महेश्वर चापागाइँ
एक्लै मुस्कुराउछौं
एक्लै कुरा गर्छौ
को सँग मुस्कुराउँछौं
कसरी कुरा गर्छौ ?
(नायिका केही बोल्दिन केहि लजालु पाराले झन मुस्कुराउँछे)
तिमी क्षणक्षण मुस्कुराउँदा
यस्तो लाग्छ
तिमी दा भिन्चिको
अगाडि बसेकी मोनलिसा हौ
र तिम्रो त्यो मुस्कान
करौडौं मन जित्ने
त्यो मनमोहक मुस्कान हो
(नायक अलिक घुमेर सामुन्ने आउँछ नायिका केहि झस्किन्छे)
किन झस्कन्छौ तिमी
अनायाश म आइदिँदा
के मैले तिम्रो एकान्तलाई
बाधा पारेँरु
माफ गर यदि त्यसो हो भने
मैले त तिम्रो मुहारमा
फक्रिएको फुल देखेँ
जो सुटुक्क पवनसँग बात मार्दै थियो
मगमग बासना छर्दै थियो
त्यही सुगन्धलाई पच्छ्याउँदै
तिमी सम्म आइपुगेँ ।
(नायिका केहिपर भाग्छे, नायक पछ्याउँदै जान्छ)
तिमीलाई देख्दा
किन यस्तो लाग्छ कि
तिमी हजारौ वर्षदेखि
तपस्या गर्दै थियौ र आज तिमीलाई
आत्मबोध भएको छ
तिमीमा पूर्णता आएको छ
र तिमीले यथाशिघ्र नै आ्फनो
कठिन तपस्याको मिठो फल पाउँदै छौ
तिमी भित्र
एउटा सृजनशील कलाकार भए जस्तो लाग्छ
जो भित्र भित्रै
पिकासोले झैँ अमूल्य कलाकारिताको सृजना गर्दैछ
तिमी त्यो सृजनाको रापले
धपक्कै बलेकी छौ र आफैँमा बुढो सिमल झैँ
गजक्क फूलेकी छौ
तिमी तान्त्रिक हौ या आत्मा हौ
या मीठो धुन झिक्ने
बासुरी हौ
नत्र को सँग कुरा गर्छौ दिन रात
कसको हाल खबर सोध्छौ पल पल
आफ्नै प्रश्न सँग ?
(आफ्नो एकान्तलाई बाधा पार्दा नायिका केहि रिसाएजस्तो केहि मननपराएजस्तो गर्छे)
मलाई किन डाहा लाग्छ तिम्रो पूर्णता देखेर
म किन तिम्रो सहयात्री हुन सकिन
म किन तिम्रो कुरा गर्ने साथी हुन सकिन
तिम्रो मुस्कानको कारण हुन सकिन
मलाई अझ डाहा लाग्छ
म तिमी झैं किन
पूर्ण हुन सकिन ?
तिम्रो झैँ सृजना गर्ने
कोख हुन सकिन
तिमीले झैँ
समाधि लिने
ठाउँ हुन सकिन
म साँचो कलाकार हुन सकिन
आत्मासँग कुरा गर्ने तान्त्रिक हुन सकिन
समुन्द्रको गहिराइ थाह पाउने
मोति हुन सकिन
म तिमी झैँ जननी हुन सकिन
म तिमी झैं धर्ती हुन सकिन
म तिमी झैं आमा हुन सकिन
म तिमी झैं हराभरा कोख हुन सकिन
मलाई माफ गर
म तिमी झैं सम्पूर्ण हुन सकिन
म तिमी झैं परिपूर्ण हुन सकिन
(नायिका प्रसब पीडाले छट्पटाउन थालिन, नायकले हतार हतार उनलाई डोरायो र बाहिरका अरुलाई इसारा गर्यो सबै जना मञ्चबाट बाहिरिए नेपथ्यबाट बच्चा रोएको सुनियो । नायक फेरी स्वागतम स्वागतम स्वागतम भन्दै मञ्चमा देखा पर्यो)
पृथ्वी
जाने सुखको खानी
नजाने दुःखको भारी
आयौ मेरी हृदयकी रानी
अब जाने पनि ,नजाने पनि
यहि हाँस्नु छ तिमीले
यहि बाँच्नु छ
स्वागतम्, स्वागतम्, स्वागतम्
तिम्रो आगमनलाई स्वागतम्
तिम्रो आगमनलाई स्वागतम्
(मुक अभिनय, दृश्य, प्रकाशको राम्रो संयोजनले गर्दा अर्कै दुनियामा पुगेका दर्शकहरु एक्कासी बच्चा रोएको सुनेपछि नाटकबाट वास्तबिक जीवनमा फर्किए र मधुर तालीको लामो करतल ध्वनीले आमालाई बिदा गरे।)