सरकारी छाप किर्ते मुद्दामा डा. तारा पोखरेल पक्राउ

लक्ष्मी गौतम

tara pokhrelपाँचथर : जिल्ला प्रहरी कार्यालय पाँचथरले २० वर्ष पुरानो मुद्दा अनुसन्धान गर्न भन्दै पाँचथर जिल्ला अस्पतालका तत्कालिन प्रमुख डा तारा पोखरेललाई पक्राउ गरेको छ ।

इलाम घर भएका डाक्टर पोखरेललाई २०५३ सालमा दर्ता भएर तामेलीमा रहेको सरकारी छाप दस्तखत किर्ते मुद्दा अनुसन्धानका लागि पकाउ गरिएको पाँचथरका प्रहरी प्रमुख (डिएसपी) कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

२०५२ देखि ०५६ सालसम्म पाँचथर अस्पताल प्रमुखको जिम्मेवारीमा थिए । त्यसपछि डा पोखरेल इलाम जिल्ला अस्पताल प्रमुख भए  । त्यसपछि नेपाल सरकार स्वास्थ मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागको बाल रोग महाशाखा तथा आपूर्ती व्यवस्था महाशाखा प्रमुख भइसकेका छन् । बाल स्वास्थ्य महाशाखामा रहँदा अनियमितता गरेको आरोप लागेका उनीमाथि अख्तियारले छानविन गरिरहेको छ ।  उनी हाल निलम्बित अवस्थामा छन् ।

पाँचथर अस्पताल प्रमुखको जिम्मेवारीमा रहँदा सरकारी छाप दस्तखत किर्ते गरेको भन्दै औषधी व्यवसायी बसन्त पाण्डेले दर्ता गराएको मुद्दा अनुसन्धान गर्न शुक्रवार पक्राउ गरिएको डिएसपी कोइरालाले बताए । उनलाई आज सरकारी वकिलको कार्यालयमा बुझाइएको छ ।

डाक्टर पोखरेल पाँचथर अस्पतालको प्रमुख हुनुपुर्व पाण्डेले अनिरुद्र सहकारी मार्फत अस्पताल परिसर भित्रै औषधी पसल सञ्चालन गर्दै आएका थिए ।

अस्पताल परिसरमा नीजी पसल राख्न नपाइने आवाज उठेपछि डा पोखरेलले पाण्डेलाई पसल हटाउन भनेपनि उनले अटेर गरेपछि अस्पताल विकास समितिको निर्णयवाट सो पसल बन्द गराइएको थियो ।

औषधी पसल बन्द गराइएपछि पाण्डेले पुनः मन्त्रालयवाट अस्पताल परिसरमा पसल सञ्चालन गर्न दिनु भन्ने आसयको पत्र लेखाएर पुनः पसल सञ्चालन गर्न पहल गरेका थिए ।

यद्यपी अस्पताल विकास समितिले आफ्नो निर्णय सच्याउन नचाहेपछि पाण्डेले पाँचथर जिल्ला अस्पतालका तत्कालिन डा पोखरेललाई विपक्षी बनाएर अदालतमा मुद्दा दर्ता गराए । अदालतले मुद्दाको सुनुवाईका क्रममा अस्पतालसँग प्रमाण मागेपछि डाक्टर पोखरेलले अस्पताल विकास समितिको निर्णय र विभागवाट प्राप्त पत्र अदालतमा पेश गरेका थिए ।

मुद्दाको सुनुवााइका क्रममा विभागले लेखेको पत्रमा अस्पताल भित्र नीजी पसल सञ्चालन गर्न नमिल्ने आसय प्रष्ट उल्लेख भएको भन्दै अस्पताल र डाक्टरकै पक्षमा मुद्दाको फैसला भएको थियो ।
फैसला पछि पाण्डेले पुनः विभागले पसल सञ्चालन गर्न दिनु भनेर लेखेको पत्रमा टिपेक्स लगाएर डा पोखरेलले सरकारी छाप र दस्तखत किर्ते गरेको भन्दै २०५३ सालमा किर्ते जालसाँज सम्वन्धि पुनः अर्को मुद्दा दर्ता गराएका थिए ।

विभागवाट आएको पत्रमा टिपेक्स प्रयोग  बताइएको छ । यद्यपी पोखरेल पक्षका कानून व्यवसायी र समर्थकहरुले भने विभागवाट आएको पत्रमा अस्पताल प्रशासन र डाक्टरले टिपेक्स प्रयोग गर्ने कुनै ठाउँ नरहेको दावी गरेका छन् ।

प्रहरीले पोखरेललाई आइतवार जिल्ला अदालत पाँचथरवाट ७ दिनको म्याद थपेर अनुसन्धान शुरु गरेको जनाएको छ । उनलाई विपक्षी वनाइएको मुद्दाको मिसिल यसैसाता भित्र अदालत पठाइने पनि डिएसपी कोइरालाले बताए ।

-स्वास्थ्यखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार