इलाममा कडा रोगका बिरामी बढ्दै

नरेन इलामेली

इलाम : पछिल्लो समय देशभर क्यान्सर, बल्ड क्यान्सर, मुटु रोग, मिर्गौला रोग जस्ता कडा रोगका बिरामीहरू दिन प्रतिदिन बढ्दै गएका छन् भने यस्ता कडा रोगका कारण ज्यान गुमाउनेहरुको सङ्ख्या पनि बढ्दै गएको छ।

इलाममा पनि यस्ता रोगका बिरामीहरुको सङ्ख्या बर्षेनी बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय इलामले जनाएको छ। कार्यालयमा रहेको तथ्यांक अनुसार इलाममा यस्ता कडा रोगबाट पीडित बिरामीको सङ्ख्या आर्थिक बर्ष २०७१/७२ मा १ सय जना, २०७२/७३ मा १२७, २०७३/७४ मा २८२ जना रहेको पाइन्छ भने चालु आर्थिक वर्ष २०७४/७५ को १० महिना ( १ श्रावण २०७४ देखि ३० बैशाख २०७५) मा १ सय ८३ जना रहेको पाइन्छ। यो तथ्याङ्क कडा रोगबाट पीडितलाई सरकारले जिवन निर्वाह भत्ता दिने घोषणा गरेको र जसका लागि जनस्वास्थ्य कार्यालयको सिफारिस आवश्यक पर्ने हुँदा सिफारिस बनाउन आउनेको सङ्ख्या मात्रै भएकाले गाउँघरमा रहेका र सूचना प्रविधि भन्दा टाढा रहेका बिरामी अझै धेरै हुन सक्ने जिल्ला जनस्वास्थ्य कार्यालय इलामकी तथ्याङ्क सहायक सञ्जु कार्कीले बताइन। भने सिफारिस भएका १८३ बिरामीहरूले सिफारिस भएका अस्पतालबाट एक लाख बराबरको निःशुल्क उपचार लिइसकेको कार्कीले बताइन्।

चालु आर्थिक वर्षको १० महिनाको तथ्याङ्क हेर्दा इलाममा कडा रोग क्यान्सर पीडित ८०, मुटु रोगी ५३, मृगौला रोगी ३३, हेडइन्ज्युरी ७ ब्लड क्यान्सर ४ स्तन क्यान्सर २ ब्रेनट्युमर १ र अन्य कडा रोग पिडित २ जना रहेको पाईन्छ। यस्ता रोगबाट पिडित ९७ महिला र ८६ जना पुरुष छन।

त्यस्तै चालु आर्थिक वर्षको १० महिनामा इलाम नगरपालिकामा ३९, सूर्योदय नगरपालिकामा ३८, देउमाई नगरपालिकामा २१, माइ नगरपालिकामा १५ माइजोगमाई गाउँपालिकामा १३, फाकफोकथुम गाउँपालिकामा २४, सन्दकपुर गाउँपालिकामा १७ चुलाचुली गाउँपालिकामा १२, रोङ गाउँपालिकामा ७ र माङ्सेबुङ गाउँपालिकामा ७ जना रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ।

यस्ता कडा खालका रोगहरु मानविय लापरबाहीले लाग्ने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय इलामका सूचना अधिकृत टंक प्रसाद चौधरीले बताए। धुम्रपान, मद्यपान, बिषादीयुक्त खाना, व्यायामको कमी, सौखिन जिवनशैलीको कारण लाग्ने गरेकाले आफ्नो बानीलाई सुधारेर स्वास्थ्य जीवनशैली अपनाउनुपर्ने चौधरीले बताए। त्यस्तै यस्ता रोग लागिसकेपछि उपचारमा समस्या हुने साथै धेरै खर्चिलो हुने हुँदा रोग लाग्नबाट जोगिनु नै उत्तम उपाय भएको जिल्ला अस्पताल इलामकी प्रशासन प्रमुख रीता अधिकारीले बताइन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार