पाँचथर : विद्यार्थीहरुलाई मातृभाषामा आधारभूत शिक्षा प्राप्त गर्ने अधिकार संविधानमा उल्लेख भए पनि आफ्नो भाषामा अध्यापन गर्न भने कयौँ चुनौती रहेको सरोकारवालाहरुले बताएका छन् ।
नेपालको संविधान २०७२ को धारा ३१ मा ‘नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानून बमोजिम आफ्नो भातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने, सञ्चालन गर्ने हक हुनेछ’ भन्ने उल्लेख छ । यद्यपि भातृभाषामा शिक्षा प्राप्त गर्न कठिनाइ यथावत छ ।
आज लिम्बू विद्यार्थी मञ्च केन्द्रीय समितिले फिदिममा आयोजना गरेको ‘विद्यालयको आधारभूत तहमा लिम्बू भाषाको पाठ्यक्रम’ कार्यक्रममा लिम्बू भाषा पाठ्यक्रम निर्माणबारे मलिसा याक्थुङबाले अवधारणापत्र प्रस्तुत गरेका थिए । उनी मातृभाषाको अध्यापनका लागि छुट्टै पाठ्यक्रम बन्न नसक्नु नै मुख्य चुनौती रहेको बताउँछन् ।
लिम्बू भाषा विकास संस्थाका अध्यक्ष दिलेन्द्र सुब्बाले भने “छुट्टै पाठ्यक्रम बनाएर अध्यापन नगरेसम्म उद्देश्य प्राप्त हुन सक्दैन् ।” उनले भने, “नेपाली भाषामा रहेको पाठ्यक्रमअनुसार लिम्बू भाषाको प्रारम्भिक शिक्षा (आनिपान) बनाउँदा भाषाभित्रका धेरै विशेष कुराको अर्थ लगाउनै सकिएन् ।”
सिरिजङ्घा लिपिमा लेख्ने गरी छुट्टै पाठ्यक्रमको आवश्यकता लिम्बू भाषाको अध्यापनका लागि आवश्यक पर्ने उनको भनाइ छ । सरकारले बहुभाषिक शिक्षा लागू गर्ने निर्धारण गरेको लक्ष्य नै असफल भएको तथ्य पेस गर्दै उनले यस्तै अवस्था रहे भावी सन्तानलाई भाषा, संस्कृति र ज्ञान दिन असम्भव हुने बताए ।
नयाँ संविधान नेपाली मातृभाषी र गैरनेपाली मातृभाषी भनेर विभेद गरेको आरोप लगाउँदै सुब्बाले राज्य आफू मातृभाषाको पठन–पाठन गराउने जिम्मेवारीबाट पन्छिएको बताए ।
लिम्बू भाषाको पठन–पाठन गराउन सक्रिय शिक्षासेवी राजेन्द्रकुमार जवेगूले सरकारी नीतिसँग मातृभाषा सम्बन्धित रहेको बताउँदै प्रान्तीय र स्थानीय सरकारी कामकाजको भाषाको रुपमा मातृभाषाहरुलाई प्रयोग गर्ने वातावरण नबनेसम्म भाषाहरु फस्टाउन नसक्ने बताए ।
देवनागरी लिपिमा लेख्दा लिम्बू भाषाको लेखाइ तथ्यपूर्ण र सिधा अर्थको हुन नसक्ने बताउँदै मातृभाषाको अध्ययनसँग लिपि पनि अनिवार्य रहेको उनले बताए ।
शिक्षासेवी हरिचन्द्र लावतीले लिपि र भाषाबीच अन्योन्याश्रित सम्बन्ध रहेकोले तिनलाई छुटाउनै नसकिने बताए । भाषा र संस्कृति राज्यको मुख्य सवाल हो भन्ने राज्यले नबुझेसम्म देश विकास सम्भव नहुने लावतीले बताए । कार्यक्रम लिम्बू विद्यार्थी मञ्चका संस्थापक अध्यक्ष नरेन्द्र कुमार केरुङको प्रमुख आतिथ्य र मञ्चका अध्यक्ष आङबुहाङ अबोध अविरलको अध्यक्षतामा भएको थियो ।
-इसमताबाट


















































