काठमाडौं : २०४९ साल पुसमा रिटायर्ड हुँदा ईलाम नयाँ बजारका शिक्षक कमलकान्त शर्मा रिमालले ११ सय रुपैंया पेन्सन बुझ्थे । २४ बर्ष पछि उनको पेन्सन बढेर १२ हजार १ सय ८८ रुपैंया पुग्यो । अब उनको पेन्सनमा फेरी १ हजार २ सय १८ रुपैंया ८० पैसा थप हुने भएको छ ।
आईतबार विद्यालय शिक्षक किताबखानामा आवश्यक कागजात दुरुस्त पारेपछि रिमाल सरले फुरुङ् हुँदै भने – ‘८५ बर्ष पुगेका शिक्षकलाई पाउँदै आएको पेन्सनमा थप रकम दिने व्यवस्था रैछ, मलाई पनि अब सरकारले पैसा थपेर पेन्सन दिने भयो ।’
रिटायर्ड शिक्षकको उमेर ७५ बर्ष पुग्यो भने पाउँदै आएको पेन्सनमा १० प्रतिशत थप गर्ने र ८५ बर्ष पुगेपछि थप १० प्रतिशत रकम सहित पेन्सन दिने ब्यवस्था छ । ७५ बर्ष पुगेसँगै यस अघिनै १० प्रतिशत थप रकम बुझ्दै आएका रिमाल सरले सोही ब्यवस्था अनुसार ८५ बर्ष उमेर कटेपछि थप १० प्रतिशत रकम बुझ्ने भएका हुन् ।
उमेर ८५ बर्ष पुगेपनि रिमाल सर तन्दुरुस्त देखिन्छन् । ‘मेरा आँखा कान सबै उस्तै छन् बाबु !’ हौसिदैं रिमाल सरले भने, ‘अझै १५ बर्ष त केही हुन्न है ।’
उनी कति तन्दुरुस्त छन् भन्ने कुरा शिक्षक कितावखानाका महानिर्देशक शेरबहादुर ढुङ्गानाले आफ्नै कार्यकक्षमा चिया खान आग्रह गर्दाको घटनाले पनि पुष्टि गर्छ ।
‘बरु मैले चिनी हालेको चिया खान्न तर यो उमेरमा पनि गुरुलाई चियामा चिनी नभई हुँदो रै’नछ’ कार्यालयको आवश्यक काम सके पछि आफ्नो कार्यकक्षको सोफामा बसाउँदै ढुङ्गानाले भने, ‘राष्ट्रसेवा गरे वापत राज्यले दिने सेवा सुविधामा थप १० प्रतिशत पेन्सन दिने कार्यमा गुरुलाई सघाउन पाउँदा म पनि खुसी भएँ ।’
शिक्षकलाई ७५ र ८५ वर्षमा १० – १० प्रतिशत पेन्सन थपेर दिने ब्यवस्था छ । प्रहरी र सेना* तर्फका कर्मचारीले भने ६० बर्षमा पनि १० प्रतिशत रकम थप पाउँछन् ।
‘कतिपय शिक्षकलाई यो ब्यवस्थाका बोमा थाहै नभएको पनि पाएका छौं’ ढुङ्गानाले भने, ‘राष्ट्र सेवा गरेवापत राज्यले दिने सुविधाका बारेमा शिक्षक सँगै सबै राष्ट्र सेवक जानकार हुनु आवश्यक छ ।’
वि.सं. १९८८ सालमा भारतको खर्साङ्मा जन्मेका रिमाल सर म्याट्रिक पास गरेसँगै पुख्र्यौली थलो ईलाम फर्केर २००७ साल मंसिर देखिनै पढाउन थालेको बताउँछन् । आईतबार एडुखबरसँग कुरा गर्दै उनले तत्कालिन नेपाल ज्योती पाठशाला र नामसालिङ् मिडिल स्कुलमा गरी ९ बर्ष पढाएको सम्झे । २०१२ सालमा काठमाडौंमा आएर शिक्षक हुन आवश्यक तालिम लिए पछि २०१७ साल बैशाख १ गते देखि उनले अमर कल्याण माविमा पढाउन थालेको बताए । रिटायर्ड हुँदा सम्म सोही विद्यालयमा पढाईरहेको स्मरण गर्दै उनले उतिखेरको संघर्षका पाना पनि पल्टाउन भ्याए ।
‘चित्रा बारेर, जनता गुहारेर विद्यालय खडा गरिएको थियो, अहिले त विद्यालयमा कक्षा १२ सम्म पढाई हुन्छ’ विद्यालयको प्रगति देखेर दंग परेका रिमाल सरले भने ।
नातीनीलाई साथमा लिएर किताबखाना पुगेका ८५ बर्षे रिमाल सरलाई ढुङ्गानाले किताबखानाले पछिल्लो समय ब्यवस्था गरेको अन्य औपचारिक प्रकृयाको काम पनि फत्ते गराए । त्यहि मध्येको एक हो सेवा निवृत्त शिक्षक परिचय पत्र । जिवनभर शिक्षक भएपनि अवकास भएसँगै पहिचान हराउने शिक्षकलाई परिचय दिलाउन किताबखानाले गत बर्ष देखि परिचय पत्र वितरण शुरु गरेको थियो । रिमाल सरले २ हजार ४ सय ५४ नम्बरको परिचय पत्र प्राप्त गरे ।
आफूले पाउँदै आएको पेन्सन रकम मध्ये ब्यक्तिगत आवश्यकताका अलावा केही रकम राम्रो पढ्ने विद्यार्थीलाई पुरस्कारका रुपमा दिने गरेको रिमाल बताउँछन् ।
‘छोरा छोरी आआफ्नै खुट्टामा उभिन सक्ने छन् पेन्सन रकम मन खुस खर्च गर्दै आएको छु’ उनले भने ‘एउटा छोरो ईलाममै एनजीओमा काम गर्छ, अर्को छोरो काठमाडौंमै ब्यापार गर्छ, मेरो कमाई उनीहरुले खोज्दैनन्, त्यसैले कुनै विद्यार्थी राम्रो पढ्दो रैछ भने त्यस्तालाई पनि बाँडिदिन्छु ।’
यो कुरा सुनेपछि ढुङ्गानाले रिमाल सरको पेन्सन पट्टामा सुधार पनि गरिदिए । अहिले सम्म इच्छाएको ब्यक्तिमा छोराको नाम राखेका रिमाल सरलाई ढुङ्गानाले शेख पछिको पेन्सन बुझ्ने ठाउँमा श्रीमतीको नाम राख्न सल्लाह दिए ।
सबै काम सकेर फर्कन लागेका रिमाल सरलाई कार्यालयको मूल ढोकै सम्म आएर ढुङ्गानाले विदाई गरे ।
‘हुन त गुरुका कुराले उहाँका छोराहरु सहित परिवारलाई यो पेन्सनको त्यति धेरै लोभ छैन जस्तो देखिन्छ तै पनि कार्यालयमा आवश्यक काममा सजिलो होला भनेर हुन सक्छ छोराको नाम रहेछ, त्यहाँ आमाको नाम राख्न भनेँ उहाँले मान्नु भो’ ढुङ्गानाले भने, ‘श्रीमतीको नाम राख्दा शेख पछि पनि उहाँले पेन्सन पाउनु हुन्छ, यो एउटा भावनात्मक सम्बन्धको कुरा पनि त हो, अब घर फर्कदाँ गुरुले श्रीमतीलाई पेन्सनको उपहार दिदाँ हुने खुसीको अर्थ बेग्लै हुन्छ नी हैन र ?’