
समयसँगै समाज परिवर्तन हुन्छ। जीवनशैली बदलिन्छ, संस्कार-परम्परामा पनि परिवर्तन आउँछ। परिवर्तनलाई रोक्न सकिँदैन, तर परिवर्तनका नाममा संस्कारको मर्म, मानवीय संवेदना र सांस्कृतिक गरिमालाई हराउन दिनु पनि उचित हुँदैन। पछिल्ला वर्षहरूमा याक्थुङ (लिम्बू) समुदायमा मृत्यु संस्कारसँग सम्बन्धित (फजे) छोटो समयमै सम्पन्न गर्ने चलन बढ्दै गएको छ। व्यवहारिक हिसाबले यो सहज हुन सक्छ, तर त्यससँगै मृत्यु कार्जेमै नाचगान, धाननाच, बाजागाजा र रमाइला कार्यक्रम गर्ने प्रवृत्ति बढ्नु भने गम्भीर चिन्ताको विषय बनेको छ। किनभने बिगतमा फजेमा बजाईने गरिएको बाजा र शहनाईको धुन शोक धुनको रूपमा एकोहोरो धुनमा बजाईको हो,नाच्न गाऊन र मनोरन्जन गर्न र खुशियाली मनाउन बजाइएको होइन ।
हाम्रा बुबा-बाजेको पालामा अधिकांश परिवार आर्थिक रूपमा सम्पन्न थिएनन्। मृत्यु संस्कारका लागि आवश्यक अन्न, सामग्री र खर्च जुटाउन समय लाग्थ्यो। त्यसैले तीन महिना, छ महिना वा एक वर्षपछि मात्र फजे गरिन्थ्यो। त्यो अवधिभर मृतकका परिवारले कपाल, दाह्री-जुँगा नकाट्ने, मेला-बजार नजाने, गीत, पालाम, हाक्पारे नगाउने, पूजा-आजा नगर्ने लगायतका परम्परागत परेजहरू पालना गर्थे। यो धार्मिक विधि मात्र थिएन, मृतकप्रतिको सम्मान र शोकलाई आत्मसात् गर्ने सामाजिक प्रक्रिया पनि थियो।
फजेका दिन मुन्धुमअनुसार मृत आत्मालाई खेमा चामा थुङ्मा (पिण्ड) अर्पण गरिन्थ्यो। त्यसपछि सावाला साम्बा, ङासी तुत्तुतुम्याहाङहरूले खा?उमा मुन्धुम बाचन गरेर बाचा-बन्धन फुकुवा गर्दै परिवारलाई सामान्य सामाजिक जीवनमा फर्किन अनुमति दिन्थे। मृत आत्मालाई उसको कर्म अनुसार कसैलाइ पुर्खाहरुको,कसैलाइ शम्भुहाङ्को र कसैलाइ साङ्ग्राम फेदाङ्मा तागेरा निङ्वाफु माङ्को जिम्मा लगाइन्थ्यो, जीवित परिवारका लागि मिक्वा साङ्मा,साम सामा,तङ्सिङ तक्मा आदि आवश्यक सबै अनुष्ठान सम्पन्न गरिन्थ्यो। त्यसपछि मात्रै नाचगान तथा अन्य सांस्कृतिक गतिविधि गरिन्थ्यो। त्यसबेला नाचगानको अर्थ रमाइलो मात्र थिएन; त्यो शोकको अन्त्य र जीवनलाई पुनः अघि बढाउने सांस्कृतिक घोषणा थियो। त्यसैले त्यसको आफ्नै समय, सन्दर्भ र गरिमा थियो।
तर आज परिस्थिति बदलिएको छ। अहिले मृत्यु भएको भोलिपल्ट, तीन, आठ, नौ वा दश दिनभित्रै फजे सम्पन्न गरिन्छ। मुन्धुमीय विधिअनुसार बन्धन फुकुवा भइसके पनि परिवारको मनमा रहेको शोक केही दिनमै समाप्त हुँदैन। आमाबुबा, श्रीमान्-श्रीमती, छोरा-छोरी वा आफ्नै प्रियजन गुमाएको पीडा केही दिनमै मेटिँदैन। यस्तो अवस्थामा आँसु नसुक्दै मनोरन्जनात्मक धुनमा बाजागाजा बजाउनु, धाननाच गर्नु वा रमाइलो वातावरण सिर्जना गर्नु मृतकप्रतिको सम्मान र शोकाकुल परिवारको भावनासँग कत्तिको मेल खान्छ भन्ने प्रश्न हामी सबैले आफैंलाई सोध्नुपर्छ।
प्रकृतिलाई नियाल्दापनि एउटा गहिरो सत्य देखिन्छ। धेरै जीवजन्तु र पशुपक्षीले आफ्ना सन्तान, जोडी वा समूहका सदस्य गुमाउँदा असामान्य व्यवहार देखाउँछन्। कतिपय प्रजाति धेरै दिनसम्म शोकमा रहेको जस्तो देखिन्छ। वैज्ञानिक अध्ययनहरूले पनि हात्ती, डल्फिन, ह्वेल, चिम्पान्जी, कागजस्ता जीवहरूले मृत साथी वा सन्तानप्रति विशेष संवेदना प्रकट गर्ने गरेको देखाएका छन्।
यस्तो अवस्थामा चेतना, विवेक, संस्कृति र सभ्यतामा आफूलाई सर्वश्रेष्ठ मान्ने मानवले आफ्नै परिवारको सदस्य गुमाएको केही दिनमै शोकलाई उत्सवमा बदल्न खोज्नु उचित हो कि होइन? यदि हामीले मानवीय संवेदनाभन्दा बाह्य प्रदर्शनलाई प्राथमिकता दिन थाल्यौं भने, सभ्यताको विकासको दाबी गर्ने मानव नै संवेदनशीलताको दृष्टिले अन्य प्राणीभन्दा पछि त पर्दैन भन्ने चिन्ता स्वाभाविक रूपमा उठ्छ।
मुन्धुमले हामीलाई विधि र कर्मकाण्ड मात्र सिकाएको होइन। यसले जीवन, मृत्यु, सम्मान, अनुशासन, संयम र मानवीय सम्बन्धको गहिरो दर्शन दिएको छ। त्यसैले मुन्धुमको मर्मलाई अनुष्ठानमा सीमित नगरी त्यसको भावनात्मक र नैतिक पक्षलाई पनि आत्मसात् गर्न आवश्यक छ। संस्कारको संरक्षण भनेको विधि दोहोर्याउनु मात्र होइन, त्यसको आत्मा जोगाउनु पनि हो।
यस लेखको उद्देश्य धाननाच, पालाम वा हाम्रो मौलिक संस्कृतिको विरोध गर्नु होइन। यी हाम्रो पहिचान, गौरव र सभ्यताको अमूल्य सम्पत्ति हुन्। तर हरेक संस्कृतिको आफ्नै समय, स्थान र सन्दर्भ हुन्छ। जहाँ शोक छ, त्यहाँ संयम आवश्यक हुन्छ; जहाँ उत्सव छ, त्यहाँ उल्लास स्वाभाविक हुन्छ। यी दुईलाई एकै ठाउँमा मिसाउँदा संस्कारको मर्म कमजोर हुन सक्छ।
संस्कार समयअनुसार परिवर्तन हुन सक्छन्। व्यवहार पनि बदलिन सक्छ। तर मानवीय संवेदना कहिल्यै पुरानो हुँदैन। मृतकप्रतिको सम्मान, शोकाकुल परिवारप्रतिको सहानुभूति र समाजप्रतिको जिम्मेवारीलाई सधैं पहिलो स्थान दिनुपर्छ। विकृतिलाई परम्पराको नाममा स्वीकार गर्नु संस्कृतिको संरक्षण होइन, बरु त्यसको मौलिक आत्मालाई कमजोर बनाउनु हो।
त्यसैले मेरो व्यक्तिगत विचारमा, मुन्धुमीय विधिअनुसार बन्धन फुकुवा भइसके पनि मृत्यु भएको अत्यन्त छोटो समयमै सम्पन्न हुने कार्जेमा नाचगान तथा अन्य रमाइला कार्यक्रम नगर्नु नै उपयुक्त हुन्छ। यसले न हाम्रो संस्कृतिलाई बलियो बनाउँछ, न मुन्धुमको मर्मलाई। बरु यसले मृतकप्रतिको सम्मान, शोकाकुल परिवारप्रतिको संवेदना र याक्थुङ समुदायको सांस्कृतिक गरिमालाई अझ कमजोर बनाउनेछ।
संस्कार जोगाऔँ, तर त्यसको मर्म अझ बढी जोगाऔँ। परम्परा बचाऔँ, तर मानवीय संवेदनालाई कहिल्यै हराउन नदिऔँ। यही नै मुन्धुमको साँचो सम्मान र हाम्रो सभ्यताको वास्तविक परिचय हुनेछ।
ठाकुरसिंह लिम्बू थेगिम
पूर्व प्रधानाध्यापक
घुर्बिसे पञ्चमी माध्यमिक विद्यालय (फाल्गुनन्द-५), पाँचथर














































