पति जेलमा रहे पनि गर्भवती भएर सन्तान जन्माउँछन् यहाँका महिला

इजरायल: इजरायली जेलमा हजारौं प्यालेस्टिनी नागरिक छन् । लामो जेल जीवनको सजाय भोगिरहेका प्यालेस्टिनीहरु आफ्नी पत्नी गर्भवती भएको र सन्तान जन्माएको खबर जेलमै सुनेर दंग परिरहेका हुन्छन् ।

पति जेलमा रहेकै समयमा कसरी घरमा गर्भवती हुन्छन् पत्नी ? जिज्ञासा जाग्नु स्वाभाविक पनि हो । पति जेलमा रहेका महिलाले आफ्नै पतिको बीर्यबाट गर्भधारण गरेका हुन्छन् ।

इजरायली जेलमा बन्द रहेका प्यालेस्टिनीका परिवारलाई दुई हप्तामा एक पटक जेलमै भेटघाटका लागि समय दिइन्छ । ४५ मिनेटको उक्त समयभित्र पतिले सन्तानको चाहना पुरा गर्न लुकिछिपी बीर्य उपलब्ध गराउँछन् ।

त्यसो त, कानूनअनुसार बीर्यदानका लागि केही प्रावधान पनि छन् । तर त्यस्तो प्रक्रिया धेरै झन्झटिलो भएका कारण भेटघाटको समयमा लुकिछिपी बीर्य हासिल गर्ने प्रक्रिया बढेको छ ।

लामो समयका लागि जेल सजाय भएका तर सन्तान नभएकाहरुको हकमा विधिवत रुपमै पत्नीलाई बीर्य दान गर्न सकिने प्रावधान छ । यसका लागि पति–पत्नीका साथसाथै परिवारले पनि कागजी प्रक्रिया पुरा गर्नु पर्दछ । यो प्रक्रियाका लागि साक्षीको पनि आवश्यकता पर्दछ ।

चोरीका माध्यमबाट होस् या विधिवत रुपमा पतिको बीर्य हासिल गरिसकेपछि त्यस्ता महिलाले गर्भाधान क्लिनिकमा गएर ‘आइभीएफ’ प्रविधिबाट गर्भाधान गरी सन्तान जन्माउने गर्दछन् ।

तीन वर्षको अवधिमा ३२ बालबालिका यसरी जन्मिएका छन् । विधिवत रुपमा बीर्य दान गरी जन्माइएकाको तुलनामा जेल प्रशासनको आँखा छलेर लुकिछिपी बीर्य हासिल गरी जन्माइएका सन्तानको संख्या बढ्दैछ । लुकिछिपी बीर्य ल्याएर जन्माइएका सन्तानको भविष्य अन्योलमै छ । जेलमा रहेका ती कैदीको सन्तानलाई इजरायली कानूनले चिन्दैन ।

परिणामस्वरुप त्यस्ता बालबालिकाले जेलमा रहेका आफ्ना पितालाई भेट्न पाउने छैनन् । उनीहरुका लागि आधिकारिक दस्तावेज, यात्रा अनुमतिलगायतका कागजात हासिल गर्न निकै चुनौती सामना गर्नुपर्ने हुन्छ । –एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार