विभिन्न जातजातिको भाषा र संस्कृतिहरु पनि सम्भावनाका क्षेत्रहरु हुन् ।

चुनौती चाँही के छ ?

प्रमुख चूनौती जनशक्तिको अभाव हो । अहिले पनि हाम्रो कार्यालयमा कर्मचारीको अभाव छ । दोश्रो भनेको प्रदेश सरकारबाट आवश्यक निर्देशित कानुनको अभाव । कतिपय अवस्थामा प्रदेश कानुन र प्रदेश सरकारको निर्देशन अनुसार स्थानीय तहले काम गर्नुपर्ने हुन्छ । तर त्यसका लागि पर्याप्त ऐन कानुनको अभाव छ ।

प्रदेश र स्थानीय तहबीच कानुनमा तालमेल नमिलेको हो ?

यसलाई स्वभाविक रुपमा लिएको छु । किनकी अहिले राज्य संक्रमणकाल बाटै अगाडि बढिरहेको छ । अहिले राज्य नयाँ संरचनामा नयाँ व्यवस्था, नयाँ परिषेश र परिस्थितीमा अगाडि बढिरहेको छ । त्यसकारण कतिपय कानुनी जटिलताहरु छन् । त्यसलाई व्यवस्थापन गर्न, मिलाउन, सहजतामा ल्याउन प्रदेश सरकारसँग समेत आवश्यक समन्वय गरिरहेका छौं । बेलाबेलामा प्रदेश सरकारसँग कुराकानी भईरहेको छ ।

गाउँपालिका कायमै रहन १ करोड आन्तरिक आम्दानी हुनुपर्ने प्रावधान छ । यहाँको अवस्था के छ ?

आशालाग्दो अवस्था छ । माईजोगमाई गाउँपालिका साविकका ५ वटा गाविसहरु मिलेर बनेको गाउँपालिका हो । त्यसबेला ५ गाविसको आन्तरिक आम्दानी करिब ७ लाखको हाराहारीमा मात्र थियो । तर हामी आईसकेपछि वार्षिक २४ लाख राजस्व संकलन गर्ने लक्ष्य थियो । त्यो क्रस भईसकेको छ । अहिले ३० लाखको हाराहारीमा राजस्व संकलन हुने स्थितीमा छ । आगामी आर्थिक वर्षदेखि स्थानीय तहले लगाउन पाउने विभिन्न प्रकारका कर तथा गैरकरबाट तोकिएको राजस्व संकलन हुन माईजोगमाई गाउँपालिकालाई कुनै समस्या हुने छैन ।

१ करोड आन्तरिक आम्दानी पुर्याउने र माईजोगमाई गाउँपालिका टिकाउने कुरामा ढुक्क हुनुहुन्छ ?

एकदम ढुक्क छु । राज्यले तोकेको मापदण्ड सहजै रुपमा पूरा गर्छौं ।

आम्दानीको श्रोत के के हुन् ?

स्थानीय तहले लागाउन पाउने विभिन्न कर तथा गैरकर नै आम्दानीका श्रोतहरु हुनेछन् । सम्पत्ति कर, घरवहाल कर, घरजग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, भुमि कर (मालपोत), मनोरञ्जन कर, व्यवसाय कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क लगायत आम्दानीका श्रोत हुनेछन् । हामी आउँदो १ साउनदेखि करको दायरा फराकिलो बनाएर अगाडि बढ्नेछौं ।

जनतालाई अहिलेसम्म कर तिर्ने बानी परेको छैन । सुरुवाती चरणमा निकै कठिन होला । त्यसका लागि वस्ती तथा वडा स्तरसम्म कर सम्बन्धी कुनै अभिमुखीकरण लैजानुभएको छ ?

अहिलेसम्म लगेको छैन । लाने चरणमा छौं । अब हामी लान्छौं । करका सम्बन्धमा नागरिकलाई कसरी सुसूचित गर्ने, कसरी व्यवस्थापन गर्ने, यो विषयमा नागरिकलाई कसरी कन्मिन्स गर्ने, करको दायरा र पद्धती के हुने भन्ने विषयमा छलफल भईरहेको छ । हामी यस विषयलाई तलतल जनस्तरसम्म पुर्याउनेछौं ।

चालू आर्थिक वर्ष पूरा हुन करिब १ महिना छ । बजेट कार्यान्वयनको अवस्था कस्तो छ ?

करिब करिब कार्यान्वयन भईसकेको छ । केही योजनाहरु चाँही कार्यान्वयन गर्न नसक्ने अवस्थामा छौं । तर पनि सधैंजस्तो बजेट फ्रिज नहुने भएको कारणले हामी साउनदेखि त्यो कामलाई पनि अगाडि बढाउँछौं । अहिले ८० प्रतिशतको हाराहारीकामा काम सम्पन्न भईसकेको छ ।

के कारणले कार्यान्वयन गर्न सक्नुभएन ?

