नयाँ बुलन्द : क्रिष्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा रियल मड्रिडले भ्यालेन्सियालाई हराएर स्पेनिस ला लिगाको उपाधि होड कायम राखेको छ ।
ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियालाई ३–२ ले हरायो । २६ औं मिनेटमा रोनाल्डोले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाए ।
४२ औं मिनेटमा करिम बेन्जिमाले रियलको अग्रता दोब्बर पारे । ५५ औं मिनेटमा रोड्रिगोले भ्यालेन्सियाका लागि एक गोल फर्काएपछि खेल २–१ को अवस्थामा पुग्यो । त्यसको चार मिनेपछि रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता ३–१ मा पुर्याए । रोनाल्डोले ला लिगामा यो सिजन अहिलेसम्म ३३ गोल गरेका छन् । ८१ औं मिनेटमा आन्द्रे गोमेजले भ्यालेन्सियाका लागि अर्को गोल गरे ।
८३ औं मिनेटमा रोड्रिगो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि भ्यालेन्सिया १० खेलाडीमा सीमित भयो । त्यसपछि गोल हुन सकेन र रियल ३–२ ले विजयी भयो ।
जितपछि दोस्रो स्थानमा उक्लिएको रियलको एक खेल बाँकी हुँदा ८७ अंक छ । रियल शीर्ष स्थानको बार्सिलोना भन्दा एक अंकले मात्रै पछि छ ।
आइतबरा राति भएको खेलमा पुछारको लेभान्टेसँग पराजित भएको एथ्लेटिको मड्रिड भने उपाधि होडबाट बाहिरिएको छ । अबको खेलमा बार्सिलोनामा बराबरीमा वा पराजित भएको अवस्थामा रियल मड्रिडले आफ्नो खेल जिते उपाधि जित्नेछ ।