
बाँसको थाङग्रामा
सिमीको लहरा बेरीए झै
हाम्रो साईनोहरू बेरीएर
हौ, दाहाल नी साईली !
तिमी हामी त
कैले कैले
सोल्टी, सेल्टिनी पो भैसकेछौ
भितामा टाँसेको माटो जस्तो
थेप्चो नाक, चिम्से कान्छा, डल्ले अखबरे
यस्तै यस्तै भनेर तिमी मलाई
जिस्काईरहन्थ्यौ
म पनि तिमीलाई
ओडार आँखी,
कागखुट्टी, नाक चुच्ची,
यस्तै यस्तै भनेर
जिस्काईरहन्थे
कम्ति रमाईलो थिएन
हाम्रो त्यो गोठाला जाँदाको
उन्मुक्त समयहरू
तिम्रो ओठको कुनाबाट
हरदम बगिरहने निलो तमोर
भेटै पिच्छे
मलाई आदिम लिम्बुनी
स्पर्श गरेर जान्थ्यो
तर एकदिन
भदौरे घाममा
एउटै गोगनको पातले
दोभानको पानी खाँदै गर्दा
कुश खोज्न आको
तिम्रो बाऊले देखेपछि
खै ! किन हो
तिमी भोलि पल्ट देखि
गोठाला आउन छोड्यौ
मन साह्रै बिरक्तियो
कैयौ दिन एक्लैएक्लै
बिरहको बाँसुरी बजाईरहे
खोजिरहे बगरभरि
मेटिन बाँकी तिम्रा पाईतालाका डोबहरू
खोपिरहे रुखभरि तिम्रो नाम आएर हेर्नु
कुनैदिन दोभान छेऊको
जमुनाको रुखमा
यसरी हाम्रो
प्रेमको दुखत अवशानपछि
तिमी खै ! कँहा गयौ गयौ
म भने लागे
बाध्यताको परदेश
हेर न सोल्टिनी !
यो बगरको जँगलमा
तातो बाफको निस्सासिन्दो आकाशभित्र
हरक्षण बिरामी बाँचेर
सम्झ त !
कसरी सकूशल बचाईरहेछु
छातीभरी तिम्रा सम्झनाका फुलहरू
कति कति साउने भेलहरूले
हिर्काएर गए होलान् त्यो दोभानको छाती
कति कति बिजोरी ढुकुरहरू
जोडी जोडी धान नाँचे होलान
जमुनाको हाँगाभरी
त्यै बगरको बाटो हुदै
कतिले शुरु गरे होलान्
जिवनको लामो यात्रा
मलाई बिश्वास छ सोल्टीनि
तिमी कुनैदिन बिद्रोहको
गुलाबी अनुहार बोकेर
फर्कि आउने छौ
उहि दोभान
उहि गोठाला
त्यसबेला सुस्तरी
बतासको भाका टिपेर हेर्नु
फेरी पनि म त्यही कहि
जमुनाको हाँगाहरूमा
हाम्रो प्रेमको अमर कथा खोपिरहेको हुनेछु ।





















