ठूला योजना । जस्तो माईजोगमाईको सदरमुकाम नयाँबजारमा कालोपत्रे गर्ने भन्ने थियो । त्यसका लागि एक करोड विनियोजन गरेको थियौं । त्यसको डिपीआर बनाउनका लागि मात्र करिब ६ महिना लाग्यो । त्यसछि लागत अनुमान तयार भयो । लागत अनुमानमा २३ करो ५९ लाख निस्कियो । अर्को टेण्डर आह्वान गर्ने समय पनि पुगेन । त्यस्तै अघि नै कुरा आईसकेको छ, जनशक्ति अभाव । इन्जिनियर र प्राविधिकहरुको अभावका कारण कामको चाप बढि हुने भएका कारण काम गर्न सकेनौं ।

अहिलेसम्म कतिवटा कानुन बनाईसक्नुभयो ?

स्थानीय सरकारलाई २२ वटा कानुन बनाउने अधिकार छ । अहिले हामीले प्रदेश कानुनको पखाईमा छौं । कतिपय कानुनहरु प्रदेश कानुनको आधारमा निर्माण गर्नुपर्ने भएका ले त्यति हतारोमा छैनौं । हाम्रो कानुनहरु बन्ने क्रममा छ । प्रदेशसँग साझेदारीमा समेत कानुनहरु बनाउनुपर्ने भएकाले प्रदेश कानुन पर्खेका हौं । हामीले भर्खरै शिक्षा नियमावली पास गरेका छौं । यसअघि नै गाउँसभा सञ्चालन सम्बन्धीका विभिन्न ऐन तथा कार्यविधिहरु बनाईसकेका छौं ।

न्यायिक समितिले कसरी काम गरिहेको छ ?

उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन भएरका काम गरिहरेका अवस्था छ । स्थानीय स्तरबाटै न्याय दिलाउने काम सुरु भएको छ । सामान्य विवदादेखि बलत्कार र कर्तव्य ज्यानसम्मका मुद्धाहरु आउँछन् । तर आएका सबै प्रकृतिका मुद्धाहरु हेर्दैनौं । संविधानले दिएको अधिकार भित्रको मुद्धाहरु मात्र यहाँबाट हेरिन्छ । बाँकी सम्बन्धित ठाउँमा निकायमा पठाउने गरिएको छ ।

पछिल्लो समय विद्युतीय सरकारको अवधारणा आएको छ । विद्युतीय सरकारलाई व्यवस्थित गर्न के भइरहेको छ ?

व्यवस्थित गर्न हामी गईरहेका छौं । हाम्रो वेवसाईट निर्माण गरी नियमित अपडेट गरिरहेका छौं । घटना दर्ता अनलाईन प्रद्धतिमा लगिसकेको छौं । सबै काम हस्तलिखित भन्दा पनि कम्प्युटराईज्ड प्रविधिबाट अगाडि बढाईएको छ । माईजोगमाईको ३ नम्बर वडा बाहेक सबै वडामा कम्प्युटर र इन्टरनेट जोडेका छौं । ३ नम्बरमा विद्युत नभएका कारण कम्प्युटर र इन्टरनेट प्रयोग हुन सकेको छैन । त्यसलाई व्यवस्थापनका लागि काम अगाडि बढेको छ । तत्काल त्यस वडामा समेत कम्प्युटर र इन्टरनेट जडान गरी काम सुरु गरिनेछ ।

तपाई अध्यक्ष भएर काम गर्दै गर्दा माईजोगमाई बासीको सहयोग कस्तो पाईराख्नुभएको छ ?

एकदम धेरै सहयोग पाईरहेको छु । यहाँको जनताले मलाई अध्यक्ष बनाउनुभएको हो । मेरो कार्यकाल सफल बनाउनमा पनि उहाँहरुको सहयोग एकदमै धेरै छ । र आगामी दिनमा पनि सहयोग जारी रहने अपेक्षा गर्दछु ।

कर्मचारीको चाँही ?

कर्मचारीबाट पनि भरपुर सहयोग पाएको छु ।

प्रतिपक्षी दलसँगको समन्वय र सहयोग कस्तो छ ?

चुनावको समयमा एउटा निश्चित विधि प्रक्रियामा हामीले प्रतिष्पर्धा गर्यौ । अहिले माईजोगमाई गाउँपालिकाका सबै राजनीतिक दलबाट असल ढंगले सहयोग पाईरहेको छु । मैले पनि उहाँहरुसँग सहमति, सहकार्य गरेर समझदारीका साथ अगाडि बढिरहेको छु ।

तपाईको कार्यकालमा माईजोगमाई गाउँपालिका कस्तो हुनेछ भन्ने सपना देख्नुभएको छ ?

मेरो कार्यकालमा माईजोगमाई गाउँपालिकाको कााँचली फेरिनेछ । समृद्ध माईजोगमाई गाउँपालिका बन्नेछ । माईजोगमाईबासी जनताको आधारभूत आवश्यकताको पूर्ण रुपमा परिपूर्ती भएको हुनेछ । स्वास्य, शिक्षा, यातायात, विद्युत, खानेपानी, कृषि, पर्यटन लगायतको क्षेत्रमा जनताले अपेक्षा गरेअनुसार परिवर्तन आएको हुनेछ । साथै यहाँका सबै नागरिक आत्मनिर्भरको बाटोमा अगाढि बढेको हुनेछ ।

भिडियो हर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार