पत्रकार सुब्बाको कविता कृति ‘आगोको सौन्दर्य’ सार्वजनिक

नयाँ बुलन्द

पाँचथर : पत्रकार सन्देश सुब्बाको कविता कृति ‘आगोको सौन्दर्य’ मंगलबार पाँचथरको फिदिममा विमोचन गरिएको छ । कवि वीरेन्द्र तुम्बापो ‘प्रतीक’ले सो कृति विमोचन गरेका हुन् ।

कृति विमोचन गर्दै कवि प्रतीकले समकालीन नेपाली कविताको गद्य धारमा लेखिएका कविता कृतिमध्ये सुब्बाको कृति अव्बल भएको दावी गरे । लिम्बू समुदायको जीवन–दर्शन, सामाजिक न्याय, गाउँले परिवेश, राज्यप्रति उत्पीडित वर्गको आक्रोश, शहरमा गुम्दै गएको मानवीयता र प्रकृतिप्रतिको अगाध प्रेमको चित्रण सुब्बाको कवितामा रहेको उनले औँल्याए ।

भाषाशैली नरम तर ओजनदार भाव पक्ष उनको कवितामा भएको प्रतीकको भनाइ थियो । कविको पहिलो कृति भए पनि सो कृति खँदिला कविताहरूको संग्रह भएको साहित्यकार एवं पत्रकार प्रेम ओझाले बताए । नेपाली साहित्यको कविता विधामा तन्नेरी साहित्यकाहरूको उपस्थिति कम देखिएको बेला सुब्बाको उपस्थिति दर्विलो भएको ओझाको भनाइ थियो ।

समालोचकहरु लक्ष्मीप्रसाद ढुङ्गाना, सगुन सुसारा, मधु आजिक केरुङ र राज दिलाञ्जलिले सुब्बाका कविताहरू पहिचान, स्वशासन, आत्मनिर्णय, वर्गीयता र सामाजिक न्यायको पक्षमा ओकलिएका शक्तिशाली स्वरहरू भएका टिप्पणी गरे ।

कृतिमा १९ वटा कविता समावेश छन्। रेडपाण्डा प्रकाशनले सो कृति बजारमा ल्याएको हो। कवि सुब्बा, दोस्रो अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा प्रथम र पूर्वाञ्चलस्तरीय खुला कविता प्रतियोगितामा दोस्रो भइसकेका छन्। सोही कार्यक्रममा सर्जक जङ्ग तामाङ ह्रिञ्जेन, नारायण थपलिया, विवश बेनाम, जुनु खतिवडालगायतले कविता र गजलवाचन पनि गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार