
नयाँ बुलन्द
इलाम : ‘हरेक मानिसहरुमा केही न केही प्रतिभा लुकेका हुन्छन् । तर प्रतिभालाई पहिचान गर्न चाँही निकै कठिन पर्दोरहेछ’ भन्छिन् पूर्वको चर्चित कार्यक्रम प्रस्तोता सपनी राई ।
सानै उमेरदेखि स्टेज कार्यक्रम सञ्चालन गर्दै आएकी सन्दकपुर गाउँपालिका-१ (साविकको माईपोखरी-८) इलाममा जन्मेकी सपनी वक्तृत्वकला, हाजिरीजवाफ तथा खेलकुदमा एकदमै अगाडि थिइन् । पढाइईमा पनि उत्तिकै उब्बल थिईन् ।
प्रवेशिका परिक्षा (एसएलसी) गाउँकै एक माध्यमिक विद्यालयबाट सकेपछि सदरमुकाम छिरेकी सपनी रेडियो कार्यक्रम प्रस्तोताका रुपमा चिर्चित भईन् । इलाम एफएममार्फत श्रोताको मन जितेकी उनी विभिन्न स्टेज कार्यक्रमहरुमा जम्न थालिन् ।
पूर्वका विभिन्न स्थानहरुमा आयोजना हुने साँस्कृतिक कार्यक्रमहरुमा कार्यक्रम प्रस्तोताको रुपमा सपनी नै पहिलो छनौटमा पर्छिन् । साथै छिमेकी राष्ट्र भारतको दार्जिलिङ, कर्स्याङ, सिक्किम, मिरिक लगायतमा आयोजना हुने कार्यक्रमहरुमा समेत कार्यक्रम प्रस्तोताका रुपमा प्रस्तुत हुन्छिन् ।
नेपालका चर्चित कलाकार राजेश पायल राई, मेलिना राई, बलराम समाल, ज्योती मगर, ताराप्रकाश लिम्बू, नेपाली टेलि श्रृङ्खला भद्रगोलका कलाकारहरु बले, कक्रोज जस्ता कलाकारहरुको कार्यक्रममा सपनीले प्रस्तोताको रुपमा आफ्नो प्रतिभा देखाईसकेकी छिन् ।
पछिल्लो समयमा उनी टेलिभिजनको पर्दामा समेत देखिन थालेकी छिन् । इटहरीबाट प्रशारण भईरहेको एरिना टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘कलाकारसँग कलाकार’ मार्फत दर्शकमाझ लोकप्रिय बनेकी छिन् । यसअघी उनले एन टीभी प्लसको कार्यक्रम ‘संगीत सरोकार’ मार्फत टेलिभिजनको अनुभव बटुलिसकेकी थिईन् ।
अचेल उनको प्रतिभा संगीत क्षेत्रमा समेत देखिन थालेको छ । उनलाई अहिले एक गायीकाको रुपमा समेत श्रोता र दर्शकले चिन्न थालेका छन् ।
खड्ग श्रेष्ठको ‘अबुधावी मेरीना महलमा…’ बोलको गीतमा पहिलो पटक लेडिज भोकल रेकर्ड गरेकी सपनीले हालसम्म दर्जन बढी गीतमा स्वर दिइसकेकी छिन् । उनले लोकगीत, आधुनिक, चलचित्र लगायतका गीत गाएकी छिन् । सानीसानी…, इलाम लपडाँडा…, सलल माईखोला दोभान…, ए हो माय…, बादलुको छाँया…, घुम्न आउनु हजुर हरियाली इलाम…लगायत बोलको गीतमा आवाज दिएकी छिन् ।

उनले केही म्युजिक भिडियोहरुमा अभिनय समेत गरेकी छिन् । बलराम समालको ‘ढुङ्गाको मुटु’, ‘अरुकै हुनु थियो’, थिरज राईको ‘’बोल्नेको यहाँ पीठो नी बिक्छ’ र आफ्नै शब्द रचनाको गीत ‘तिहारको रमझम’ मा अभिनय गरेकी छिन् ।
साथीभाई र परिवारबाट संगीत क्षेत्रमा लाग्न प्रेरणा पाएको बताउने सपनी श्रोता र दर्शकको माया पाए भविष्यमा संगीत र कलाकारिता क्षेत्रमा अगाडि बढ्ने बताउँछिन् ।
उनी नेपाली चलचित्रमा अभिनय गर्ने अफर आए परिवेश अनुसार स्वीकार्ने बताउँछिन् । ‘नेपाली समाजमा पच्न सक्ने भूमिकामा अभिनय गर्न प्रस्ताव आए तयार छु’ उनी भन्छिन् । अवसर अए कोसँग अभिनय गर्न चाहनुहुन्छ ? भन्ने प्रश्नमा उनी भन्छिन् ‘अहिलेको चर्चित कलाकार दयाहाङ राईसँग अभिनय गर्न मन छ । अवसर मिले उहाँसँग नै अभिनय गर्छु ।’ उनले आफू कलाकार दयाहाङको फ्यान रहेको समेत बताउँछिन् ।
नेपाली समाजमा संगीत र कलाकारिता क्षेत्रमा लागेका महिलाहरुलाई अझैपनि चुनौती रहेको बताउँछिन् । समाजले हेर्ने दृष्टिकोणमा पूरै परिवर्तन आइ नसक्नु महिलाका लागि थप चुनौतीको विषय रहेको उनको बुझाई छ ।
उनले कलाकारिता क्षेत्र सँगसँगै आफ्नो पढाईलाई समेत निरन्तरता दिईरहिन् । महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामबाट समाजशास्त्र विषयमा स्नातकोत्तर सकेकी उनी भविष्यमा गीतसंगीतका साथै समाजसेवामा समर्पित हुने बताउँछिन् ।



















































